सशस्त्र द्धन्द्धमा ज्यान गुमाएका प्रहरीको सम्झनामा सहिद स्मारक

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 6 mins

कालीकोट । रुकुम, रोल्पा जाजरकोट पछीको कालीकोट सशस्त्र द्वन्द्वको बेला अति चपेटामा परेका यी चारवटा जिल्ला हुँन् । दशवर्षे जनयुद्धको समयमा यी जिल्ला बढीनै चपेटामा रहेका थिए । त्यसै बेला दोहोरो भिडन्तमा परी डिएसपी कैलाशकुमार क्षेत्रीलगायत सयौँ प्रहरीले ज्यान गुमाउनु परेको थियो ।

यसैको सम्झनामा द्वन्द्वको समयमा ज्यान गुमाएका प्रहरीहरूको सम्झनामा जिल्ला प्रहरी कार्यालय कालीकोटमा अमर प्रशरी सहिद स्मारक निर्माण गरिएको छ । तत्कालीन जिल्ला प्रहरी प्रमुख कैलाशकुमार क्षेत्रीलगायत २२ जना प्रहरीको नामसहितको स्मारक बनाइएको हो ।
पूर्वाधार विकास कार्यालयको ३ लाख रुपैयाँ बजेटबाट अमर प्रहरी सहिद स्मारक निर्माण भएको हो । सहिद स्मारकले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका प्रहरी कर्मचारीलाई भावी पुस्ताले पनि स्मरण गरी राख्न मद्दत पुग्ने कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले बताउनुभएको छ ।

कालीकोटजस्तो किट जिल्लामा देश र जनताको सेवा गर्ने क्रममा वीरगति प्राप्त गरेका अमर प्रहरी कर्मचारीको स्मारकले जनताको सेवामा समर्पित हुँ थप प्रेरणा दिइरहने उहाँको भनाइ छ ।

‘देश र जनताको सुरक्षामा खटिँदा ज्यान गुमाएका अमर प्रहरीको सम्झनामा स्मारक बनाइएको हो,’ उहाँले भन्नुभयो ।, ‘यसले फिल्डमा खटिने प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन सहयोग पुग्छ ।’

सशस्त्र द्वन्द्वका बेला ०५६ साउन १ गते कालीकोटमा हाजिर भएर २६ गते इलाका प्रहरी कार्यालय कोटबाडा निरीक्षणमा जाने क्रममा माओवादीले अधेँरीखोला भीरमा थापेको एम्बुसमा परी ज्यान गुमाएका तत्कालीन जिल्ला प्रहरी प्रमुख डीएसपी कैलाशकुमार क्षेत्री, ०५७ मंसिर १४ गते इलाका प्रहरी कार्यालय कोटबाडा आक्रमणमा मारिएका असई प्रकाश थापासहित जिल्लाभरी ज्यान गुमाएका २२ जना प्रहरी सहिदको नाम स्मारकमा उल्लेख छ ।

चितवनको भरतपुर महानगरपालिका–२ घर भएका क्षेत्री सशस्त्र द्वन्द्वमा सबैभन्दा पहिले तत्कालीन माओवादीबाट मारिएका नेपालकै पहिलो उच्च प्रहरी अधिकारी हुँन । डीआइजी ढकालले कालीकोटबाट सुर्खेत फर्किने क्रममा कर्णाली राजमार्ग छेउमा पर्ने मान्मस्थित भवानी आधारभूत विद्यालयका बालबालिकासँग अन्तरक्रिया गर्नुभयो । उहाँले लागूऔषध दुव्र्यसन, बालविवाह न्यूनीकरण, अपराधबारे प्रहरीलाई कसरी सूचना दिने भन्नेबारे विद्यालयका बालबालिकालाई जानकारी गराउनुभएको थियो ।

२५ वर्षपछि प्रहरी चौकी पुनःस्थापना

कालीकोटमा फुकोट प्रहरी चौकी २५ वर्षपछि पुर्नःस्थापना गरिएको छ । शसस्त्र द्वन्द्धकालमा सुरक्षाका कारणले विस्थापित भएको प्रहरी चौकी २५ वर्षपछि शुक्रबार पुर्नःस्थापना भएको हो ।

कालीकोट रास्कोट नगरपालिका– ९ फुकोट (साविकको फुकोट गाविस) रहेको फुकोट प्रहरी चौकी विक्रम संवत् १९८१ सालमा तत्कालीन राणाकालीन समयमा स्थापना भएको थियो ।

शसस्त्र द्वन्द्वकालमा रहेको बेला विक्रम संवत् २०५४ सालमा विस्थापित भएको प्रहरी चौकी पुर्नःस्थापना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटमा प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिनुभयो । ‘तत्कालिन सुरक्षाका कारणले प्रहरी चौकी नजिकैको इलाका प्रहरी कार्यालयमा रास्कोटमा सारिएको थियो ।’ उहाँले भन्नुभयो ।,‘स्थायी प्रहरी चौकी भएका कारणले पुर्नस्थापना गरिएको छ ।’
प्रहरी चौकीमा एक जना प्रहरी सहायक निरीक्षकसहित १० जना प्रहरीको दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख जयश्वर रिमालले बताउनुभयो ।

स्थानीयवासीको माग र सुरक्षा संवेदनशीलताका आधारमा चौकी पुर्नस्थापना गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताउनुभएको छ ।

प्रहरीलाई शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न र लामो इतिहास बोकेको प्रहरी चौकी पुर्नस्थापनाले स्थानीयबासी उत्साहित भएको रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाहीले बताउनुभयो । प्रहरी बस्ने भवन रास्कोट नगरपालिकाले उपलब्ध गराएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?