3rd December | 2020 | Thursday | 4:24:42 AM

पहिलो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

  POSTED ON : कार्तिक २९, २०७७ (८:१७ AM)

पहिलो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

काठमाडौं । बंगलादेश विरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । शुक्रबार साँझ ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा घरेलु टोलीले २–० को जित हात पारेको हो ।

१० औँ मिनेटमा बंगलादेशले खेलमा अग्रता लिएको थियो । नविद जीवनले पोष्टनजिकै पाएको लो क्रसलाई पहिलो टचमै गोलमा परिणत गर्नुभएको थियो । यस्तै, ७९ औं मिनेटमा नेपाली गोलरक्षक किरण चेन्जोङसँग वान टू वानको स्थितिमा मेहबुबर रेहमानले गोल गर्दै बंगलादेशको अग्रता दोब्बर पार्नुभएको थियो ।

त्यसअघि, खेलको सातौँ मिनेटमा सुजल श्रेष्ठको कर्नरलाई नेपाली खेलाडीहरूले पोष्टको दिशा दिन सकेनन् । यस्तै, १४ औं मिनेटमा सुजलको फ्री–किक पनि बंगलादेशी रक्षकले क्लियर गरेका थिए । २५ औं मिनेटमा बंगलादेशका माणिक मोल्लाहले गरेको सशक्त प्रहार गोलरक्षक किरणको हातमा लाग्दै क्रसबारमा लागेको थियो ।

खेलको ४२ औं मिनेटमा नेपाली प्रशिक्षक बालगोपाल महर्जनले विक्रम लामाको स्थान लिँदै एरिकल विष्ट मैदान प्रवेश गराउनुभएको थियो । पहिलो पटक टोलीमा पर्नुभएका एरिकले पहिलो खेलमै डेब्यु गर्नुभएको हो ।

नेपाल र बंगलादेश बीचको अर्को मैत्रीपूर्ण खेल अब मंसिर २ गते हुनेछ । गत चैतमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनपश्चात् नेपाली फुटबल टोली मैदान फर्किएको हो नै पहिलोपल्ट हो । टोलीले नेपालमा एकहप्ता र बंगलादेशमा पाँच दिनको अभ्यासपश्चात् पहिलो मैत्रीपूर्ण खेल खेलेको हो ।

नेपालमा प्रशिक्षणका क्रममा भएको परीक्षणमा सात जना मुख्य खेलाडीलाई संक्रमण देखिएको थियो । यस्तै, चोटका कारण अनुभवी मिडफिल्डर रोहित चन्द पनि नेपालमै रोकिएका थिए । सोही कारण आठ जना नयाँ खेलाडीहरूले एकैचोटि नेपाली टोलीमा मौका पाउनुभएको थियो ।

२५ सदस्यीय नेपाली टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तान, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवि पासवास, सरोज दाहाल, सेशेहाङ आङदम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ हुनुहुन्छ ।

दुवै खेल ढाकास्थित बंगबन्ध नेशनल स्टेडियम आयोजक बंगलादेश फुटबल फेडेरेसनले दर्शकलाई प्रवेश दिएको थियो । कोरोना महामारीबीच दर्शकलाई मैदान प्रवेश गराई खेल गराइनु दक्षिण एसियामै यो पहिलोपल्ट हो ।

नेपालले विश्वकप छनोटको तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ ।

अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्नेछ । सबै खेल दशरथ रंगशालामा हुनेछन् । विश्वकप छनोटमा समूह ‘बी’ मा रहेको नेपालको पाँच खेलबाट तीन अंक रहेको छ । चाइनिज ताइपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । समूहको शीर्ष टोली विश्वकपमा छनोट हुनेछ ।


Views: 48

सम्बन्धित सामग्री:

नेपालको आइसिसी वरियता यथावत

: मंसिर १७, २०७७ (९:०७ AM)