19th December | 2018 | Wednesday | 12:33:42 AM

आर्मीलाई अपराजित राख्न भरतको उत्कृष्ट प्रदर्शन

हिमालय टाइम्स   POSTED ON : Monday, 03 December, 2018 (2:51:12 PM)

आर्मीलाई अपराजित राख्न भरतको उत्कृष्ट प्रदर्शन

काठमाडौं । कप्तान भरत खवासले उत्कृष्ट प्रदर्शन गरेपछि सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । लिगअन्तर्गत आइतबार सम्पन्न पाँचौं चरणको खेलमा त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पा क्लबलाई २–१ ले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायमै राखेको हो । पाँच खेलमा चार जित र एक बराबरीका साथ आर्मी १३ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । 

हिमालय शेर्पाको अपराजित यात्रालाई पूर्णविराम लगाउने क्रममा भरतले आर्मीका लागि दोहोरो गोल गरेका थिए । शेर्पाका अलरिच सिवेले एक गोल फर्काएका थिए । 

खेलको ३३औं मिनेटमा सन्तोष तामाङको कर्नरमा कप्तान भरत खवासले हेडरमार्फत गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै ८६औं मिनेटमा भरतले नै आर्मीको अग्रता दोब्बर पारेका हुन् । दिनेश हेन्जनको प्रहारलाई गोलरक्षक किशोर गिरीले बचाए पनि रिबाउन्डमा भरतले सहजै गोल गरेका थिए । लगत्तै अलरिच सिवेले २५ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएपछि शेर्पाको हार अग्रता घटेको थियो । 

यस्तै लिगमा आइतबार दिउँसो भएको खेलमा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जित हात पारेको थियो । सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पे्रmन्डसले मछिन्द्रलाई ३–० गोल अन्तरले पराजित गर्दै लिगमा पहिलो जित हात पारेको हो ।

यसअघि फ्रेन्ड्सले चार खेलमा तीन हार र एक बराबरी खेलेको थियो । जितसँगै फ्रेन्ड्स ४ अंकका साथ लिगको नवौं स्थानमा उक्लिएको छ । फ्रेन्ड्सको जितमा विदेशी खेलाडी फोफाना ब्राहिमान, संजोक महर्जन र अनिल महर्जनले एक–एक गोल गरे ।

खेलको ६६औं मिनेटमा ब्राहिमानले गोल गर्दै फ्रेन्ड्सलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको ८४औं मिनेटमा संजोकले एक गोल गरे भने खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अनिलले एक गोल गर्दै फ्रेन्ड्सलाई थप गोल दिलाए । खेलमा फ्रेन्ड्सका कप्तान असिम भुसाल म्यान अफ दि म्याच घोषित भए । पराजित भएको मछिन्द्र दुई अङ्कका साथ लिगको १३औं स्थानमा छ । 

यस्तै आइतबारै भएको अर्को खेलमा जवालाखेल युथ क्लबले बिगेड ब्वाइजलाई पराजित गर्दै लिगमा पहिलो जित हात पारेको थियो । निर्धारित समयको खेल २ मिनेट बाँकी छँदा अरुज सिंहले पेनाल्टीमा गोल गरेपछि जावलाखेल युथ क्लबले ब्रिगेड ब्वाइजलाई १–० ले पराजित गरेको हो । 

यसैगरी आइतबारबाट लिगका पाँचौं चरणको खेल सकिएको छ । पाँचौ चरणको खेल सकिँदा मनाङ मस्र्याङ्दी फुटबल क्लब र विभागीय क्लब त्रिभुवन आर्मीले मात्र अपराजित यात्रा कायम राखेका छन् । मनाङ पाँचवटै खेल जित्दै १५ अंकका साथ शीर्ष स्थानमा रहँदा ४ खेलमा जित र एक खेलमा बरबारी गरेको आर्मी १३ अंकसहित दोस्रो स्थानमा छ । तालिकामा थ्री स्टार क्लब १२ अंकसहित तेस्रो स्थानमा छ ।

थ्री स्टार मनाङसँग पराजित हुँदा बाँकी चारवटै खेल जित्न सफल भएको छ । यसैगरी संकटा क्लबले पनि पाँच खेलमध्ये चार खेल जित्दै १२ अंक बनाएको छ । थ्री स्टारभन्दा गोल अन्तरका आधारमा पछि पर्दै चौथो स्थानमा रहँदै पाँचौं चरणको लिग सकाएको छ ।

असोज १३ गतेबाट सुरु भएको लिगमा विभिन्न १४ टोली सहभागी छन् । राउण्ड रोविन लिगको आधारमा हुने उक्त प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले ५० लाख तथा उपविजेताले ३५ लाख पाउनेछन् । तेस्रो हुन टोलीले २५ लाख, चौथो टोलीले १५ लाख, पाँचौं टोलीले सात लाख र छैटौंले पाँच लाख पाउनेछन् । फेयर प्ले टोलीले एक लाख पाउने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । 

प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ द म्याच घोषित खेलाडीलाई १० हजार पुरस्कार दिँदै आएको छ । लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् । 


Views: 41