नयाँदिल्ली । विश्वकै महँगो क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग (आइपिएल)मा यसपालि रनको वर्षा भइरहेको छ । आइपिएलमा ब्याट्सम्यानले लगभग हरेक खेललाई चौका र छक्का प्रहारको प्रतियोगितामा परिणत गरिदिएका छन् । टी-२० क्रिकेट कुन दिशामा जाँदैछ भन्ने प्रश्न उठिरहेको छ । आइपिएलमा ब्याट्सम्यानले एक खालको आतंक नै सिर्जना गरेका छन् । आइपिएलको ३९औं खेलसम्म ११९१ चौका र ६८६ छक्का प्रहार भइसकेका छन् । जबकि सन् २०२३ को आइपिएलमा २१७४ चौका र ११२४ छक्का प्रहार भएका थिए । यो वर्षको आइपिएल सिजनको करिब आधा बाँकी छ । गत वर्षको कीर्तिमान यस तोडिने लगभग निश्चित छ ।
आइपिएलको प्रारम्भिक चरणमा १५० देखि १६० सम्मको स्कोरलाई डिफेन्डेबल मानिन्थ्यो । तर, आज यो स्कोर बनाउने टोलीले १० मध्ये आठ खेलमा हार बेहोरिरहेको छ । आज टी-२० खेलमा कुनै पनि टोलीले २०० वा सोभन्दा बढी रन बनाउनु सामान्य भइसकेको छ । गत मंगलबारसम्म खेलिएका ३९ खेलमा टोलीले १९ पटक २०० भन्दा बढीको आँकडा पार गरेका छन् । नौ खेलमा दुवै टोलीको संयुक्त स्कोर चार सय नाघेको छ । दुई खेलमा कुल रन ५०० नाघेको थियो ।
त्यतिमात्रै होइन । जारी आइपिएल सिजनमा प्रतिओभरको औसत रन रेट १० रहेको छ । यो सिजनमा हैदरावादको टोलीले एकपछि अर्को गर्दै धेरै कीर्तिमान बनाएको छ । दिल्ली क्यापिटल्सविरुद्धको आफ्नो पहिलो खेलमा हैदरावाद सनराइजका ब्याट्सम्यानले पावर प्लेमै १२५ रन बनाए । जुन यसअघि कहिल्यै भएको थिएन । हैदरावाद सनराइजले यो सिजन तीन पटक एक इनिङमा २५० भन्दा बढी रन बनाएको छ । रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध उसले २८७ रन बनायो, जुन आइपिएलमा सर्वाधिक स्कोरको कीर्तिमान हो ।
टी-२० खेलको आधारभूत सिद्धान्त भनेको पिच बलरका लागि ‘खतरनाक’ नभई ब्याट्सम्यानका लागि उपयुक्त हुने हो । किनभने दर्शकले टी-२० खेलमा उत्कृष्ट प्रदर्शन हेर्न चाहन्छन् । यस्तो अवस्थामा ठूला शट खेल्नु सामान्य कुरा भइसकेको छ । आइपिएलमा पिचहरूलाई सकेसम्म ब्याटिङमैत्री बनाइएको हुन्छ । ब्याट्सम्यानहरू पहिलेभन्दा धेरै फुर्तिलो, शक्तिशाली र सबैभन्दा महत्वपूर्ण जोखिम लिने भएका छन् । क्रिकेट ब्याट्सम्यानको खेल हो भन्ने पुरानो भनाइ छ । तर, अहिले क्रिकेटमा बल र ब्याटबीचको बढ्दो असन्तुलन टी-२० का लागि सही हो कि होइन भन्ने चर्को बहस चलिरहेको छ । यदि यी खेलहरू एकतर्फी भए मानिसहरूको चासो र खेलको रमाइलो समाप्त हुने कतिपयको विश्लेषण छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच