प्रथम रेसुङ्गा मेयरकप फुटबल प्रतियोगिता सुरु

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीको तम्घासमा प्रथम रेसुङ्गा मेयरकप फुटबल प्रतियोगिता सुरु भएको छ । रेसुङ्गा नगरपालिकाको आयोजनामा सोमबारदेखि चिदिचौर खेलमैदानमा फुटबल प्रतियोगिता सुरु भएको हो ।

उक्त प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले देश विकास समृद्धि र आर्थिक विकासका लागि खेल महत्त्वपूर्ण रहेको बताउनुभयो ।

पछिल्लो समय विश्व खेल र संगीतमा अगाडि बढेको भन्दै खेल देश विदेशमा युवालाई जोड्ने माध्यम बनेको बताउनुभयो । खेलकुदले मानव स्वास्थ्यका लागि महत्वपूर्ण भुमिका खेल्ने भन्दै पछिल्लो समय नेपालमा निजी लगानीमा रंगशाला बनेकोमा नेता भण्डारीले खुसी व्यक्त गर्नुभयो ।

एकातिर अहिले बिदेशमा जाने युवाको एयरपोर्टमा लर्को लागेको र अर्कोतिर खेललाई माया गर्नेको जमात उस्तै छ त्यसैले खेलको विस्तार र खेलाडीको संरक्षण गर्ने दायित्व राज्यको भएको उहाँले बताउनुभयो । स्थानीय तहमा हुने हरेक कार्यक्रममा युवालाई सहभागी बनाएर राष्ट्रिय खेलाडी उत्पादन गर्नेमा तीनै तहका सरकार लाग्नुपर्ने उहाँको भनाइ छ ।

त्यस अवसरमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले नगरपालिका सधै खेलाडी तथा युवाहरुको साथमा रहेको बताउनुभयो । खेल क्षेत्रलाई प्राथमिकतामा राखेर नगरपालिकाले नीति कार्यक्रम अगाडी बढाएको भन्दै उहाँले मेयर कपले स्थानीय खेलाडी पहिचान गरी राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग गर्ने बताउनुभयो ।

२८ गते शुक्रबारसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा रेसुङ्गा नगरपालिकाभित्रका १४ वडाबीच प्रतिस्पर्धा गराउने उद्देश्य रहेता पनि १२ वडाले सहभागीता जनाएका छन् । प्रतियोगितामा विजेताले नगद ३५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले २५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाउने नगरपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?