राष्ट्रियसभा निर्वाचन : मौन अवधि सुरु, सामाजिक सञ्जालबाट पनि भोट माग्न नपाइने

Read Time = 6 mins

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले एक विज्ञप्ति जारी गरेर राष्ट्रियसभा निर्वाचनको मौन अवधि आइतबार मध्यरात १२ बजेदेखि सुरु भएको जनाएको हो । मौन अवधिमा राष्ट्रियसभा निर्वाचनका उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत समेत प्रचारप्रसार गर्न नपाउने आयोगले जनाएको छ । विज्ञप्ति जारी गर्दै आयोगले ‘यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसार सामग्री हटाइएको हुनुपर्ने’ भनेको छ । 

आयोगले सामाजिक सञ्जालमार्फत पनि भोट माग्नु आचारसंहिताविपरीत हुने उल्लेख गरेको छ । ‘एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आयोगले मतदाता पहिचान गर्न पनि निर्वाचन अधिकृतहरूलाई भनेको छ । आयोगका सहप्रवक्ता कोमल धमलाका अनुसार मौन अवधिमा प्रचारप्रसारलगाायत गतिविधिमा निर्वाचन आचारसंहिता लागू हुनेछ । मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नपाइने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर क्षेत्रमा निर्वाचन चिह्न र प्रचार सामग्री हटाउनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने सहप्रवक्ता धमलाले जानकारी दिनुभयो । 

निर्वाचन मण्डलको अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, पालिका अध्यक्ष वा उपाध्यक्ष तथा नगरप्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा मतदाता विवरणसँग भिडाएर मतदान गर्न पाउने व्यवस्था मिलाउन पनि निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ । विज्ञप्तिमा भनिएको छ ‘निर्वाचन प्रयोजनका लागि मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गर्न निदेशन गरिन्छ ।’ 

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरूले मतदान गर्ने व्यवस्था छ । राष्ट्रियसभामा रिक्त हुन लागेको १९ सिटका लागि सातवटै प्रदेशमा यही माघ १२ गते मतदान हुँदैछ । निर्वाचनमा नौ राजनीतिक दलका ४३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेश १ मा तीन, मधेश प्रदेशमा दुई, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुन लागेको हो । 

सातै प्रदेशमा गरी कुल २०२५ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुनेछ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रंगको मतपत्रमा प्रदेशसभा सदस्यले प्रयोग गर्ने निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ हुने व्यवस्था छ ।

राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ गठबन्धनका पाँच दलले साँझा उम्मेदवारी दिएको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक्लै उम्मेदवारी दिएको छ । मधेश प्रदेशमा भने नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले गठबन्धन गरेका छन् । मधेश प्रदेशमा दुई दलले गठबन्धन गरेर साझा उम्मेदवारलाई प्रतिस्पर्धामा उतारेका हुन् । यी दुई दलबीच गठबन्धन भए पनि मधेश प्रदेशमा सत्तारूढ गठबन्धनकै मतदाता बढी रहेकाले उनीहरूकै उम्मेदवारले जित्ने निश्चित छ । अन्य ६ वटा प्रदेशमा पनि सत्तारूढ गठबन्धनकै उम्मेदवार अघि देखिएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 Comment

रिलेटेड न्युज

छुटाउनुभयो कि ?