मतदान केन्द्र भएका विद्यालयमा तीन दिन बिदा गर्न आयोगको माग

Read Time = 3 mins

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते नेपालभर सार्वजनिक बिदा दिन सरकारलाई प्रस्ताव गरेको छ । निर्वाचन आयोगले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनको दिन देशभर सार्वजनिक बिदा दिन सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताउनुभयो । त्यस्तै, आयोगले मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न वैशाख २८ गतेदेखि ३० गतेसम्म तीन दिनका लागि मतदानस्थल र मतदान केन्द्र तोकिएका विद्यालयका विद्यार्थीहरूको भौतिक उपस्थितिमा पठनपाठन नगराउन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

‘मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकाले उक्त मतदान केन्द्र रहेका विद्यालयहरूका विद्यार्थीहरूको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्यसचिवमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने,’ सहायक प्रवक्ता अर्यालले भन्नुभयो । त्यस्तै, स्थानीय तह निर्वाचनमा मतदानस्थल र केन्द्र तोकिएका सबै भौतिक संरचना मतदान प्रयोजनका लागि वैशाख २८ गते देखि ३० गतेसम्म उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई लेखी पठाउने निर्णय भएको सहायक प्रवक्ता अर्यालले बताउनुभयो ।

सहायक प्रवक्ता अर्यालले निर्वाचन आयोगमा बिहीबार ३ः३० बजेसम्म आएको तथ्यांकअनुसार एक लाख ५३ हजार दुईजना उम्मेदवारहरूको मनोनयन दर्ता भएको बताउनुभयो । यसमध्ये प्रमुखमा तीन हजार ५१०, अध्यक्षमा तीन हजार ३८७, उपप्रमुखमा दुई हजार १६८, उपाध्यक्षमा दुई हजार ४०१, वडा अध्यक्षमा ३५ हजार ३५३, महिला सदस्यमा २६ हजार ५३२, दलित महिला सदस्यमा २३ हजार ९३१ र सदस्यमा ५५ हजार ७२० जनाको मनोनयन दर्ता भएको उहाँले जानकारी दिनुभयो । आयोगले बिहीबारसम्ममा ७२ जिल्लाका लागि एक करोड ७७ लाख ७५ हजार मत पत्र छपाई गरिसकेको र ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिसकिएको जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?