कम्युनिष्टको गढ इलाममा कांग्रेस पकड जमाउने दाउमा

Read Time = 8 mins

प्रकाश नेपाल/हिटा
इलाम । चार नगरपालिका र ६ गाउँपालिकासहित १० वटा स्थानीय तह रहेको इलाम देशको राजनीतिमा अग्र मोर्चामा छ । तीन हेभिवेट नेता नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ, नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल र नेपाली कांग्रेसका केबी गुरुङको जिल्ला भएकै कारण इलाम जहिले पनि चर्चामै देखिन्छ । अहिले पनि इलाममा चुनावी माहोल निकै तातेको छ । इलाममा स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यहाँका प्रमुख राजनीतिक दलहरू मत आफ्नो पक्षमा लिन अन्तिम कसरतमा जुटेका छन् । जिल्लामा सत्ता साझेदार गठबन्धनका दलहरूबीच भागबण्डा भएको छ भने नेकपा एमाले एकलै चुनावी मैदानमा उत्रिएर सबै पालिकामा जित्ने दाबी गरिरहेको छ ।

चिया पसलदेखि गाउँ टोलसम्म चुनावी चर्चा चलिरहँदा दलका नेता गाउँकेन्द्रित चुनावी माहोलमा होमिँदै मतादाता आफ्नो पक्षमा तान्न व्यस्त छन् । बहुदल स्थापनापछिका केही वर्ष कांग्रेसको गढ भनेर चिनिएको इलामले पछिल्ला दुई दशक कम्युनिष्ट गढको पहिचान बनाएको छ । २०६४ मा होस् वा २०७४ का निर्वाचन इलाममा कम्युनिष्ट पार्टीकै वर्चस्व छ । ०७४ अघि तीन निर्वाचन क्षेत्र हुँदा दुई क्षेत्रमा कब्जा जमाउनुभएका झलनाथ खनाल र सुवास नेम्वाङ फरक पार्टीमा हुँदा अहिले एकका लागि अर्को चुनौती बनेर खडा हुनुभएको छ । त्यसैले नेपाली कांग्रेस आगामी स्थानीय चुनावलाई ०४९ सालको हैसियत फर्काउने अवसरका रूपमा उपयोग गर्ने रणनीतिमा लागेको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा जिल्लामा एउटा पालिकामा कांग्रेसले एक पालिकामा अध्यक्ष उपाध्यक्षसहित दुई पालिकामा अध्यक्ष मात्र जितेको थियो । बाँकी पालिकामध्ये एक पालिकामा उपाध्यक्ष गुमाएको थियो भने अन्य पालिकामा प्रमुख उपप्रमुख पद एमालेले जितेको थियो । यसरी २०७४ सालको निर्वाचनलाई हेर्दा जिल्लामा नेकपा एमाले बलियो देखिएको छ । तर, एमाले विभाजन भएपछि यसको असर परेको छ । यदि यस पटकको निर्वाचनमा इलामका सबै पालिकामा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा नेकपा एमालेलाई निर्वाचन जित्न निकै गाह्रो हुने देखिएको छ । तर, एमालेले ५० प्रतिशत पालिका जित्ने दाबी गर्दै आएको छ ।

अघिल्लो स्थानीय चुनावमा नेकपा (एमाले) एकढिक्का भएर चुनाव लडेको थियो । इलाम नगरपालिकामा पनि प्रमुख उपप्रमुख दुवै पद जितेको थियो भने देउमाई नगरपालिकामा पनि २०७४ को स्थानीय चुनावमा एमालेको उपस्थिति बलियो देखिन्थो । जहाँ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै एमालेले जितेको थियो ।

यस्तै, चुलाचुली गाउँपालिकामा एमालेले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो । यता, फाफोकथुमा गाउँपालिकामा भने अध्यक्ष नेपाली कांग्रेसले जित्दा उपाध्यक्ष भने एमालेले जितेको थियो । माई नगरपालिकाको स्थानीय चुनावमा पनि एमाले हाबी भएको थियो । माई नगरको प्रमुख उप्रमुख दुवै एमालेले जितेको थियो । त्यस्तै, माइजोगमाई गाउँपालिकामा पनि नेकपा (एमाले)ले नै जित हासिल गरेको थियो । यस्तै, जिल्लाको ठूलो नगरपालिका सूर्योदयमा एमालेको चुनाव चिन्ह सूर्य २०७४ को स्थानीय चुनावमा राम्ररी उदायो । यहाँ अधिकांश वडामा सबै एमालेले जित्न सफल भयो । तर, अहिले यहाँ एमाले विभाजन भएपश्चात् नगर प्रमुखसहित अधिकांश एमालेबाट निर्वाचित वडा अध्यक्षहरू नेकपा(एस)तर्फ लागेका छन् । जहाँ माइजोगमाई गाउँपालिकामा अध्यक्ष पनि उतै गएका छन् । गएको स्थानीय तह निर्वाचनमा सन्दकपुर गाउँपालिकामा एमालेले जित हासिल गरेको थियो । रोङ गाउँपालिकामा मात्र अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसले जितेको थियो । माङ्सेवुङ गाउँपालिका अध्यक्षमा पनि कांग्रेसले जितेको थियो । फाफोकथुमा गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेसले जित्दा उपाध्यक्ष भने एमालेले जितेको थियो ।

स्थानीय तहको चुनावको मिति नजिकिँदै जा“दा जिल्लाका राजनीतिक दलहरू संगठन विस्तारमा जुटेका छन् । अघिल्लो निर्वाचन ताका जस्तै गरि योपटक पनि दल फेरबदल गर्ने क्रम जारी छ । देशभरिमा नै सबैभन्दा धेरै अन्य पार्टीबाट आफ्नोमा प्रवेश गराएको नेपाली कांग्रेसको दाबी छ ।

यसअघिको तीन तहकै निर्वाचनमा पहिलो पार्टी रहेको नेकपा एमाले विभाजनपछि संगठनमा क्षति कम पार्दै पुरानै विरासत कायम गर्ने दौडमा छ । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवास नेम्वाङसहित चार प्रदेशसभा सदस्यमध्ये दुईजना एमालेमा छन् ।

जिल्लाका दश स्थानीय तहमा एमालेले सातवटा प्रमुख जितेका मध्ये एउटा नगरपालिका र एउटा गाउ“पालिकाका प्रमुख एकीकृत समाजवादीमा गएका छन् । इलाम १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित खनालसहित एकजना प्रदेश सदस्य एकीकृत समाजवादीमा छन् । त्यसैले पनि कांग्रेसलाई यसपटक आफ्नो पक्षमा मत ल्याउन सजिलो हुने कांग्रेस उपसभापति खगेन्द्र देवानको भनाइ छ ।
यता, एक प्रदेशसभा सदस्य माओवादी केन्द्रका हुन् । माओवादी केन्द्र पनि यसपटक नतिजा आफ्नै पोल्टामा ल्याउने दाउमा देखिन्छ ।

२०७४ सालको निर्वाचनमा प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले खासै उपलब्धिजनक नतिजा लिन सकेको थिएन तर यसपटक फरक नतिजा निकाल्न विभिन्न रणनीतिका साथ निर्वाचनमा होमिएको पार्टी कार्यालय सचिव प्रकाश परियारले बताउनुभयो । दुई लाख २४ हजार ७४८ मतदाता रहेको इलाम जिल्लामा १७ दलले निर्वाचनमा भाग लिँदैछन् । जिल्लामा यस पटकको निर्वाचनमा मतदानस्थलको संख्या १५१ रहेको छ भने मतदान केन्द्र २८५ रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?