दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले जगाएको आशा

Read Time = 5 mins

भावना अवस्थी/हिटा
काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पर्यटन क्षेत्रमा एक छुट्टै उत्साह थपिएको छ । कोरोना कालमा थलिएको नेपालको पर्यटन व्यवसाय अहिले यस विमानस्थलप्रति धेरै नै आशावादी देखिन्छ । सोमबार जजिरा एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण भएसँगै यहाँबाट औपचारिक उडान सुरु भएको थियो । १६० सिट क्षमताको एयरबस फर्किंदा १३३ जना नेपाली लिएर भैरहवाबाट कुवेत गएको थियो । जसको सोमबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक शुभारम्भ गर्नुभएको थियो । विमानस्थल सञ्चालनमा आएपछि अब आपत्कालीन अवस्थामा जहाज भारत वा बंगलादेश डाइभर्ट गर्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । यस्तै, अन्तर्राष्ट्रिय उडानमा अब त्रिभुवन विमानस्थलमै ओर्लनुपर्ने बाध्यात्मक अवस्थाको पनि अन्त्य भएको छ ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नेपाली अर्थतन्त्रमा सकारात्मक सञ्चार पैदा भएको पर्यटन व्यवसायी र अर्थशास्त्रीहरूको बुझाई छ । नेपालमा पर्यटकहरूको आगमन बढ्ने र अर्थतन्त्र सकारात्मक दिशामा अघि बढ्ने विश्वास उनीहरूको छ । पर्यटन व्यवसायी कृष्ण अर्याल अब कोभिड-१९ पश्चात विस्तारै चलायमान भएको पर्यटन व्यवसायलाई उकास्न यस विमानस्थलले थप सहयोग पु¥याउने र नेपालको हरेक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउनुहुन्छ । हिमालय टाइम्ससँग कुरा गर्दै उहाँ भन्नुहुन्छ, ‘अहिले नै परिवर्तन आइहाल्ने चाहिँ होइन केही समयपछि देशको पर्यटनमा, अर्थतन्त्रमा सकारात्मक प्रभाव नै पर्ने देखिन्छ ।’

यस्तै, पर्यटन व्यवसायी विनायक शाहले पनि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटन क्षेत्रसँगै नेपालको अर्थतन्त्र उकास्न सहयोग पु¥याउने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘एउटै विमानस्थल भएकाले हामीलाई दोस्रो विमानस्थलको खाँचो नै थियो यसले पर्यटनलाई त फाइदा पुग्ने नै भयो, बाँकी यसले देशको सम्पूर्ण अर्थतन्त्रमा निकै टेवा पु¥याउँछ ।’ कोभिडपश्चात् विस्तारै चलायमान भएको पर्यटन व्यवसायलाई पनि सहयोग पुग्ने उहाँले बताउनुभयो । अर्थबिद् डा. डिल्लीराज खनाल भन्नुहुन्छ, ‘काठमाडौंमा एउटै अन्तर्राष्ट्रिय विमानस्थल भएकाले एकदमै अप्ठयारो अवस्था थियो, यसले देशको अर्थतन्त्रसँगै स्थानीय निकायको आर्थिक समस्याहरूमा सहयोग त हुन्छ नै विशेषगरी पर्यटन क्षेत्रको विकासमा एकदमै सहज हुन्छ ।’

नेपालले खुल्ला अर्थतन्त्रलाई अँगालेको पाइन्छ । नेपालको भूपरिवेष्ठित स्थिति र प्राविधिक विपन्नता अनि लामो द्वन्द्वले अर्थतन्त्रलाई पूर्णरूपमा विकासशील हुन दिएको छैन । नेपालले विभिन्न राष्ट्रहरूबाट वैदेशिक सहयोग पाउँछ । नेपालको अनौठो संस्कृतिले गर्दा पनि पर्यटनमा निकै सम्भावना देखिन्छ ।

पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रका लागि उच्च सम्भावना बोकेको क्षेत्र हो । तर, पर्यटनको विकासबारे विचार गर्दा विकाससम्बन्धी योजनाहरूको कार्यान्वयनमा पनि उचित जोड दिनुपर्ने आवश्यकता छ । यस्ता विषयमा सम्बन्धित पक्ष गम्भीर बन्न सक्ने हो भने नेपालको आर्थिक र पर्यटन उद्योगको सम्वृद्धि विकासमा सहज हुने कुरामा शंका छैन । प्रतिबद्धता, इमानदारी र संवेदनशिलता प्रदर्शन गरी सबैको तर्फबाट जवाफदेही बन्ने हो भने अर्थतन्त्रसँगै पर्यटन क्षेत्रले अग्रगामी छलाङ मार्ने आर्थिक क्षेत्रहरूका विज्ञहरूको दाबी छ । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको हो । अब पर्यटकीय स्थलको केन्द्रविन्दुका रूपमा रहेको लुम्बिनीमा पूर्वाधार विकास भने टड्कारो देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?