काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसम्बन्धी विभिन्न आठ विषयमा सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन बुधबार भएको द्विपक्षीय वार्तामा विभिन्न आठ विषयमा सम्झौता र समझदारी भएको हो । नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारको तर्फबाट अमिर तमिम सहितको प्रतिनिधि मण्डलबीच भएको द्विपक्षीय वार्तापछि नेपाल र कतारबीच सहकार्य गर्ने सम्बन्धमा एक सरकारी, एक निजी सम्झौता र ६ समझदारी भएका हुन् ।
सरकारी तहमा पाँचवटा र निजी क्षेत्रसँग दुईवटा समझदारी भएका छन् । दुई देशबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको हो । नेपाल र कतारबीच सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान, शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदान, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र कतारका समकक्षीले हस्ताक्षर गरेका छन् । यसैगरी, निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल-कतार बीचका सम्झौताहरू
१. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतार राज्यको संस्कृति मन्त्रालयबीच संस्कृति र कलाको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र
२. राष्ट्रिय समाचार समिति, नेपाल (रासस) र कतार समाचार एजेन्सी (क्युएनए)बीच समाचार आदानप्रदान तथा सहयोगसम्बन्धी सम्झौता
३. नेपाल सरकार र कतार राज्यको सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र (एमओयु)
४. नेपाल सरकार र कतार राज्यको सरकारबीच युवा तथा खेलकुदको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र
५. नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतार राज्यको सार्वजनिक अभियोजनबीच सहयोगका लागि समझदारी पत्र
६. नेपाल सरकारको परराष्ट्र मामिला अध्ययन संस्थान (आइएफए) र कतार राज्यको परराष्ट्र मन्त्रालयको कूटनीतिक संस्थानबीच कूटनीतिक प्रशिक्षण र शिक्षाको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र
७. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघबीच संयुक्त व्यापार परिषद् (जेबिसी) स्थापना गर्नेसम्बन्धी सम्झौता
८. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी पत्रको नवीकरण
लगानीको लागि कतार तयार
नेपालमा लगानीको क्षेत्र पहिचान गरी अध्ययन गर्न एक संयुक्त संयन्त्र बनाउन कतार तयार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको प्रतिनिधि मण्डलबीच सोल्टी होटलमा बुधबार भएको वार्तामा नेपालमा लगानीको क्षेत्र पहिचान गरी अध्ययन गर्न संयन्त्र बनाउन कतार तयार भएको हो । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीमैत्री वातावरण बनेको र अब कतारलाई भौतिक पूर्वाधार, विद्युत्, कृषि र शिक्षासम्बन्धी लगानीका क्षेत्रहरूमा लगानी गर्न आग्रह गर्दै भन्नुभयो, ‘कतारको लगानी गर्नसक्ने हैसियत विस्तार हुँदै गइरहेको छ । नेपालमा पनि लगानी क्षेत्रहरू विकास र विस्तार भइरहेका छन् । निकट भविष्यमा हामी लगानी सम्मेलन गर्दै गइरहेका छौँ । त्यसमा कतारको तर्फबाट महत्वपूर्ण सहभागिता र लगानी गर्न आग्रह गर्छ । त्यसमा मुख्य भौतिक पूर्वाधार, विद्युत्, कृषि र शिक्षासम्बन्धी क्षेत्र रहेका छन् ।’ प्रधानमन्त्रीको प्रस्तावलाई सकारात्मक रूपमा लिनुभएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले भन्नुभयो, ‘कतार र नेपालको दुवै तर्फबाट संयन्त्र बनाउने समझदारी बनेको छ । सम्भाव्य क्षेत्रको अध्ययन र छलफल गर्नको लागि संयन्त्रले काम गर्नेछ ।’ प्रधानमन्त्री प्रचण्डले नेपालमा हवाई सम्पर्क बढाउन पोखरा र भैरहवामा जहाज पठाउन गरेका प्रस्तावमा पनि अमिर सकारात्मक भएका छन् ।
कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा
कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डसँग बुधबार भएको द्विपक्षीय भेटवार्तामा कतारका अमिर थानीले नेपालको प्रशंसा गर्दै आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाउनुभएको छ । साथै उहाँले नेपालका श्रमिकको सीप अभिवृद्धि गर्न पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । कतारमा कार्यरत नेपालीको उच्च प्रशंसा गर्नुभएका अमिर शेख तमिमले कतारको विकासमा पु¥याएको प्रति खुसी व्यक्त गर्दै भन्नुभयो, ‘नेपाली कामदारको दक्षता अभिवृद्धि गर्नको लागि कतार सघाउन तयार छ ।’
राष्ट्रपति पौडेलसहित उच्च पदस्थ व्यक्तिद्वारा थानीको बिदाइ
कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुईदिने राजकीय भ्रमण सकेर बुधबार अपराहृन स्वदेश फर्किनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्च पदस्थ व्यक्तिहरूले तमिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गर्नुभएको थियो । उहाँको बिदाइमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायत विमानस्थल पुग्नुभएको थियो । कतारका अमिरको बिदाइका अवसरमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारद अर्पण गरेको थियो । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा मंगलबार नेपाल आउनुभएका कतारी अमिरले राष्ट्रपति र प्रधानमन्त्रीसँग अलग–अलग भेटवार्ता गर्नुभएको थियो । कतारका राजा पहिलोपटक नेपाल भ्रमणमा आएको अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको थियो । नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौंमा सन् २०११ अगष्टमा राजदूतावास स्थापना गरेको थियो ।
विपिन जोशीको रिहाइका लागि पहल गर्ने प्रतिबद्धता
प्रधानमन्त्री प्रचण्डले हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि पहल गर्न गरेको आग्रहमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सकारात्मक देखिनुभएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर शेखबीच बुधबार भएको एक्लाएक्लै वार्तामा सो विषयमा कुराकानी भएको हो । प्रधानमन्त्री प्रचण्डले जोशीको रिहाइका लागि गरेको आग्रहमा अमिर शेखले आफू रिहाका लागि सकारात्मक रहेको र यसका लागि आफ्नो तर्फबाट रिहाका लागि पहल गरिने प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले जानकारी दिनुभयो । हमास र इजरायलबीच मध्यस्थताको भूमिकामा रहेको कतारले यसअघि पनि विपिन जोशीको रिहाका लागि प्रतिबद्धता जनाएको थियो । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल सँगको भेटघाटमा विपिन जोशीको रिहाका लागि अमिर शेखलाई पहल गर्न आग्रह गरिएको थियो । त्यहाँ पनि अमिर शेखले आफ्नो तर्फबाट पहल हुने प्रतिबद्धता जनाउनुभएको थियो ।
नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापना
नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद् स्थापनाका लागि बुधबार दुवै चेम्बरबीच सम्झौता भएको हो । कतारका अमीर शेख तमीम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । परिषद्ले व्यापार विस्तार, लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवद्र्धनका क्षेत्रमा काम गर्नेछ । तीव्र आर्थिक वृद्धि भइरहेको खाडी मुलुक कतारसँग सम्वादका लागि परिषद् स्थायी संयन्त्र बनेको छ । परिषद् स्थापनापछि दुई चेम्बर बीचको सहकार्य थप प्रगाढ भएको र यसले लगानी र व्यापार विस्तारमा सहयोग पुग्ने दुवै अध्यक्षले धारणा राख्नुभएको छ । महासंघ र कतार चेम्बरबीच सन् २००५ मा पहिलोपटक समझदारी भएको हो ।