उद्योगमा अघोषित लोडसेडिङ, मारमा उद्योगी-व्यवसायी

Read Time = 3 mins

भैरहवा । कोभिडले थला पारेका उद्योगधन्दाहरू विस्तारै चलायमान हुन थालेका छन् । तर, उद्योग नगरी भनेर चिनिने रूपन्देहीको भैरहवामा भने अघोषित लोडसेडिङले स्थानीयदेखि उद्योगी व्यवसायी आजित बनेका छन् । अघोषितरूपमा लोडसेडिङ, लो भोल्टेज, ट्रिपिङलगायत समस्याका कारण यहाँका दर्जन बढी उद्योगहरू उत्पादन बन्द गर्नुपर्ने अवस्थामा पुगेका हुन् ।

विद्युत् अनियमित हुँदा यहाँका उद्योगी, व्यवसायीमात्रै होइन सर्वसाधारणले पनि सहज ढंगले काम गर्न पाएका छैनन् । अत्यधिक गर्मीबीच अघोषितरूपमा भइरहेको लोडसेडिङले आमनागरिकको जीवन पनि कष्टकर बन्दै गएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले उद्योगमा एक महिनादेखि दैनिक १२ घण्टा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म गरिएको अघोषित लोडसेडिङले उद्योग सञ्चालनमा समस्या आएको बताउनुभयो ।

दिनको समयमा पनि पटक-पटकको ट्रिपिङ, लो भोल्टेजका कारण उद्योगमा उत्पादनमा रहेका कच्चा पदार्थ बिग्रने, उत्पादन गर्न नसकेकाले बजारमा मालवस्तुको अभाव हुने तथा अन्य विविध प्रकारका नोक्सानी बेहोर्नुपरेको उहाँले बताउनुभयो । ‘घण्टौँ लगाएर कतिपय वस्तुको उत्पादन हुन्छ, बीचमै विद्युत् गएर ती वस्तु उत्पादन नभई फाल्नुपर्ने हुन्छ, जसले लागत पनि बढेको छ,’ अध्यक्ष न्यौपानेले भन्नुभयो । नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखा, प्रादेशिक कार्यालय र वितरण केन्द्र भैरहवा, बुटवल र नयाँ मिलमा ध्यानाकर्षण गराइएको उहाँले जानकारी दिनुभयो ।

रूपन्देहीका ३३ केभिए विद्युत्बाट चल्ने ५० बढी उद्योगमा वैशाख दोस्रो सातादेखि दैनिक १२ देखि १६ घण्टा अघोषित लोडसेडिङ भइरहेको संघका एसोसियट सदस्य विकास गोयन्काले बताउनुभयो । यी क्षेत्रमा दैनिक बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म विद्युत् आपूर्ति ठप्प हुने गरेको छ ।

विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवे विद्युत् आपूर्तिमा समस्या भएका कारण उद्योगतर्फ समस्या आएको बताउनुहुन्छ । ‘आएको विद्युत् वितरण गर्ने हो, उद्योगको मागअनुसारको आपूर्ति नभएकाले विद्युत् अनियमित हुने गरेको छ यो अघोषित लोडसेडिङ होइन,’ उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?