निर्जीवन कम्पनीको नाफा साढे तीन अर्बभन्दा बढी

Read Time = 5 mins

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निर्जीवन बिमा कम्पनीले साढे तीन अर्बभन्दा बढी मुनाफा कमाएका छन् । सो अवधिमा १९ निर्जीवन बिमा कम्पनीले तीन अर्ब ५८ करोड ३६ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरूले तीन अर्ब ४५ करोड १९ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए । कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार सो अवधिमा सात कम्पनीको नाफा घटेको छ भने १२ कम्पनीको बढेको छ । एनएलजी इन्स्योरेन्स, लुम्बिनी जनरल, नेको इन्स्योरेन्स, आइएमई जनरल, एभरेस्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको नाफा घटेको हो ।

सबैभन्दा बढी लुम्बिनी जनरल इन्स्योरेन्सकोे नाफा ३०.६५ प्रतिशतले घटेर नौ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा उक्त कम्पनीले १३ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यसैगरी एनएलजी इन्स्योरेन्सको नाफा १९.७७ प्रतिशत, आइएमई जनरल इन्स्योरेन्सको ११०.८४ प्रतिशत, एभरेस्ट इन्स्योरेन्सको २६.२१ प्रतिशत, प्रिमियर इन्स्योरेन्सको १२.२१ प्रतिशत र प्रुडेन्सियल इन्स्योरेन्सको १०.७५ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरूको खुद मुनाफा ३.८१ प्रतिशतले बढेको हो । चालु आवको तेस्रो त्रैमाससम्मको अवधिमा १२ कम्पनीको मुनाफा बढेको छ । शिखर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, लुम्बिनी जनरल, अजोड, नेपाल युनाइटेड, जनरल, सानिमा, ओरियन्टल इन्स्योरेन्स र राष्ट्रिय बिमा कम्पनीको मुनाफा बढेको हो ।

युनाइटेड इन्स्योरेन्सको खुद मुनाफामा ९३.९८ प्रतिशतको वृद्धि भएको छ । कम्पनीले सो अवधिमा १० करोड २३ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा पाँच करोड २७ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । युनाइटेडपछि नाफा बढाउनेमा सानिमा जनरल इन्स्योरेन्स रहेको छ ।

सो अवधिमा कम्पनीको खुद मुनाफा ८०.५४ प्रतिशतले बढेर १० करोड ५० लाख १८ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा पाँच करोड ८१ लाख ७० हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । अजोड इन्स्योरेन्सको मुनाफा ५४.०६ प्रतिशतले बढेको छ भने प्रभु इन्स्योरेन्सको १.४० प्रतिशत, लुम्बिनी जनरलको १७.५२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ५.४९ प्रतिशत, राष्ट्रिय बिमा कम्पनीको २६.९२ प्रतिशत, सगरमाथा इन्स्योरेन्सको ०.६० प्रतिशत, शिखर इन्स्योरेन्सको १.०४ प्रतिशत, सिद्धार्थ इन्स्योरेन्सको १.९९ प्रतिशत, ओरियन्टल इन्स्योरेन्सको २९.९६ प्रतिशत र जनरल इन्स्योरेन्सको २९.४७ प्रतिशतले बढेको छ ।

१९ कम्पनीमध्ये सबैभन्दा धेरै मुनाफा कमाउने शिखर इन्स्योरेन्सले ३६ करोड ७० लाख ८२ हजार रुपैयाँ कमाएको छ । गत आवको सोही अवधिमा ३६ करोड ३३ लाख २० हजार रुपैयाँ मुनाफा नाफा कमाएको थियो । शिखरपछि राष्ट्रिय बिमा कम्पनीले ३४ करोड २६ लाख रुपैयाँ मुनाफा कमाएको छ भने सगरमाथा इन्स्योरेन्सले २८ करोड ७१ लाख रुपैयाँ मुनाफा कमाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?