काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)लाई आग्रह गरेको छ । एआइआइबी सञ्चालक समितिका सदस्य आरएमपी रथनायकेको नेतृत्वमा नेपाल भ्रमणमा रहेको बैंक सञ्चालक समिति सदस्यहरू सम्मिलित प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्रसारण र वितरणतर्फका पूर्वाधार सुधार तथा विस्तारमा सस्तो ब्याजदरमा लगानी बढाउन आग्रह गर्नुभएको हो ।
नेपालको ऊर्जा क्षेत्रको रूपरेखा तथा लगानी आवश्यकतासम्बन्धी जानकारी गराउँदै कार्यकारी निर्देशक घिसिङले पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् आपूर्ति, छिमेकी मुुलुकसँगको विद्युत्् व्यापार विस्तारका लागि उत्पादन, प्रसारण र वितरणतर्फका संरचना निर्माण गर्न ठूलो लगानी आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ऊर्जा मन्त्रालयले अघि बढाएको सन् २०३५ सम्मको ऊर्जा क्षेत्रको मार्गचित्र कार्यान्वयनका लागि विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनामा झण्डै ६० अर्ब अमेरिकी डलर (निजी क्षेत्रसहित) लगानी चाहिन्छ, यसका लागि एआइआइबीजस्ता बहुपक्षीय निकायबाट सस्तो ब्याजदरमा सहुलियतपूर्ण ऋण आवश्यक छ ।’
घिसिङले भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चितता, ऊर्जा संक्रमण तथा दक्षता, विद्युत् निर्यात वृद्धि, मौसमी विद्युत्् उत्पादनको असन्तुलन न्यूनीकरणका लागि जलाशययुक्त आयोजना निर्माण, वितरण तथा प्रसारण सञ्जाल विस्तार तथा सुधारलगायतका क्षेत्रमा हाल काम भइरहेको जानकारी गराउनुभएको थियो ।
प्रतिनिधिमण्डलले ऊर्जा क्षेत्रका लागि आवश्यक लगानी गर्न बैंक इच्छुक रहेको बताएको प्राधिकरणले जनाएको छ । प्रतिनिधिमण्डलले हाल एआइआइबीको लगानीमा निर्माणाधीन आयोजनाको प्रगति, वातावरणीय तथा सामाजिक सुरक्षणका विषय, ऊर्जा क्षेत्रको पुनर्संरचना, विद्युत् निर्यातका लागि बजार सुनिश्चिततालगायतका विषयमा चासो राखेको थियो ।
नेपालतर्फबाट एआइआइबी सञ्चालक समितिका सदस्य एवं अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालले ऊर्जा क्षेत्रको विकासका लागि बैंकतर्फबाट सस्तो ब्याजदरमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइनुपर्नेमा जोड दिनुभएको थियो ।
एआइआइबीले हाल विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार परियोजना कार्यान्वयनका लागि ११ करोड २३ लाख डलर सहुलियतपूर्ण ऋण नेपाललाई उपलब्ध गराएको छ । परियोजनामार्फत् प्राप्त सहुलियतपूर्ण ऋण लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दिया तथा रोल्पा र कर्णाली प्रदेशका आठ जिल्लाको विद्युतीकरण तथा वितरण प्रणाली विस्तार र सुधारमा खर्च गरिँदैछ ।
प्राधिकरणका अनुसार उक्त परियोजनाबाट १९ वटा ३३/११ केभी वितरण सबस्टेसन, तीन सय ५० किलोमिटर ३३ केभी लाइन, १७ सय ९८ किलोमिटर ११ केभी लाइन, ३१ सय ५९ किलोमिटर एलटी लाइन निर्माण र एक हजार ४५ वटा वितरण ट्रान्सफर्मर जडान गरिनेछ । परियोजना कार्यान्वयनका लागि ठेक्का सम्झौता र परियोजनाको डिजाइन सम्पन्न भइसकेका छन् ।
एआइआइबीले कोरियाली कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन दुर्ई सय १६ मेगावाट माथिल्लो त्रिशुली-१ जलविद्युत् आयोजनामा चार करोड डलर ऋण प्रवाह गरेको छ ।
लगानी गर्न निजी क्षेत्रको पनि आग्रह
एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को सञ्चालक समितिका पदाधिकारी र नेपालको निजी क्षेत्रका प्रतिनिधिसँग मंगलबार चन्द्रागिरिमा भएको भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एआइआइबीलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । सो अवसरमा नेपालमा विभिन्न क्षेत्रमा लगानीका सम्भावित अवसरको खोजीमा विशेष छलफल भएको महासंघले जनाएको छ । एआइआइबीले यातायात, ऊर्जा र शहरी विकासलगायतका क्षेत्रमा कसरी बढी योगदान दिन सक्छ भन्ने विषयमा पनि छलफल भएको थियो भने नेपालको दिगो विकासमा निजी क्षेत्रले कसरी योगदान गर्न सक्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।
महासंघ अध्यक्ष ढकालले नेपाल विकासको अपार सम्भावना भएको देश भन्दै एआइआइबीका पदाधिकारीलाई निजी क्षेत्रका छाता संस्थाहरूसँग रणनीतिक साझेदारीमार्फत् सम्भावनाको फाइदा लिन उत्सुक रहेको बताउनुभएको थियो । उहाँले नेपाल रणनीतिकरूपमा दुर्ई ठूला अर्थतन्त्र भारत र चीनबीचमा रहेकाले नेपालमा उत्पादित वस्तुलाई विश्वका दुर्ई ठूला बजारमा सहज पहुँच पुर्याउन सक्ने जानकारी दिनुभएको थियो ।
मुलुक अहिले आन्तरिक उपभोग सुधारमा केन्द्रित भएको भन्दै ढकालले एआइआइबी नेपालमा धेरै महत्वपूर्ण परियोजनामा प्रमुख साझेदार रहेको र महासंघ पनि सहकार्यका लागि नयाँ मार्ग खोज्न उत्सुक रहेको बताउनुभएको थियो । ढकालले नेपाल सरकारले देशको लगानीको वातावरण सुधार गर्न १२ वटा ऐन परिमार्जन गर्ने प्रक्रियामा रहेको, ‘डुइङ बिजनेस’ वातावरण बनाउन सरकार प्रक्रिया र नियम सहज बनाउन गम्भीर रहेको पनि जानकारी गराउनुभएको थियो । साथै उहाँले आगामी अप्रिल २८ देखि २९ गतेसम्म हुने नेपाल लगानी सम्मेलनबारे पनि बताउनुभएको थियो ।
कतारी लगानी प्रवद्र्धनको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारका राजदूतलाई पनि नेपालमा लगानी प्रवद्र्धनका लागि आग्रह गर्नुभएको छ । ढकालले सोमबार नेपालस्थित कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग भेटवार्ताका क्रममा यस्तो आग्रह गर्नुभएको हो । ढकालले राजदूतलाई नेपाल एक बढ्दो अर्थतन्त्र भएको र नेपालमा लगानीका लागि प्रशस्त अवसर रहेको बताउनुभयो । लगानीमैत्री वातावरण बनाउन सरकारले कानुन र नियमावली परिमार्जन गर्न निजी क्षेत्रसँग सहकार्य गरिरहेको पनि उहाँको भनाइ थियो ।
महासंघ र कतार चेम्बरबीच एक संयुक्त व्यापार परिषद् स्थापनाका विषयमा पनि छलफल भएको थियो । संयुक्त व्यापार परिषद्ले दुई देशबीचको सहकार्य र सूचना आदानप्रदान सहज बनाउने अपेक्षा गरिएको छ । काउन्सिलले एकअर्काको बजार विस्तार गर्न संयुक्त पहलका लागि प्लेटफर्म प्रदान गर्ने अपेक्षा गरिएको छ ।
सो अवसरमा राजदूत अन्सारीले द्विपक्षीय लगानी सम्झौतामा चासो राख्दै सम्झौताले लगानी संरक्षण, व्यापार प्रवद्र्धन र आर्थिक सहयोगलाई प्रोत्साहन गर्ने ढाँचा उपलब्ध गराउने बताउनुभयो । महासंघ र कतार चेम्बरले संयुक्त व्यापार परिषद् सम्झौतामा हस्ताक्षर गर्न र लगानीका अवसरका विषयमा वार्ता जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच