फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा संग्रहालय बनाइने

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट क्षमताको फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा संग्रहालयका रूपमा विकास गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले केन्द्रलाई जलविद्युत् संग्रहालय र पर्यटकीय स्थलका रूपमा विकास गर्न एनइए इञ्जिनियरिङ कम्पनीलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ । ऐतिहासिक जलविद्युत् केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचना निर्माण गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युत््गृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुरेन्ट, पसल, जीपलाइन, पिकनिक स्पट, पुस्तकालय, बालउद्यानलगायतका संरचना निर्माण गरिनेछ । जलविद्युत् केन्द्रका संरचनालाई जीर्णोद्धार गरी संग्रहालयका रूपमा विकास गरिने छ ।

परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि करिब एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । केन्द्रको स्वामित्वमा तीन सय २४ रोपनी जग्गा रहेको छ । पर्यटकीय संरचना निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युत््गृह क्षेत्रको करिब एक सय ४६ रोपनी जग्गा प्रयोग गरिने छ । प्राधिकरणको ३८औँ वार्षिकोत्सवका अवसरमा फर्पिङ जलविद्युत् केन्द्रको परिसरमा सोमबार आयोजित वृक्षारोपण कार्यक्रममा सहभागी हुन पुग्नुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई गुरुयोजनाका विषयमा जानकारी दिइएको थियो । मन्त्री बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले केन्द्रको विद्युत्गृहलगायतका संरचनाको अवस्थाको अवलोकन गरेका थिए ।

पर्यटकीय संरचना निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युत् गृह क्षेत्रको करिब एक सय ४६ रोपनी जग्गा प्रयोग गरिने प्राधिकरणले जनाएको छ ।

मन्त्री बस्नेतले ऐतिहासिक महत्व बोकेको विद्युत् केन्द्रलाई संरक्षण गरी जलविद्युत् क्षेत्रका अध्येता, अनुसन्धानकर्ता तथा चासो राख्ने सबैलाई सन्दर्भस्थान र इतिहासलाई बुझ्ने, बुझाउने ठाउँका रूपमा विकास गरिनुपर्ने बताउनुभयो । उहाँले केन्द्रबाट स्थानीय बासिन्दाको सामाजिक, आर्थिक वृद्धि हुने गरी योजना तथा कार्यक्रम कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड दिनुभयो ।

ऊर्जा सचिव घिमिरेले केन्द्रलाई जलविद्युत् क्षेत्रको अध्ययनस्थल र त्यहाँ भएको प्राकृतिक सौन्दर्यलाई प्रयोग गर्दै सुन्दर पर्यटकीयस्थलका रूपमा विकास गरिनुपर्ने बताउनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले परामर्शदाताको प्रतिवेदन आएपछि केन्द्रलाई ऊर्जा संग्रहालय, अनुसन्धान केन्द्र र पर्यटकीयस्थलका रूपमा विकासका कार्य अघि बढाइने बताउनुभयो ।

फर्पिङ जलविद्युत् केन्द्र १९६८ जेठ ९ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आएको थियो । तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहबाट टुँडिखेलमा बत्ती बालेर उद्घाटन भएको उक्त जलविद्युत् केन्द्रबाट राजपरिवार, राणा परिवारलगायतलाई विद्युत् वितरण गरिएको थियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण भएकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको थियो । करिब चार वर्ष लगाएर निर्माण गरिएको आयोजनाको लागत सात लाख १३ हजार रुपैयाँ थियो । केन्द्र २०३८ सालसम्म निरन्तर सञ्चालनमा थियो तर त्यसपछि ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी, टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि विद्युत्गृहको सञ्चालन बन्द भएको थियो । केन्द्रको मर्मतसम्भार गरी पुनः २०६३ पुसबाट आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी चालु हालतमा राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?