कलाकार भएपछि यो भूमिका भए गर्छु नत्र गर्दिन भन्ने हुँदैन : तेज गिरी

गीता अधिकारी
Read Time = 13 mins

काभ्रेमा जन्मिएर हेटौंडामा हुर्किनुभएका तेज गिरी बाल्यकालदेखि नै स्कुल तथा स्थानीय क्लबहरूका विभिन्न कार्यक्रममा नाटकहरू प्रस्तुत गर्दै अभिनयमा होमिएका कलाकार हुनुहुन्छ । उहाँ विगत सात वर्षदेखि काठमाडौंलाई कर्मथलो बनाएर कलाकारितामा रमाउँदै आउनुभएको छ । यसअघि उहाँले पोखरामा रहेर कलाकारितालाई अघि बढाउँदै आउनुभएको थियो । मिस्टर नेपाल २०१२ मा उत्कृष्ट पाँचसम्मको यात्रा तय गर्दै अभिनयमार्फत् मोस्ट ट्यालेन्टको उपाधिसमेत उहाँले चुम्न सफल हुनुभएको थियो । मिस्टर नेपालमा उपाधि जित्न सफल भएपछि उहाँलाई सन् २०१२ मा पहिलोपटक नेपाली कथानक चलचित्र ‘काले’मा अभिनय गर्ने अवसर मिल्यो तर विडम्बना त्यो चलचित्र आजका दिनसम्म पनि सार्वजनिक हुन सकेको छैन । त्यसयता उहाँले धेरै गीतका भिडियोमा अभिनय गर्नुभएको छ । उहाँले इन्दिरा जोशी, राजेशपायल राई, राजु परियार, रामभक्त जोजिजुलगायतका चर्चित गायकहरूका डेढ दर्जनजति गीतमा आफ्नो अभियन कौशल प्रदर्शन गर्नुभएको छ । यस्तै, केही विज्ञापनमा समेत काम गर्नुभएका उहाँले धेरै नाटकहरूमार्फत् आफ्नो अभिनय कौशल देखाउनुभएको छ । त्यही सिलसिलामा उहाँलाई स्पाइनी ब्याबलर क्रियशनबाट निर्माण तथा घनश्याम लामिछानेद्वारा निर्देशित चलचित्र ‘धौली’मा अभिनय गर्ने अवसर मिल्योे । त्यो नै उहाँको डेब्यु चलचित्र हो । हालसम्म उहाँले ‘पञ्चे बाजा’, ‘गोपी’, ‘यस्तो पो वडाध्यक्ष’, ‘लभ लभ लभ’, ‘परिवर्तन’, ‘आधाखुसी’, ‘हुक्का’, ‘प्रेमगञ्ज’लगायत झण्डै एक दर्जन चलचित्र तथा सिरियलमा विभिन्न भूमिकामा अभिनय गर्नुभएको छ । पछिल्लो समय प्रदर्शन भएको चलचित्र ‘प्रेमगञ्ज’बाट उहाँको अभिनयले तारिफ बटुल्न सफल भएको छ । यस्तै, उहाँको अभिनय रहेकोे पछिल्लो चलचित्र ‘हुक्का’ यही जेठ १२ देखि देशभरका सिनेमाघरमा आएको थियो । विगत पाँच वर्षदेखि हरेक दिन दुई घण्टा जिममा बिताउँदै आउनुभएका उहाँले आफ्नो पाँच फिट नौ इन्च उचाइको शरीरलाई अत्यन्तै आकर्षक बनाउनुभएको छ । स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएका गिरी ‘कला क्षेत्र भनेको देशको चिनारी हो’ भन्नुहुन्छ । कलाकार भएपछि यो भूमिका भए गर्छु नत्र गर्दिन भन्ने हुँदैन भन्नुहुने तेज गिरीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कला संवादको संक्षिप्त अंशः–

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
हाल फिटनेसलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको छु । त्यसका साथसाथै अफिसको काम, प्रशिक्षण, भ्रमणलगायतका कार्यहरूमा व्यस्त छु ।

कला क्षेत्रमा यहाँको प्रवेश कसरी भयो ?
सानैदेखि सडक नाटकप्रतिको आकर्षण र सबैका माझ परिचित हुन, नाम कमाउन र समाजसँग जोडिनका लागि कलाकार बन्नुपर्छ भन्ने सोचको भोकले नै यस क्षेत्रमा प्रवेश गर्न उत्साहित बनाएको हो । सन् २०१२ पश्चात् भने आधिकारिकरूपमा नै कलाकार बन्छु भनी यस क्षेत्रमा प्रवेश गरेको हुँ ।

यहाँले झण्डै एक दर्जन चलचित्रमा अभिनय गर्नुभएको छ । यीमध्ये आफैंलाई मन परेको चलचित्र ?
हालसम्म सानो-ठूलो भूमिका गरी झण्डै एक दर्जन चलचित्रमा काम गरेको छु । सबै चलचित्रले मलाई धेरैभन्दा धेरै ज्ञान दिएको छ र दर्शकमाझ परिचित गराएको छ । हरेक चलचित्रमा कार्य गर्दा मैले नयाँ-नयाँ कुराहरू सिक्ने अवसर पाएको छु । जसमध्ये मलाई चलचित्र ‘प्रेमगञ्ज’ले अझै उचाइमा लैजानका लागि सहयोग मिल्यो । त्यस चलचित्रमा मैले मनैदेखि काम गर्न पाएको थिएँ । यसै चलचित्रमार्फत् मेरो अभिनयको सर्वत्र चर्चा पनि भएको थियो । त्यसैले मैले अभिनय गरेका चलचित्रहरूमध्ये आफैंलाई मन परेको चलचित्र ‘प्रेमगञ्ज’ नै हो ।

कला क्षेत्र भनेको देशको चिनारी हो । कला र संस्कृतिको संरक्षण गर्ने माध्यम हो । यो क्षेत्रलाई संरक्षण गर्नुपर्ने दायित्व सबैको हुन्छ । यस क्षेत्रमा लागेका व्यक्तिहरूको झनै ठूलो भूमिका हुन्छ । यस क्षेत्रमा आबद्ध सबैजना एकअर्काको पूरक भएर कार्य गर्ने हो भने यस क्षेत्रलाई छोटो समयमा ठूलो उचाइ दिन सकिन्छ । त्यसैले कला क्षेत्रका लागि फुटेर होइन जुटेर अघि बढ्नुपर्छ । खुट्टा तानेर होइन हात तानेर अघि बढ्नुपर्छ ।

तपाईंलाई कस्तो भूमिकामा अभिनय गर्न मन पर्छ ?
मैले गरेका हरेक चलचित्रमा फरक-फरक भूमिका निर्वाह गरेको छु । कलाकार भएपछि म यो भूमिका भए गर्छु नत्र गर्दिन भन्ने कुरा हुँदैन । आफूले निर्वाह गरेको जुनसुकै भूमिकालाई न्याय दिनु कलाकारको कर्तव्य हुन आउँछ । तर पनि देशभक्तिको भावनाले ओतप्रोत भएको देशभक्त, राष्ट्र सेवकको भूमिका भएको चलचित्रमा काम गर्न मन लागेको छ ।

विभिन्न गीतका भिडियोमा पनि यहाँलाई देखिन्छ नि ?
हजुर...मैले हालसम्म झण्डै डेढ दर्जनको हाराहारीमा गीतका भिडियोमा अभिनय गरेको छु । विगत केही वर्षदेखि भने म्युजिक भिडियोहरू गरेको छैन । चलचित्रमा नै व्यस्त रहँदै आएको छु ।

यहाँ बैंकमा पनि कार्यरत हुनुहुन्छ, आफूलाई के भन्न रुचाउनुहुन्छ ?
पेशागतरूपमा बैंकर नै भन्न रुचाउँछु भने कलाकार भन्नुमा बेग्लै गर्व महसुस गर्छु । किनकि एक जन्ममा हजार जीवन जिउन पाउने भाग्यमानी व्यक्ति कलाकार नै हुन् । साथै समाजसँग समर्पित भई कार्य गर्ने भित्री चाहना भएकाले समाजसेवीका रूपमा पनि आफूलाई चिनाउने ठूलो इच्छा छ ।

जीवन के हो ?
जीवनको परिभाषालाई यही हो भनी भन्न त सकिन्न किनकि मानिसको भोगाइअनुसारको परिभाषित हुने गर्दछ । तर पनि एकै वाक्यमा भन्नुपर्दा जीवन भनेको विभिन्न घटनाक्रमहरूको संगालो हो ।

यहाँ बडी बिल्डिङमा पनि हुनुहुन्छ, अहिलेसम्म के-के उपाधि हासिल गर्नुभएको छ ?
विगत पाँच वर्षदेखि आफूलाई बडी बिल्डिङमा पनि सक्रिय बनाउँदै आएको छु । आफूलाई स्वस्थ र फिट राख्नका लागि यो क्षेत्रमा प्रवेश गरेको हुँ । म कर्म गर फलको आश नगर भन्ने सोच बोकेको मानिस हुँ । यस खेलमा सफलता हासिल गर्न ठूलो त्याग, तपस्या र मेहनत गर्नुपर्दछ । हालसम्म मैले चार प्रदेश सम्मिलित क्षेत्रीयस्तरको खेल मिस्टर पोखरामा म्यान फिजिक विधाअन्तर्गत चौथो स्थान हासिल गर्न सफल भएको छु । यो क्षेत्रलाई पनि बाँचुन्जेल निरन्तर लैजानेछु । हेरौँ भविष्यमा के–कस्ता उपलब्धिहरू हासिल हुन्छन् । त्यो कुरा भविष्यले नै बताउनेछ ।

यीबाहेक अन्य के-के कार्यहरू गर्दै आउनुभएको छ ?
म सिकारू कार्यक्रम सञ्चालक तथा प्रशिक्षक पनि हुँ । समय व्यवस्थापन गर्दै समय-समयमा कार्यक्रम तथा तालिमहरू पनि सञ्चालन गर्दै आएको छु । यसका अलवा बिदाको समयमा काठमाडौंका सडक-सडक र गल्लीहरूमा संघर्ष गरिरहेका व्यक्तिहरूलाई क्षणिक तथा दीर्घकालीन खुसी कसरी दिन सकिन्छ भनी सडक-सडक दौडने गर्छु । यसले मलाई अत्यन्तै आनन्द र खुसी मिल्छ । हामीले खोजेका सडकका कथाहरू ‘चलचित्र चौतारी’ नामक युट्युब च्यानलमार्फत् ‘नदुखुन् मनहरू’ नामबाट प्रसारण हुँदै आएका छन् । अहिलेसम्म हामीले यो कार्यक्रमका ३८ शृंखला प्रसारण गरिसकेका छौँ । यो कार्यक्रमलाई भिडियो खिच्नका लागि पत्रकार पवन भट्टराई र निर्देशन तथा सम्पादनमा निर्देशक परिच्छेद सेनले ठूलो साथ र सहयोग गर्दै आउनुभएको छ ।

तपाईंको रुचि ?
समाजसँग समर्पित भई समाज हितका कार्यहरू गर्दै आमनेपाली जनसमुदायको ढुकढुकी बन्ने मन छ । नयाँ–नयाँ स्थानहरूमा गई प्रकृतिसँग प्रत्यक्षरूपमा साक्षात्कार गर्ने रुचि पनि अत्यधिक छ ।

पछिल्लोपटक अध्ययन गरेको पुस्तक ?
पछिल्लोपटक लेखक विष्णु ढकालज्यूको पुस्तक ‘जौवा’ पढेँ । अन्य पुस्तकहरू पनि अध्ययन गरिरहेको छु ।

फुर्सदमा के गर्नुहुन्छ ?
फुर्सदको समय परिवारसँग बिताउँछु । पारिवारिक समयबाट पनि केही समय निकालेर एक्लै बसेर आफ्नो विगत, वर्तमान र भविष्यका बारेमा कल्पना गर्ने, अभ्यासहरू गर्ने गर्छु । त्यसलाई अभिलेखीकरण गर्ने कार्यहरू गर्छु । यसले मलाई बेग्लै किसिमको ऊर्जा प्रदान गर्दछ । जति म एक्लो हुन्छु । आफूलाई समय दिन पाएकोमा त्यति नै म धेरै खुसी हुन्छु । साथै प्रकृतिसँग साक्षात्कार गर्ने मौका पाएँ भने घण्टा र दिन बितेको पत्तो नै पाउँदिन ।

अन्त्यमा,
कला क्षेत्र भनेको देशको चिनारी हो । कला र संस्कृतिको संरक्षण गर्ने माध्यम हो । यो क्षेत्रलाई संरक्षण गर्नुपर्ने दायित्व सबैको हुन्छ । यस क्षेत्रमा लागेका व्यक्तिहरूको झनै ठूलो भूमिका हुन्छ । यस क्षेत्रमा आबद्ध सबैजना एकअर्काको पूरक भएर कार्य गर्ने हो भने यस क्षेत्रलाई छोटो समयमा ठूलो उचाइ दिन सकिन्छ । त्यसैले कला क्षेत्रका लागि फुटेर होइन जुटेर अघि बढ्नुपर्छ । खुट्टा तानेर होइन हात तानेर अघि बढ्नुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?