घरेलु उद्योग दिगो अर्थतन्त्रको आधार : प्रधानमन्त्री

Read Time = 7 mins

काठमाडौं । नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ र मिहिनेत, सिर्जना, उत्पादन र वस्तु मेरै नेपालको भन्ने नाराका साथ मंगलबारदेखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सुरु भएको छ । मेला उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा अन्य उद्योगभन्दा कृषिमा आधारित उद्योगको विस्तारले नै अर्थतन्त्र दिगो हुने बताउनुभयो । मौलिक संस्कृति परम्पराअनुसार घरेलु उत्पादन प्रवद्र्धन र विकास आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री दाहालले मौलिक तरिकाबाट कृषि उत्पादनमा वृद्धि गरी कृषिमा आधारित उद्योगको विस्तार र रोजगारी सिर्जनामा उच्च प्राथमिकता नदिएसम्म नेपाललाई आत्मनिर्भर अर्थतन्त्रसहितको सामाजिक न्याय र समाजवादोन्मुख राज्यको परिकल्पना पूरा नहुने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘पहिलो कुरा हाम्रो सोचमा नेपालीपन बनाउन जरुरी छ । नेपालले ५० वर्षअघि खाद्यान्न निर्यात गथ्र्यो, अर्बौंको विदेशी रकम भित्रिन्थ्यो तर अहिले धेरै वर्षको अध्ययन अनुसन्धान र मिहिनेत गरी आधुनिकताका कुरा गर्दा पनि परनिर्भरता किन बढ्यो, त्यसको खोजी गर्नुछ, सोच बदल्नु जरुरी छ ।’

कतिपय नीतिगत समस्याका कारण घरेलु उत्पादन प्रवद्र्धन गरी आत्मनिर्भर बनाउन नसकिएको स्वीकार गर्दै उहाँले घरेलु उत्पादन प्रवद्र्धन गर्न ऐनमै सुधार आवश्यक रहेको बताउनुभयो । स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरूदण्ड भएको भन्दै यस्ता उद्योगहरूको संरक्षण र प्रवद्र्घनमा सरकार प्राथमिकताका साथ लाग्ने बताउनुभयो । लघु, घरेलु तथा साना उद्योग दर्ता र नवीकरण गर्दा स्थानीय तहको वडा, पालिका, प्रदेश र केन्द्रमा कम्पनी रजिष्टारसमेतमा कागजात तथा राजस्व बुझाउनुपर्ने झन्झटिलो व्यवस्था व्यवसायमैत्री नभएकोप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै उचित समाधान खोजिने पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री दाहालले वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै अर्थतन्त्रमा देखापरेको संकट समाधान गरी सुशासन कायम गर्ने बताउनुभयो । बैंकको ब्याजदरमा भएको वृद्धिका कारण देखापरेका समस्या समाधानका लागि अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग बैंठक राखेर तत्काल व्यवसायीलाई राहतको प्रयास भइरहेको उहाँको भनाइ छ । उहाँले वित्तीय अस्थिरताका कारण लघु घरेलु अथवा साना उद्योगीले उपभोग गरेको कर्जामा बैंकको ब्याज अत्यधिक वृद्धि हुन गई उद्योगीमा परेको समस्या तत्काल समाधान गर्ने आश्वासनसमेत दिनुभयो ।

महिला तथा बालबालिकामन्त्री भगवती चौधरीले समृद्ध अर्थतन्त्रको निर्माण र देश विकासमा जोडिएका लघु, घरेलु तथा साना उद्योग स्थानीय बजारका साथै निर्यातमा पनि लैजान सुझाव दिनुभयो । बागमती प्रदेशका उद्योग पर्यटन तथा सहकारीमन्त्री डम्बर तामाङले लघु, घरेलु तथा साना उद्योगीको सीपलाई आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिनुभयो ।

आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले लामो समयदेखिको अस्थिरता तथा महामारीका कारण बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लघु, घरेलु तथा साना उद्योगमा थप लगानी गर्ने पुँजीको अभावले उद्यमी टाट पल्टिन लागेको बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, मेला संयोजक शोभा गुरुङ, केन्द्रीय महिला उद्यमी समितिका सभापति रोशनी उपाध्यायलगायतले बोल्नुभएको थियो । शनिबारसम्म चल्ने मेलाले मुलुकभरका झण्डै छ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योग र कृषि व्यवसायमा संलग्न उद्यमीलाई प्रतिबिम्बित गर्ने महासंघले जनाएको छ । मेला संयोजक गुरुङका अनुसार लघु, घरेलु तथा साना उद्योगलगायत सबैखाले उद्योगका उत्पादनलाई समावेश गरी बिटुबी, बिटुसी, बिटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण रहेका छन् ।

नेपालको अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरूलाई समेत आकर्षित गर्न अर्गानिक उत्पादनलाई नेपाल सरकारले प्रोत्साहन गरिरहेको र यस्ता उत्पादनहरू उपभोग गर्न उपभोक्ताहरूसमेत जागरुक रहेको परिप्रेक्ष्यमा अर्गानिक उत्पादनहरूका बारेमा आमनागरिकलाई सचेत गराउने र सहजरूपमा अर्गानिक उत्पादनहरू उपलब्ध गराउन त्यस्ता उत्पादन बिक्रीवितरणमा सहयोग पुर्‍याउने उद्देश्यका साथ अर्गानिक एसोसिएसनसँगको सहकार्यमा कृषिका अर्गानिक उत्पादनहरूको छुट्टै प्याभिलियनको व्यवस्था गरिएको छ । मेलामा सबै प्रदेश र जिल्लाका उद्यमी, उपयुक्त प्रविधि प्रयोगकर्ता र भारत, पाकिस्तान, बंगलादेशलगायत गरी दुई सय स्टल रहेको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?