✍️ प्रा.डा.तीर्थप्रसाद मिश्र
चीनजाने पञ्चवर्षीय सौगात मण्डलका अन्तिम नेता भैरवबहादुरले चीनको राजधानी बेइजिङबाट सम्वत् १९६५ भाद्र २५ गते पठाएको बिन्तीपत्रका विषयमा यसै छापाको २०७९ वैशाख १ गतेको अंगमा प्रकाशित भएको थियो । सोही सन्दर्भ र विषयलाई निरन्तरता दिँदै उनको यो दोस्रो बिन्तीपत्र प्रकाशमा ल्याइएको हो ।
भैरवबहादुरले बेइजिङबाट फिर्ती भई नेपाल आउने क्रममा यो बिन्तीपत्र चीनको टेनसेनबाट नेपालका श्री ३ महाराज चन्द्रशमशेरलाई यो बिन्तीपत्र पठाएका हुन् । यस बिन्तीपत्रमा आफूहरू बेइजिङबाट टेनसेनसम्म रेलमा चढेर आएको, बेइजिङको रेलवे स्टेसनमा ब्रिटिश मिनिस्टर नै आफूहरूलाई बिदाइ गर्न आएको, टेनसेनका स्थानीय अधिकारीसँग भेटघाट भएको, श्री ३ र काजीलाई उपहारहरू दिएकालगायत टेनसेन सहरका अन्य विवरणसमेत उल्लेख भएको छ । यो बिन्तीपत्र पठाउनुको प्रमुख प्रयोजन नै श्री ३ लाई प्रसन्न बनाउनु रहेको देखिन्छ । काजी भैरवबहादुरले यस बिन्तीपत्रमा आफ्नो नाम चिनियाँ भाषामा पनि लेखेका छन् । यसबाट उनले चीनमा रहँदा आफूले चिनियाँ भाषासमेत सिकेको भन्ने संकेत गर्न खोजेको हुनुपर्छ । यस पत्रबाट नेपाल र अंग्रेज सरकारबीचको तत्कालीन सम्बन्धसमेत बुझ्न सकिन्छ ।
बिन्तीपत्रको पूर्ण विवरण :
वींतीपत्र
उप्रान्तमहाराज करुणानिधान सरकार्का गाथमा सदा आरोग्यमंगलोदये रहि वक्स्या सेवकहरूको प्रतिपालउधारण होलाप्रभु ६५ सालभाद्र २७ गते रोज ६ मा पेचीनबाट कुचहुने वंदोवस्तभयाको समेत् अरू हालमुकां पेचीन् बाट चढाई पठायाका वींतीपत्रबाट सरकार्मा जाहेर भयाहो. सर्कारकाप्रतापले इजतसाथ सो भाद्र २७ गते रोज ६ मा पेचीन् बाट कुचभई थ्यांचीन् अर्थात् टेन् सेन् माआउने स्टेसनमा आउँदा वृटिस मिनिष्टर साहेव पनि रेलैमा भेट गर्न आया १ ।। बजे पेचीनबाट रेलमाकुच भै ५।। टेनसेनमाआई पुग्यौं. प्रभु पाउचीन् फुका चुंङसँग भेट मुलाकादगर्नु पर्ने सावीक दस्तुरका कागजमा लेषियाको र आउँदातांत्ते फु देषि रेलमाआयाकाहुनाले पाउचीन फु जानै नपरी भेट मुलाकादभयाको थिएन. पाउचीनफुका चुंङ हालमा ञाहि वस्याका हुनाले भाद्र २८ गते रोज ७ मा सावीक दस्तुर वमोजिम् चूंङसँग भेट मुलाकादगर्याै. इजतसाथ मेचमावसाली सर्कारकागाथमाआरामै छ किभनि सोध्याआराम रहीवक्स्याको छ भन्या पछि गोर्षाका अरू प्रानीप्रजालाई सुविस्ता छ किभन्या र सुविस्ता छ भंदातपाईहरू वाटामा सुविस्ता साथआउनु भयो भन्या र वादशाह र हाम्रा सर्कारकाप्रताप ञाहावडा चुंङका मेहरवानी सुवीस्ता साथआञौ भंदा सर्कारलाई मेरो निसानीभनी चढाई दिनु भनिजंगीपोसाक १ नीजामतीपोसाक १ ज्मा २ आफ्नु फोटो तसवीर दिञातपाईहरूलाई पनि मेरो निसानी दिन्छु भनी सेवकहरूलाई पनिआफ्नु फोटो १ । १ दिया सावीक दस्तुर वमोजीममुलाकाद गरी फर्की आञौं प्रभु टेनसेनसहर समुद्रकाकिनारमाहुनाले र सारा युरोपीजापानीकाजहाजमाउत्रने.युरोपीहरू पनि सवै रहेकाहुनाले पेचीनभंदापनिगुलजार रहेछ नदिको साधगरियेका पट्टि युरोपियनहरू र येक पट्टि चीनीञा वस्याका रहेछं. भोलि ञाहावाट पनीकुच भै षोल्यां हाताकाकुस्यां सहर रेल भया उस तर्फको जो हालहोला पछी वींती चढाउला प्रभू ज्यादा हरपको कं वेस् माफवक्स्यामात्र सेवकहरूको उधार छ प्रभु जो हुकुम.
इस सदा सेवककाजी भैरव वहादुर गढतोला क्षेत्री
सर्दार कहरसिं षड्का क्षेत्रीको रोज ३ कुर्णैस कुर्णैस
इति संवत १९६५ सालभाद्र ३० गते रोज २ शुभम्
मुकां टेन सेन् ।
तीर्थ सरका इतिहाससँग सम्बन्धित गहन लेखनले धेरैलाई लाभान्वित गरेको छ।यस्ता सारगर्भित सामाग्रीहरु निरन्तर पाठकहरुले पढन पाउनु हाम्रो सौभाग्य हो। सेवा निवृत्तहरुले अनुभव,ज्ञान र भोगाईहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्ने संरचना सरकारले अविलम्ब बनाउनुपर्छ।सेवा निवृत्तहरुको अनुभव र ज्ञान हस्तान्तरण गर्ने कर्तव्य र युवापुस्ताले प्राप्त गर्ने हकलाई सरकारले आफ्ना योजना र कार्यक्रम अन्तर्गत व्यवस्थित गर्नुपर्छ।सेवा निवृत्तहरु बोझ किमार्थ हैनन् वरदान हुन भन्ने कुरा यस्ता गहन सामाग्रीहरुले प्रमाणित गर्दछन।तीर्थ सरलाई बधाई र निरन्तरताको लागि हार्दिक शुभकामना।वहाँबाट र वहाँ जस्तै सेवा निवृत्तहरुबाट समाजले धेरै सिक्न सक्छ र सिक्न पाउने वातावरण सरकारले बनाउनुपर्छ।