६ महानगरपालिकामा मिश्रित परिणामः काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेनलाई सुरुवाती अग्रता, एमालेको सबै ठाउँमा दोस्रो अग्रता

Read Time = 5 mins

नारायण भण्डारी/हिटा
काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम आउने क्रम सुरु भइसकेको छ । धेरैको चासो रहेका ६ महानगरपालिका मतदाताहरुको मिश्रित रुझान देखिएको छ । शनिबारदेखि सुरु गरिएको गणना प्रारम्भिक चरणमै छ । यो समाचार तयार पार्दासम्मको तथ्यांकअनुसार कतिपय ठाउँमा केही सय मात्र गणना गरिएको भने केही महानगरमा दुई/तीन हजारको हाराहारमिा गणना भएको छ ।

हजारौंको संख्यामा मतदान भएकाले पनि गणना गर्नको लागि अझै केही समय पर्खिनुपर्ने भएको छ । मतगणनाको गति अत्यन्तै सुस्त भएकाले अहिले नै नतिजा कतातर्फ जाला अनुमान गर्न कठिन छ तर, केही संकेत भने देखिएका छन् । शनिबार दिनभर मतगणना हुन नसकेको पोखरा महानगरमा पनि शनिबार साँझदेखि गणना शुरु भएको छ । यो समाचार तयार पार्दासम्म नेकपा एमालेले ६ वटै महानगरमा अग्रता गुमाएको छ । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राख्नुभएको छ । जसअनुसार २२८३ मत गणना हुँदा बालेनले ८४२ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ७२३ मत पाउनुभएको छ । यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५०४ मत पाउनुभएको छ ।

पोखरा महानगरपालिकामा दुई सय मत गन्दासम्म नेकपा एकीकृत समाजवादीले एमालेलाई पछि पारिरहेको छ । ०७४ को चुनावमा नेकपा एमालेले पोखरा र काठमाडौं दुवैमा जितेको थियो । एमालेले जित निश्चित रहेको दाबी गरिरहेको ललितपुर महानगरपालिकामा पनि कांग्रेसका चिरिबाबु महर्जनले अग्रता लिनुभएको छ । त्यहाँ एमाले र कांग्रेसको मतान्तर फराकिलो बन्दै गइरहेको छ । रेनु दाहालको उम्मदेवारीसँग चर्चामा रहेको भरतपुर महानगरपालिकामा एमालेका उम्मदेवार विजय सुवेदीले शनिबार दिउँसो केहीबेर अग्रता लिनुभएको थियो तर, यो समाचार तयार पार्ने बेलासम्म रेणु दाहालले अग्रता लिनुभएको छ । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता बढाउनुभएको छ ।

अघि/पछि हुँदै आउनुभएकी रेणुले शनिबार राति ११ बजेसम्मको परिणामअनुसार ८१ मतको अग्रता कायम गर्नुभएको छ । १२५० मत गणना हुँदा रेणुले ४८३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँका प्रतिद्वन्द्वी एमाले उम्मेदवार विजय सुवेदीले ४०२ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल (भुइँकटहर)ले १५७ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा गठबन्धनका चित्रसेन अधिकारीले ५३६ मत प्राप्त गर्नुभएको छ भने राप्रपाकी हिमला गुरुङ ३२० मत प्राप्त गर्नुभएको छ ।

वीरगञ्ज महानगरपालिकामा एमालेका उम्मेदवार विजय सरावगीलाई गठबन्धनका उम्मेदवार राजेशमान सिंहले पछि पार्नुभएको छ । त्यसैगरी विराटनगर महानगरपालिका पनि नेपाली कांग्रेसले नै सुरुदेखि अग्रता लिइरहेको छ । विराटनगर महानगरपालिकामा सत्ता गठबनधनबाट मेयरका प्रत्यासी नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्पा कार्कीले अग्रता कायमै राख्नुभएको हो । मतपरिणाम सार्वजनिक भएदेखि नै अगाडि रहेका कोइराला र कार्कीको अग्रता बढ्दै गइरहेको छ ।

३१०० मत गणना हुँदा कांग्रेसका कोइरालाले १०३८ मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा एमालेका उम्मेदवार सागर थापाले ७७४ मत पाउनुभएको छ भने मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवको मत २७७ छ । महानगरको उपमेयरमा एमालेकी शिल्पा कार्कीले ५३ पाउनुभएको छ त्यस्तै उपमेयरमा गठबन्धनबाट उम्मेदवार जसपाका अमरेन्द्र यादवले ५४४ मत र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेको मत १६ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?