स्थानीय निर्वाचनको प्रारम्भिक संकेत

Read Time = 6 mins

अस्ति शुक्रबार देशैभरि स्थानीय निकायको निर्वाचन सम्पन्न भएको छ । केही समान्य अपवादबाहेक सबैतिर निर्वाचन सामान्यतया शान्तिपूर्ण रूपमै सम्पन्न भएको छ । ७७ वटा जिल्लाभरि केही ठाउँमा भएका सामान्य घटनालाई निर्वाचनको मानक स्थिति मान्न सकिँदैन । सरकारले संवेदनशील भनेर मानेका केही जिल्लाहरूमा पनि निर्वाचन समान्य अवस्थामै सम्पन्न भयो । पहाडका केही ठाउँमा सामान्य प्रकारको अवरोध भएको भए पनि ती ठाउँहरूमा पुनः मतदान भएको छ । केही ठाउँमा अश्रुग्यास प्रहार र हवाई फायरसमेत भयो । गोरखामा गोली लागेर एकजना स्वयंसेवक महिला घाइते भइन् । केही ठाउँमा मतदान अधिकृत र उम्मेदवार पनि कुटिए । तराईका केही ठाउँहरूमा मतपेटिका लुटिए र अराजक स्थिति सिर्जना भयो । केही हताहतीका खबरहरू आएका भए पनि आधिकारिक रूपमा तिनको पुष्टि भएको छैन ।

देशभरिको निर्वाचनमा यति हुनुलाई नराम्रो स्तिथि र असामान्य अवस्था मान्न सकिँदैन तर स्थिति अत्यन्त राम्रो भयो भनेर आँकलन गर्न सकिने अवस्था यो होइन । प्रजातन्त्रमा यति पनि नभएको भए हुन्थ्यो । निर्वाचन भनेको जनमत संकलन हो । सहज वातावरण सिर्जना हुनुपर्छ तर हाम्रोमा भने मतदातालाई कुनै न कुनै तरिकाले प्रभावित पार्ने चलन छ । डर, धाक, धम्की र आश्वासनका माध्यमबाट मतदातालाई प्रभावित पार्नाले जनताको मतको सही अभिव्यक्ति हुन सक्दैन । मत अभिव्यक्ति भनेको मानिसको स्वतन्त्र धारणको प्रकटीकरण हो । फलानाले यसो भनेको थियो एक मत चाहिँ उसैलाई दिन्छु, फलानो नाताको मानिस हो भन्ने जस्ता विभिन्न खालका भावना धारणा अनि आस र त्रासका माध्यमबाट प्रकट गरिने भावना वास्तवमा सैद्धान्तिक मत होइनन् तर हाम्रो देशमा भने यस्तै हुने गर्दछ ।

यही कारणले नेपालमा स्थानीय निकायमा एउटै पार्टीका उम्मेदवारमध्ये पनि कसैको बढी र कसैको कम मत आउने गर्दछ । यसले गर्दा निर्वाचनमा सिद्धान्तमात्र हेरिँदैन र हेर्ने प्रचलन पनि छैन । यतिमात्र होइन संघीय संसदको निर्वाचानमै पनि व्यक्तिको लोकप्रियताका आधारमा मतदान हुने गर्दछ । हुन त यस्तो स्थिति विकसित देशहरूमा समेत देखिने गरेको छ । हालसम्ममा केही ठाउँका परिणाम आइसकेका छन् र केही ठाउँका आइरहेका छन् । यसलाई प्रारम्भिक परिणाम नै मान्नु पर्दछ । प्रारम्भिक परिणामले संकेत गरेअनुसार पहिले नै अनुमान गरिएनुसारको परिणाम हो यो । नेपालमा अन्ततः दुईवटा राजनीतिक शक्तिहरू सबल रूपमा देखिन र स्थापित हुन आएका छन् ।

अन्य शक्ति यिनैसँग सम्बन्धित भएर आएका शक्ति हुन् । कोही वामपन्थी र कोही प्रजातान्त्रिक शक्तिका रूपमा तिनीहरू संघर्षरत छन् तर विस्तारै ती कमजोर बन्दै जाँदैछन् । नयाँ स्थापित पार्टीहरूको धारणा पनि कतै न कतै यही दुई शक्तिको भावनासँग मिल्छ तर तिनलाई स्थापित हुन कठिन देखिएको छ । नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी हो तर हालको स्थानीय निर्वाचनमा यससँग केही वामपन्थी दलहरूले पनि गठबन्धन गरेका थिए ।

अर्को शक्ति वामपन्थी शक्ति हो । एमाले यस्तो विचार लिनेहरूमा सबैभन्दा सबल छ । अहिले पनि नेकपा एमाले र गठबन्धनका बीच प्रतिस्पर्धा भएको छ । कतिपय ठाउँमा गठबन्धनले विजय गरेको छ । गठबन्धन गर्नाले उसलाई विजय गर्न सजिलो भएको छ तर केही ठाउँहरूमा गठबन्धन गरेर पनि उसले विजय हासिल गर्न सकेन । एमाले यसबाट कमजोर छैन भन्ने देखिएको छ । एमालेबाट प्रधानमन्त्री बन्नु भएका केपी शर्मा ओलीबाट संसद विघटनका सिफारिशलगायत विभिन्न असंवैधानिक कामहरू भएर एमाले पाखा लागेको अवस्थामा पनि उसको जनाधार बलियै देखिएको छ । त्यसैले यस परिणामबाट सबैले पाठ सिक्नुपर्छ र आगामी संसदीय निर्वाचनमा प्रजातान्त्रिक शक्तिहरूले राम्ररी संगठन गरेरमात्र मैदानमा जानुपर्ने आवश्यकता देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?