कालो सडकमा पहेँलो बिस्कुन

Read Time = 2 mins

-प्रकाश मैनाली

सर्लाही । निर्वाचनलगत्तै सर्लाहीका किसान आफ्नो बाली भित्त्राउन व्यस्त देखिएका छन् । अहिले सर्लाहीका किसान आफ्नो बारीमा पाकेर भाच्ने बेला भएको हिउँदे मकै धमाधम भाँचिरहेका छन् । यहाँका किसानले अहिले पानी नपरेको मौका छोपी बाली भित्त्राइरहेका छन् । सुकेपछि तयार भएको मकै बजारमा पु¥याउन किसानलाई भ्याइनभ्याई भएको छ । राम्रोसँग नसुकेको मकै बेच्दा राम्रो दाम नआउने भएपछि किसान मकै सुकाएर बेच्ने गर्छन् ।

पहिला सबै किसानको आँगनमा पथरी नभएकाले उनीहरूले नसुकेको मकै कम दाममा बेच्ने गरेको भए पनि पछिल्लो समय गाउँ-गाउँमा बनाइएको पिच बाटोले गर्दा किसानलाई मकै सुकाउन सहज भएको छ । सीमित व्यक्तिको घरमा मात्र पथरी हुँदा मकै सुकाउन पालो कुर्नुपर्ने तथा सस्तोमा आफ्नो बाली बेच्नुुपर्ने बाध्यताबाट किसानले छुट पाउन थालेका छन् ।

भित्री तथा सवारी आवतजावत कम रहेको बाटोमा किसानले सडकको एक किनारामा आफ्नो बाली सुकाउने गरेका छन् । नसुकेको मकै प्रतिविन्टल २३ सयदेखि २४ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको भए पनि राम्रोसँग सुकेर गोदाम गर्न मिल्ने मकै प्रतिविन्टल ३२ सयमा किनबेच भइरहेको छ । यसरी सुकाउँदा राम्रो दाम आउने भएपछि किसनले बाटैभरि मकै सुकाउने गरेका हुन् ।

पछिलो समय उखु बालीमा भएको भुक्तानीको झन्झटले गर्दा किसानले नगदे बालीका रूपमा मकै खेती गर्दै आएका छन् । अहिले जिल्लाको बरहथवा, बागमती, लालबन्दी ईश्वरपुर, हरिपुर, हरिपुवा नगरपालिका क्षेत्रमा धेरै मकै खेती हुने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?