बजेट चुनावमुखी नभएको अर्थमन्त्रीको दाबी

Read Time = 3 mins

काठमाडौं । प्रमुख प्रतिपक्षी दल र कतिपय अर्थविद्हरूले सरकारले चुनावमुखी बजेट ल्याएको भन्दै आलोचना भइरहेकोमा अर्थमन्त्री जनार्दन शर्माले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको दाबी गर्नुभएको छ । सोमबार बजेटबारे अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले उत्पादन वृद्धि, आत्मनिर्भर अर्थतन्त्र बनाउने र तलब वृद्धिका कुरा चुनावसँग सम्बन्धित भन्न नमिल्ने जिकिर गर्नुभयो ।

युवालाई तालिम दिने, किसान पेन्सन दिने, उत्पादन बढाउने व्यवस्था विगतकै बजेटको निरन्तरता भएको र नीति तथा कार्यक्रमअनुसार नै बजेट आएको पनि उहाँले बताउनुभयो । अर्थमन्त्री शर्माले भन्नुभयो, ‘नीति तथा कार्यक्रमले निर्देश गरेअनुसार बजेट ल्याइएको छ । बजेट गाउँको बाटोमात्रै होइन, बजेट गाउँको रोजगारी पनि हो । बजेट गरिबीको अन्त्य पनि हो । बजेट हाम्रा स्रोत साधनको सही परिचालन र व्यवस्थापन पनि हो । यो एउटा चुनौती हामीले थपेको हो । हामीले आयात प्रतिस्थापन गर्छौं, उत्पादन वृद्धि गर्छौं, यति लाख हामी रोजगारी सिर्जना गर्छौं भनेका छौं ।’

उहाँले स्वदेशी वस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकता दिइएको बताउनुभयो । पहिला सरकारमा बस्नेहरूबाटै स्वदेशी वस्तुको प्रयोग सुर गरिने पनि उहाँले जानकारी दिनुभयो । उहाँले बजेटमा निर्माण व्यवसायीलगायतका केही विषय छुटेकोमा समेटेर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

सरकारले लक्ष्य तोकेरै बजेट बनाएको र नीतिगत कुरा गरेको उहाँले जिकिर गर्नुभयो । बजेटमा आठ लाख मानिसलाई गरिबीको रेखामाथि ल्याउने विषय समेटिएको, साना व्यवसायलाई सहज ऋणको व्यवस्था गरिएको भन्दै उहाँले बजेट पूर्णरूपमा कार्यान्वयन हुने दाबीसमेत गर्नुभयो । बजेट पूर्ण र उत्कृष्ट नभए पनि देश र जनताको आकांक्षालाई सम्बोधन हुने गरी आएको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?