जिल्ला अस्पतालको सुधारका लागि पुतलीबजार नगरपालिकाकाले चाल्यो कदम

Read Time = 6 mins

-युवराज पौडेल

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकामा नयाँ नेतृत्वले पदभार सम्हालेसँगै स्याङ्जा जिल्ला अस्पतालको सुधार र स्तरोन्नतिमा विशेष चासो देखाएको छ । नेपाली काङ्ग्रेसका नेता क्षेत्रीय सभापति तुल्सीराम रेग्मी नगरप्रमुखमा निर्वाचित भएसँगै अस्पतालको सुधारका लागि कार्यपालिकाको पहिलो बैठकबाटै विभिन्न निर्णयहरु गरिएको छ ।

पुतलीबजार नगरपालिकाको कार्यपालिकाको पहिलो बैठकबाट नै नगर क्षेत्रभित्र डायलाइसिस र रक्त सञ्चार सेवालाई प्रभावकारी र सहज बनाउने निर्णय गरेको नगर प्रवक्ता मनोज पौडेलले जानकारी दिनुभयो । कार्यपालिका बैठकले मृगौला रोगका कारण पीडित भएका बिरामीहरुका लागि सहज र प्रभावकारी तरिकाले डायलाइसिस सेवा नियमित सञ्चालन गर्ने निर्णय समेत गरेको पौडेलले बताउनुभयो ।

त्यस्तै कार्यपालिकाको पहिलो बैठकद्वारा नै पुतलीबजारमा भएको ब्लड बैङ्कको समस्या समाधान गर्नका लागि नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी यथाशीघ्र ब्लड बैङ्क सञ्चालन गर्ने निर्णय समेत गरिएको छ । यस कार्यका लागि आ.ब.२०७८–७९ मा विपद् व्यवस्थापन कोषमा विनियोजित भई बाँकी रहेको बजेटबाट रु. १० लाख बजेट तत्काल उपलब्ध गराउने निर्णय गरिएको प्रवक्ता पौडेलले बताउनुभयो । बिहिबार जिल्ला अस्पताल स्याङ्जामा हेमोडाइलाइसिस सेवा बिस्तार शुभारम्भ कार्यक्रमको पुतलीबजारका नवनिर्वाचित प्रमुख तुल्सीराम रेग्मीले उद्घाटन गर्नुभयो ।

जिल्ला अस्पताल स्याङ्जाको २२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित सो कार्यक्रममा प्रमुख रेग्मीले अस्पतालको सुधार र स्तरोन्नतिमा आफ्नो विशेष ध्यान गएको बताउँदै जनताको सहज र सर्वसुलभ स्वास्थ्य पाउने अधिकारको सम्मान गर्ने गरी आफूले काम गर्न चाहेको बताउनुभयो । उक्त अवसरमा नगरप्रमुख रेग्मीले जिल्ला अस्पतालमा खानेपानी व्यवस्थापनका लागि पुतलीबजार नगरपालिकाबाट रु. ३ लाख विनियोजन गरिएको जानकारी समेत दिनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख देवी अर्याल, नगरपालिकाका कार्यकारी प्रशासकीय अधिकृत रमेश घर्ती, जिल्ला अस्पताल स्याङ्जाका मेडिकल सुपरिटेन्डेन्ट रमेशप्रसाद आचार्य, जिल्ला रेडक्रस सोसाइटी स्याङ्जाका कोषाध्यक्ष महेशबहादुर थापा, नगर प्रवक्ता मनोज पौडेल, नेपाली काङ्ग्रेसका क्षेत्रीय सचिव मनोज मल्ल, अस्पतालका अध्यक्ष इन्द्रबहादुर गोदार लगायतको उपस्थिति रहेको थियो ।

अस्पतालका अध्यक्ष इन्द्रबहादुर गोदारले अस्पतालभित्रका व्यवस्थापनका समस्याहरुलाई क्रमशः समाधान गरिने बताउनुभयो । उहाँले जिल्लामा ब्लड बैङ्क नहुँदा बिरामीलाई रगत दिन समस्या भएकाले यसतर्फ पुतलीबजार नगरपालिकासँग व्यवस्थापन समितिको तर्फबाट अनुरोध गरिएको बताउँदै सबैसँग सहकार्य गरेर ब्लड बैङ्क स्थापना गर्न सके त्यसबाट बिरामीलाई अहिले भइरहेको रगतको समस्या समाधान हुने बताउनुभयो । सो अवसरमा प्रमुख उपप्रमुख लगायतको टोलीले अस्पतालको अवस्थाको निरीक्षण गर्नुका साथै बिरामीहरुलाई भेटेर अस्पतालबाट प्राप्त सेवा सुविधाका बारेमा प्रतिक्रिया लिएको थियो ।

स्याङ्जा जिल्ला सदरमुकाममा रहेको जिल्ला अस्पतालमा बिरामीहरुले उपचारका लागि दुःख पाइरहेको तथा रगत झिक्ने ब्लड ब्याग समेत उपलब्ध नभएको र व्यवस्थापनमा कमीकमजोरी देखिएको भन्ने समाचार बाहिर आइरहेका सन्दर्भमा नगरपालिकाको नवनिर्वाचित नेतृत्वले यसतर्फ विशेष चासो देखाएको हो ।

नेपाली काङ्ग्रेस स्याङ्जाका सभापति तथा संविधानसभा सदस्य राजु थापाले जिल्ला अस्पतालमा विगत लामो समयदेखि थुप्रिएका समस्या क्रमशः समाधान गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जिल्ला अस्पतालको व्यवस्थापनका सन्दर्भमा पत्रकारद्वारा सोधिएको प्रश्नको उत्तर दिँदै सभापति थापाले पुतलीबजार नगरपालिकाको नयाँ नेतृत्वले अस्पतालको बेथिति अन्त्य गर्दै जनताले सहज र सर्वसुलभ तरिकाले उपचार पाउने व्यवस्था मिलाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार हो । पुतलीबजार नगरपालिकाले पनि शिक्षा र स्वास्थ्यलाई विशेष महत्वका साथ लिएको छ । हामीले तत्काल देखिने गरी सुधारका कदम चालेका छौं ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?