भुसालमाथि कारबाही सिफारिससँगै चर्चामा आयो ओलीले ११ वर्षअघि झलनाथ खनालको राजीनामा मागेको विषय

Read Time = 7 mins

काठमाडौ । नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि अनुशासनको कारवाही सिफारिसले पार्टीभित्र तरंग ल्याएको छ । पार्टी अध्यक्षका विरुद्ध बोलेको भन्दै पार्टीको अनुशासन आयोगले भुसाललाई कारवाहीको सिफारिस गरेको हो ।

घनश्यामले स्थानीय तह निर्वाचनमा पार्टीले पराजय भोग्नुको कारण अध्यक्ष केपी ओली भएको बताउनु भएको थियो। सोही आधारमा ओलीले राजनीनामा दिनुपर्ने भुसालको माग थियो ।

घनश्यामले अध्यक्ष ओलीको राजीनामा माग गरेपछि पार्टीको अनुशासन आयोगले भुसाललाई कारवाही गर्न सिफारिस गरेको हो ।

अब बस्ने सचिवालय बैठकले भुसालमाथिको कारवाहीको विषयमा निर्णय गर्नेछ । १९ सदस्यीय सचिवालयको बहुमत सदस्यले भुसालमाथिको कारवाही सदर गर्नुपर्ने हुन्छ ।

आफुविरुद्ध अभिव्यक्ति दिएकोमा आक्रोशित बन्नुभएको अध्यक्ष ओलीले आजभन्दा ११ वर्षअघिको अभिव्यक्ति स्मरण गर्न सकिन्छ । त्यो बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनालको राजीनामा माग गर्नुभएको थियो। तत्कालिन वरिष्ठ नेता समेत रहनुभएको ओलीले सार्वजनिक अभिव्यक्ति मार्फत नै खनालको राजीनामा माग गर्नुभएको थियो ।

‘असफल भइसकेको यो सरकार फेरि कायम राखिराख्नुको कुनै अर्थ छैन । त्यसकारण यस सरकारलाई धन्यवादसहित तीन महिना खेर फालेता पनि, तीन महिना सरकार नामको चिज र चिडिया यस हाँगामा बस्यो, जे रस खाए खायो, नखाए नखायो, धन्यवाद छ अब कुर्सी खाली गर,’ ओलीले भन्नुभएको थियो ।

उहाँले भन्नुभएको थियो, ‘राष्ट्रिय सहमतिका लागि बाटो छोड र शान्ति र संविधानको रड, आफैंले हिजो लगाएको रड आफैंले हिजो बजाएको सारंगी, आफैंले हिजो बजाएको एकतारे सम्झ । राजीनामा गरेर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर ।’

देशलाई एउटा व्यक्ति हेरेर देशलाई जहाँ सुकै जाओस् भन्न नसकिने उहाँको भना थियो । उहाँले तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकारको लागि मार्ग प्रशस्त गर्न माग गर्नुभएको थियो ।

‘राष्ट्रिय सहमति निर्माण गर्नै पर्दछ । एमाले, माओवादी, कांग्रेस, मधेशवादी दलहरू सरकारमा सामेल हुनसक्नेस्थिति निर्माण गर्नुपर्दछ ,’ ओलीको भनाई थियो ।
आजभन्दा ११ वर्ष अघि आफ्नै पार्टीको सरकारविरुद्ध लागेका ओलीले अहिले भने आफुविरुद्ध बोल्ने घनश्याममाथि कडा कदम चाल्न लाग्नुभएको छ ।

ओली, पार्टी र चुनावबारे घनश्यामको भनाइ के थियो ?

एक टेलिभिजनमा बोल्दै घनश्यामले नेकपा एमाले भनेको ओली, ओली भनेको नेकपा एमाले दुवै असफल भएको बताउनु भएको थियो। नेतृत्वले अझ बर्बाद पार्न खोजेको तर, जनताले इतिहासको मूल्यांकन गरिसकेको बताउनु भएको थियो ।

‘आज हामीले जुन मत प्राप्त गरेका छौँ, त्यो पार्टी चलाउने, चुनाव चलाउने शैलीको भोट होइन । एमालेले इतिहासमा गरेको, लडेको, कार्यकर्ताले रगत–पसिना बगाएर गरेको योगदानको मत हो ,’ घनश्यामले भन्नुभएको थियो ।

उहाँले चितवनको सौराहमा सम्पन्न १० औं महाधिवेशनलाई सौराह काण्डको संज्ञा दिनुभएको थियो । ‘म सौराहा काण्ड भन्छु । जुन परम्पराबाट एमाले बनेको थियो, त्यसविपरीत गएर एकजनालाई सर्वाधिकार दिने, उसले लिस्ट पढ्ने, त्यसलाई सबैले मान्नुपर्ने, त्यसलाई महाधिवेशन भन्नुपर्ने, सार्वभौमसत्तासम्पन्न प्रतिनिधि भन्नुपर्ने, चुनावको नाटक मञ्चन हुने अनि त्यसमा अन्तिममा फलानो–फलानोलाई भोट नदेऊ भनेर अध्यक्षले लिस्ट जारी गर्ने । जिल्ला अधिवेशनहरू पनि जसरी भए, उम्मेदवार जसरी तय भए यी सबै घटनालाई हेर्दा संक्षेपमा के भन्छु भने कमरेड ओलीको प्रयोग असफल भयो भन्ने कुरा अब हन्ड्रेड प्रसेन्ट (शतप्रतिशत) देखिएको छ ,’ उहाँले भन्नुभएको थियो ।

यहि तरिका हो भने आफुहरू भिरको नजिक नजिक रहेको उहाँले जनाउनु भएको थियो । घनश्यामको उक्त अभिव्यक्तिपछि अनुशासन आयोगले कारवाही सिफारिस गरेको हो ।
कारवाही सिफारिस गरिएपछि पार्टीभित्र नै विरोध सुरू भइसकेको छ । एमाले सचिव योगेश भट्टराईले आवेग र उत्तेजनाले कसैलाई पनि सहि ठाउँमा नपुर्याउने बताउनु भएको छ ।

सामाजिक सञ्जालमार्फत भुसालमाथि कारवाहीको विषयमा आफ्नो धारणा व्यक्त गर्दै उहाँले सबै संयम हुनुपर्नेमा जोड दिनुभएको छ । यता भुसालले पार्टीभित्रका सम्पूर्ण गलत कामको छानविन गरिनुपर्ने माग राख्नुभएको छ । पार्टी विगार्ने काम अध्यक्ष ओलीले गरेको भन्दै उहाँमाथि छानविन हुनुपर्ने माग उहाँको छ आफ्नो अडानबाट पछि नहट्ने भन्दै एमाले पार्टी बचाउन आफु गलतकाविरुद्ध बोल्ने बताउनु भएको छ ।

-कृष्णसिंह धामी/न्युज कारखाना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?