शोधनान्तर घाटा तीन खर्ब नजिक

Read Time = 8 mins

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को १० महिना वैशाखसम्म शोधनान्तर घाटा झण्डै तीन खर्ब अर्थात् दुई खर्ब ८८ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सात अर्ब ७५ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा पाँच करोड ५४ लाखले बचतमा रहेको शोधनान्तर समीक्षा अवधिमा दुई अर्ब ४१ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको वैशाखसम्मको तथ्यांकअनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड रहेको कुल विदेशी विनिमय सञ्चितिमा १८ प्रतिशतले कमी आई २०७९ वैशाखमा ११ खर्ब ४६ अर्ब ८८ करोड कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ वैशाखमा २१.१ प्रतिशतले कमी आई नौ अर्ब २८ करोड कायम भएको छ । राष्ट्र बैंकमा सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा १८.३ प्रतिशतले कमी आई १० खर्ब १७ अर्ब २७ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्थाको विदेशी विनिमय सञ्चिति २०७८ असारमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७९ वैशाखमा १६.१ प्रतिशतले कमी आई एक खर्ब २९ अर्ब ६१ करोड कायम भएको छ । २०७९ वैशाखको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको छ । १० महिनाको आयातका आधारमा बैंकिङ  क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.३४ महिनाको वस्तु आयात र ६.५७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंंकले जनाएको छ ।

त्यस्तै गरी चालु खाता पनि पाँच खर्ब ४७ अर्ब ३६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता दुई खर्ब ५१ अर्ब २९ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब १४ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा चार अर्ब ५७ करोडले घाटामा रहेको छ । त्यस्तै पुँजीगत ट्रान्सफर ४१.३ प्रतिशतले कमी आई सात अर्ब ९९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १८.२ प्रतिशतले वृद्धि भई १६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब आठ करोड थियो ।

रेमिट्यान्स पनि बढेन
चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स आप्रवाह ०.२ प्रतिशतले वृद्धि भई आठ खर्ब ११ अर्ब ७९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा १९.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा पनि रेमिट्यान्स आप्रवाह १.६ प्रतिशतले कमी आई छ अर्ब ७६ करोड कायम भएको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो । तर, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्यरूपमा वृद्धि भई दुई लाख ७८ हजार दुई सय ९८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८.४ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि १८५.५ प्रतिशतले वृद्धि भई दुई लाख ३० हजार चार सय ६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५४.० प्रतिशतले घटेको थियो ।

१४ खर्ब ३१ अर्बको व्यापारघाटा
आर्थिक वर्ष २०७८/०७९ को १० महिनामा कुल वस्तु निर्यात ५९.८ प्रतिशतले वृद्धि भई एक खर्ब ७३ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३२.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ७२.९ प्रतिशत र २५.६ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २४.९ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, धागो, ऊनी गलंैचा, पिनालगायतको निर्यात बढेको छ भने अलैंची, चिया, आयुर्वेदिक औषधि, दन्त मञ्जन, तारलगायतको निर्यात घटेको छ । सो अवधिमा कुल वस्तु आयात २८.० प्रतिशतले वृद्धि भई १६ खर्ब चार अर्ब ६५ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२.३ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २२.० प्रतिशत, २३.८ प्रतिशत र ४९.९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, सुन, अन्य मेसिनरी तथा पार्ट्सलगायतको आयात बढेको छ भने एमएस बिलेट, रासायनिक मल, सिमेन्ट, दाल, धान तथा चामललगायतको आयात घटेको छ । १० महिनामा कुल वस्तु व्यापारघाटा २४.९ प्रतिशतले वृद्धि भई १४ खर्ब ३१ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २१.५ प्रतिशतले बढेको थियो ।

मूल्यवृद्धि ७.८७ प्रतिशत
समीक्षा अवधिमा मूल्य वृद्धि ७.८७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्यवृद्धि ३.६५ प्रतिशत थियो । खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि ७.१३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ८.४५ प्रतिशत रहेको छ । वैशाख मसान्तसम्म वार्षिक बिन्दुगत मासिक औसत मूल्यवृद्धि ५.८४ प्रतिशत रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ, तेल, फलफूल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थको मूल्यवृद्धि क्रमशः २४.८६ प्रतिशत, १२.६१ प्रतिशत, ११.३० प्रतिशत, १०.५३ प्रतिशत र ९.७० प्रतिशत रहेको छ । मूल्यवृद्धि दर काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत, तराईमा ८.१५ प्रतिशत, पहाडमा ७.८९ प्रतिशत र हिमालमा ८.२१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ वैशाखमा क्रमशः ३.६२ प्रतिशत, ३.५१ प्रतिशत, ४.१४ प्रतिशत र १.३३ प्रतिशत रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?