श्रीलंकाको राष्ट्रपति भवनमा प्रदर्शनकारीले कब्जा जमाए, गोताबाया राजापाक्षे निवासबाट भागे

Read Time = 4 mins

कोलम्बो । श्रीलङ्काको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कफ्‌र्यु आदेश जारी गरेको छ । आर्थिक संकट झेलिरहेको श्रीलंकाको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ ।

यसैबीच राष्ट्रपति राजापाक्षे आफ्नो निवासबाट भागेको खबर छ । पछिल्लो जानकारी अनुसार शनिबारको स्थितिबाट आन्दोलनकारीले राष्ट्रपतिमाथि आक्रमण प्रयास गरेका थिए । रक्षा स्रोतहरूले राष्ट्रपति राजापाक्षे भागेको दाबी गरेका छन्।

त्यसअघि राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै उनको निवासको कम्पाउन्डमा प्रदर्शनकारी पुगेका थिए ।

‘राष्ट्रपतिलाई इस्कर्टिङ गरिएर लगिएको थियो’, रक्षा स्रोतले भन्यो । आक्रोशित भिडलाई राष्ट्रपतिको दरबारमा प्रवेश गर्नबाट रोक्न सेनाले हवाइ फायरसमेत गरेको प्राप्त विवरणमा जनाइएको छ ।

हजारौं प्रदर्शनकारीले प्रहरी ब्यारिकेड तोडेर राष्ट्रपतिको सरकारी निवासमा पसेको जनाइएको छ ।

यसअघि ११ मेमा तत्कालीन प्रधानमन्त्री महिन्दा राजापाक्षे सम्पूर्ण परिवारसहित भागेका थिए ।

आक्रोशित भीडले कोलम्बोमा राजापाक्षेको सरकारी निवासलाई ध्वस्त पारेको छ।

यसैबीच आन्दोलनकारीहरूले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले कफ्‌र्यु आदेश जारी गरेको हो ।

स्थानीय समय अनुसार शुक्रबार राति ९ बजेदेखि अर्को सूचना जारी नगरेसम्म कफ्‌र्यु आदेश कायमै रहने प्रशासनले जनाएको छ ।

प्रहरीका अनुसार नेगोम्बो, केलानिया, नुगेगोडा, माउन्ट लाभिनिया, उत्तर कोलम्बो, दक्षिण कोलम्बो र मध्य कोलम्बोमा कफ्‌र्यु आदेश जारी गरिएको हो ।

कफ्‌र्यु अन्तर्गतका नियमहरूलाई कडाइका साथ पालना गराउन प्रहरीले प्रयास गरिरहेको अधिकारीहरूले जनाएका छन् । त्यसका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालित भएका छन् ।

कफ्‌र्यु आदेश लागू भएका क्षेत्रमा हिड्नु परेमा प्रहरी तथा सरकारी अधिकारीहरूको अनुमतिमा मात्रै हिड्‌न पाइने व्यवस्था गरिएको छ । अत्यावश्यक परेमा हिड्‌न पाइने पनि अधिकारीहरूले जनाएका छन् ।

राष्ट्रपति गोटावाया राजापाक्षले मुलुकको सङ्कट समाधान गर्न नसकेकाले पदमा बसिरहन नमिल्ने भन्दै उनको राजीनामाको माग गर्दै शनिबार विरोध प्रदर्शन भएको हो ।

श्रीलङ्काको गिर्जाघरले भने राष्ट्रपति राजापाक्ष र प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको राजीनामा माग गरेको छ ।

–एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?