नगरपालिकाले बेवास्ता गर्दा बसपार्क सञ्चालन भएन

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 7 mins

नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा व्यवस्थितरूपमा निर्माण भएको रामग्राम बसपार्क सञ्चालनमा आउन सकेको छैन ।

निर्माण सम्पन्न भएको पाँच महिना बितिसक्दा पनि बसपार्क सञ्चालनमा आउन नसकेको हो । परासी क्षेत्रमा यातायात व्यवस्थापनका लागि बनाइएको बसपार्क पाँच महिनाअघि नै निर्माण सम्पन्न भएको छ ।

रामग्राम नगरपालिकाका पूर्वनगरप्रमुख नरेन्द्रकुमार गुप्ताको विशेष पहलमा शहरी विकास मन्त्रालयको लगानीमा निर्माण भएको बसपार्क वर्तमान मेयर धनपत यादवको बेवास्ताका कारण सञ्चालनमा आउन  नसकेको हो ।

बसपार्क रामग्राम नगरपालिकालाई शहरी विकास मन्त्रालयले हस्तान्तरण पनि गरिसकेको छ । संघीय सरकारको लगानीमा बने पनि बसपार्कको व्यवस्थापन र सञ्चालनमा ल्याउने स्थानीय सरकार रामग्राम नगरपालिकाको जिम्मेवारी हो ।

मेयर यादवको बेवास्ताका कारण करोडौं लगानीमा  बनेको बसपार्क सञ्चालनमा नआउँदा बालुवामा पानी हाले जस्तो भएको जनता समाजवादी पार्टी जिल्ला अध्यक्ष धरेन्द्र यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संघीय सरकारले लगानी गरेर बनेको सुविधासम्पन्न रामग्राम बसपार्क स्थानीय सरकारले हालसम्म पनि सञ्चालनमा ल्याउन नसक्नु दुःखद हो । तत्काल रामग्राम नगरपालिकाले व्यवस्थापन मिलाई सञ्चालनमा ल्याउनुपर्छ ।’

यातायात व्यवसायीले पनि नगरपालिकाको बेवास्ताका कारण रामग्राम बसपार्क सञ्चालनमा आउन ढिलाइ भएको बताएका छन् । बसपार्क निर्माण भए पनि सडक सञ्जाल निर्माण नहुँदा बसपार्क सञ्चालनमा आउन नसकेको उनीहरूको भनाइ छ ।

बसपार्क निर्माण भए पनि त्यहाँ पुग्ने सडक नबनेकाले गाडी पनि बसपार्कसम्म पुग्ने अवस्था छैन । बनिसकेको बसपार्क सञ्चालन नहुँदा पार्किङको समस्या भोग्नुपरेको पाल्ही यातायात व्यवसायी प्रालि नवलपरासीका अध्यक्ष ऋषिराम पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘करोडौंको लगानीमा निर्माण भएको बसपार्क सञ्चालनमा नआउँदा सदरमुकाम परासीमा बसपार्क निर्माण भइसक्दा पनि सडकमै अव्यवस्थितरूपमा सवारीसाधन पार्किङ गर्नुपरिरहेको छ ।’

रामग्राममा बसपार्क बने पनि सञ्चालन नहुँदा सवारीसाधन सडकमै पार्किङ गर्ने गरिएको छ । परासीको मुख्य बजार बुद्धचोक नै बसपार्कका रूपमा बुद्धचोक–निलो गेटसम्मको सडक विस्तारक्रममा अस्थायीरूपमा रामग्राम–४ स्थित जिल्ला समन्वय समितिको जग्गामा बसपार्क सञ्चालन गरिएकोमा हाल उक्त स्थानमा जिल्ला समन्वय समितिको भवन निर्माण कार्य भइरहेकाले महेशपुर जाने सडकवरिपरि पार्किङ गर्दा दुर्घटनाको जोखिम रहेको अध्यक्ष पौडेलले बताउनुभयो ।

बसपार्क छिटो सञ्चालनमा ल्याउनुपर्ने नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिंह सैथवारले माग गर्नुभयो । सडकवरिपरि जताततै गाडी अव्यवस्थितरूपमा पार्किङ गर्दा ठूलो दुर्घटनाको जोखिम निम्तिने उहाँको भनाइ छ । बसपार्क सञ्चालन नहुँदा लामो तथा छोटो दूरीमा चल्ने बस मुख्य सडकमै पार्किङ भइरहेका छन् ।

सडकमै जताततै सवारीसाधन पार्किङले सवारीसाधनको आवागमनमा समस्याका साथै दुर्घटनासमेतको जोखिम बढेको जिल्ला ट्राफिक कार्यालय नवलपरासीका प्रहरी वरिष्ठ नायब निरीक्षक डम्बर गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘व्यवस्थित पार्किङ नहुँदा सडकमै पार्किङ भइरहेको छ ।

रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले शहरी विकास मन्त्रालयले एक महिनाअघिमात्र बसपार्क रामग्राम नगरपालिकालाई हस्तान्तरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बसपार्क कहिले बनेर सकियो भन्ने भन्दा पनि नगरलाई हस्तान्तरण गरेको विषय मुख्य हो । नगरलाई हस्तान्तरण गरेको करिब एक महिनामात्रै भयो । बसपार्क जहाँ निर्माण भएको छ, त्यहाँ सडकको समस्या देखिएकाले सडक पूर्वाधार निर्माण गरी वर्षापछि बसपार्क सञ्चालनमा ल्याउने तयारीमा छौँ ।’

रामग्राम–४ परासी बजारबाट करिब आठ सय मिटर पश्चिम केरवानी गाउँको करिब साढे दुई बिघा क्षेत्रफलमा बसपार्क निर्माण भएको हो । २७ करोडको गुरुयोजना बनाई पहिलो चरणमा केही पूर्वाधारसहितको बसपार्क निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

गुरुयोजनाअनुसारको संरचना निर्माण गर्न समय लाग्ने भएकाले पहिलो चरणमा आधारभूत तहका पूर्वाधारसहितको बसपार्क निर्माण भएको नगरपालिकाका इञ्जिनियर सतिश गुप्ताले जानकारी दिनुभयो ।

संघीय सरकारले पहिलो चरणका लागि चार करोड ७० लाखको लागतमा बसपार्कमा आधारभूत पूर्वाधार निर्माणका लागि समिर कन्स्ट्रक्सनलाई जिम्मेवारी दिएकोमा तीन करोड ६० लाखको लागतमा निर्माण भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?