चितवनमा उद्यमशिलता मार्फत आर्थिक विकासको खोजी

होमनाथ सापकोटा चितवन, संवाददाता
Read Time = 4 mins

चितवन । चितवनमा उद्यमशिलता मार्फत जिल्लाको आर्थिक विकासको सम्भावनाको खोजी गर्न उद्यमी र विज्ञहरु बीचमा अनुभव आदान प्रदान गरिएको छ । रत्ननगर जेसीजको रजत जयन्ती तथा जेसीज सप्ताहको अबसरमा शनिबार आयोजित रत्नविज समिट कार्यक्रममा अर्थविद्ले नेपालको आर्थिक अबस्था र जिल्लाका उद्यमीहरुले सफलताको कथा सुनाउनुभएको थियो ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डा.विश्वनाथ पौडेलले नेपालको अर्थतन्त्र, आर्थिक संकटको विषयमा तथ्यपरक विषयहरु प्रस्तुत गरेको उक्त कार्यक्रममा चटपटे व्यापारीदेखि राष्ट्रिय स्तरको उद्योगका सञ्चालकहरुको कथा सुनाइएको थियो । नेपालको

अर्थव्यवस्थाको र उद्यमीहरुले सफल हुन गरेको प्रयासका बारेमा युवाहरुलाई जानकारी गराउने उद्देश्यले आर्थिक विकास र उद्यमशिलतालाई जोडेर रत्नविज समिट कार्यक्रम आयोजना गरेको रत्ननगर जेसीजका अध्यक्ष नरहरी पुरीले जानकारी दिनुभयो । अर्थतन्त्रको वर्तमान र भविष्यलाई केलाउदै युवाहरुलाई जिल्लामै उद्यमी बनाउन प्रेरित गर्ने दीर्घकलिन उद्देश्यका साथ विज्ञ र उद्यमीलाई एउटै मञ्चमा राखेर कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा अर्थविद् पौडेल सहित सौराहामा चटपट व्यवसाय गरिरहेका चन्दन चटपटका सञ्चालक चन्दन गुप्ता, रिजाल फुड एण्ड बेभरेजेज प्रा.लिका सञ्चालक पुरुषोतम रिजाल, मेरो किनमेलका सञ्चालक सन्तोष कँडेल, क्लोजेटकी सञ्चालक तथा महिला उद्यमी डा.सन्ध्या कँडेल र पूर्व मिस नेपाल सुगारिका केसीको सफलताको कथा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेपालको अर्थतन्त्र र आर्थिक संकटको बारेमा बोल्दै अर्थविद् डा.पौडेलले सरकारले आम्दानी र खर्चको अनुपात मिलाउन नसक्दा आर्थिक संकट पैदा भएको बताउनुभयो । पौडेलले वर्तमान आर्थिक संकटको अन्त्य गर्न राजश्व बृद्धि गरी अनावश्यक खर्च घटाउदै दीर्घकालिन प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नुपर्ने सुझाब दिनुभयो ।

रत्ननगर नगरपालिकाका मेयर प्रल्लाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा रत्नविज समिटका संयोजक सौरभ रिजालले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो ।

उद्घाटन कार्यक्रम रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी, चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी, जेसीजका राष्ट्रिय उपाध्यक्ष अमर घिमिरे, निरुपीत उपाध्यक्ष सपना पौडेल, नारायणढ जेसीजका अध्यक्ष राजेन्द्र भट्टराई, रत्ननगर जेसीजका पूर्व अध्यक्ष सुन्दरलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको जेसीज सप्ताहका मुल संयोजक रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । रत्ननगर जेसीजका अध्यक्ष पुरीको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर जेसीजका महासचिव सुरेशजंग पाण्डेले सञ्चालन गर्नुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?