विकासले छोएन मदर्सा टोलमा जाने सडकलाई

हिमालय टाइम्स
Read Time = 4 mins

संजीवकुमार मिश्रा/हिटा
बारा । देशमा संघीयता आयो । २०७४ सालमा पहिलो स्थानीय तहको निर्वाचन सम्पन्न भएको पनि पाँच वर्ष बितेर अर्को स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते सम्पन्न भइसकेको अवस्था छ । तर, बाराको सदरमुकाम कलैयाको भरचोकसँगै टाँसिएर रहेको दक्षिण तर्फको पूर्वपट्टि मदर्सा टोल जाने बाटोलाई विकासले छुन सकेको छैन । अर्थात् कलैया उपमहानगरपालिकाको एउटा यस्तो सडक जसलाई विकासले अहिले पनि छुन सकेको छैन ।

कलैयाको मुख्य चोक भरत चोकदेखि दक्षिण पूर्व मदर्सा टोलमा जाने बाटोमा जहिले पनि फोहोर र हिलाम्य हुन्छ । न त यसलाई कहिले सफाइ गरिन्छ न त यो सडकको पानी निकासको लागि नाला निर्माण भएको छ । दिनहुँजसो एकाबिहानै खसी र राँगाको मासु किन्नेको यहाँ भिड लागेको हुन्छ, कलैया उपमहानगरपालिका-६ मदर्सा टोलका श्याम साहले भन्नुभयो, ‘म सानैदेखि यो सडकलाई जुन अवस्थामा देखेको थिएँ अहिले पनि यो सडक जस्ताको तस्तै रहेको छ । न त सरफाइकर्मी यहाँ कहिल्यै सरसफाइ गर्न आउँछन् न त यो सडकको पानी निकासको लागि कुनै नाला नै निर्माण गरिएको छ । खसी र राँगाको मासु लिन आउने ठाउँसम्मको सरसफाइ भए पनि त्यहाँभन्दा अगाडि राँगा बिक्री गर्ने मासु पसल र टेम्पो स्टेसनको बीचको सडक वर्षैभरि फोहोर र हिलाम्य हुन्छ । पटक-पटक लिखित तथा मौखिक रूपमा यो सडकको बारेमा उपमहानगरपालिकालाई जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको उहाँले बताउनुभयो ।

यो सडकको निर्माण र मर्मत सम्भार कहिल्यै हुन सकेन । जहिले पनि मानिसहरू हिलो र फोहोर पानी छलेर यो बाटो प्रयोग गर्न बाध्य भएका छन् । आधा सडक सफा गर्ने र आधा सडक त्यति नै छाड्ने गरेको उहाँले गुनासो गर्नुभयो ।

राँगा पसलभन्दा अगाडि कलैया उपमहानगरपालिका २० का इमरान आलमले गारमेन्ट उद्योग सञ्चालन गर्नुभएको छ । उहाँले नजिकै रहेको कुखुरा फर्म राँगाको पसल र सरसफाइको अभावमा कारोबार सञ्चालन गर्न समस्या हुने गरेको जानकारी दिनुभयो । यो सडकमा वर्षैभरि फोहोर हुन्छ, उहाँले भन्नुभयो, ‘फोहोर र दुर्गन्धका कारण बस्नसमेत समस्या हुने गरेको छ । भोट माग्न आउनेहरू विभिन्न नारा र सरसफाइको वाचा गर्दछन् तर जितिसकेपछि कहिले हेर्न पनि आउँदैनन् । पटक-पटक यो सडकको बारेमा कुरा उठाउँदासमेत सम्बन्धित निकाय मौन देखिएका छन् । नगर्ने नहुने कहिल्यै पनि भन्दैनन् तर काम भने कहिल्यै हुँदैन । यो सडकको फोहोर र दुर्गन्धका कारण आफू जस्ताको व्यवसायसमेत चौपट बनेको दुःखेसो उहाँको छ ।

कलैया उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख विनोद साह भने आफूकहाँ यो सडकको बारेमा कुनै गुनासो नआएको बताउनुहुन्छ । उहाँले चाँडै नै यो सडकको सरसफाइ हुने आश्वासन दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?