बागलुङमा घरेलु तथा यौनजन्य हिंसा बढ्यो

हिमालय टाइम्स
Read Time = 6 mins

-डम्मर बुढा मगर

बागलुङ । बागलुङमा पछिल्लो समयमा लैंगिक हिंसाका घटना बढ्दै गएका छन् । हिंसा लुकाउनु हुँदैन भन्ने सेचतना, शिक्षाको विकास र सूचना तथा सञ्चारको पहुँचले गर्दा विस्तारै लैंगिक हिंसाका घटनाहरू बाहिर आउन थालेका हुन् । जिल्लामा हुने गरेका हिंसा घटनामध्ये अधिकांश यौन तथा घरेलुसम्बन्धी रहेका छन् ।

हिंसामा महिला मात्रै नभएर पुरुषसमेत परेका छन् । लैंगिक हिंसा पीडितको परामर्श र उपचार गर्दै आएको धौलागिरि अस्पतालमा स्थापित एकद्वार संकट व्यवस्थापन केन्द्रले बर्सेनि लैंगिक हिंसाका घटना बढ्दै गएको तथ्यांक सार्वजनिक गरेको छ ।

२०६८ सालमा स्थापना भएको एकद्वार संकट व्यवस्थापन केन्द्रले पछिल्लो आठ वर्षमा ७९७ महिला र १०५ जना पुरुष लैंगिक हिंसाका घटना पीडित भएर अस्पतालसम्म आइपुगेको जनाएको छ । हिंसा पीडितको उपचार, परामर्श र पुनःस्थापनाको काम गर्दै आएको एकद्वार संकट व्यवस्थापन केन्द्र बागलुङले पछिल्लो समय यौन तथा घरेलु हिंसाका घटनामा वृद्धि भएको जनाएको छ ।

धौलागिरि अस्पतालमा स्थापित एकद्वार संकट व्यवस्थापन केन्द्रका प्रमुख परामर्शदाता देवी भट्टराईका अनुसार पछिल्लो समय हिंसा सहेर बस्नु हुँदैन भन्ने कुरा जनमानसमा पर्नुले हिंसाका घटना बाहिर आउन थालेको बताउनुभयो । उहाँले हिंसामा परेका अधिकांश पीडितहरू अस्पतालसम्म आउने कार्य विस्तारै वृद्धि भएको छ ।

एकद्वार संकट व्यवस्थापन केन्द्रका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा मात्रै ८१ महिला र ६ पुरुष हिंसापीडित भएका छन् । यो क्रम वर्षेनि बढ्दै आएको तथ्यांकले देखाउँछ । आव २०६८/६९ मा २२ महिला र ती पुरुष, २०६९/७० मा ४९ महिला सात पुरुष, २०७०/७१ मा ६६ महिला र ६ पुरुष, २०७१/७२ मा ७६ महिला तीन पुरुष, २०७२/७३ मा ७३ महिला र ११ पुरुष, २०७३/७४ मा ८५ महिला र १३ पुरुष, २०७४/०७५ मा ९१ महिला र नौ पुरुष, २०७५/०७६ ११६ महिला र २० पुरुष, २०७६/०७७ मा ७० महिला र १७ पुरुष, २०७७/०७८ मा ७८ महिला र नौ पुरुष, २०७८/७९ मा ८१ महिला र ६ पुरुष हिंसामा परेका छन् ।

तथ्यांक हेर्दा बर्सेनि लैंगिक हिंसाका घटनामा क्रमशः वृद्धि हुँदै गएको पाइएको छ । कोरोना महामारीका कारण भने दुई वर्ष हिंसाका घटना धेरै घटेको भए पनि बाहिर आउन भने नसकेको भट्टराईको भनाइ छ । पछिल्लो समय महिला मात्रै नभएर पुरुषसमेत हिंसापीडित भएको धौलागिरि अस्पताल बागलुङका प्रमुख डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो । ‘लैंगिक हिंसाका घटनाहरू पहिला पनि नभएका होईनन्, हिंसा सहनु हुँदैन भन्ने सचेतनाका कारण हिंसाका घटनाहरू बाहिर आउन थालेका हुन्’ डा. पोखरेलले भन्नुभयो, ‘गोप्य रुपमा परामर्श तथा उपचारका कारण पीडितहरू खुल्न थालेका हुन्, जसमध्ये यौन हिंसा पीडितहरू बढी नै छन् ।’

पोखरेलका अनुसार बलात्कार, जबरजस्ती विवाह, पितृ सत्तात्मक सोच, मनोवैज्ञानिक असर तथा आफन्तलगायत कारण लैगिक हिंसा हुँदै आएको पाइएको छ । अस्पतालमा अधिकांश १४ देखि ५९ वर्ष उमेर समूहका हिंसापीडितहरू बढी आउने गरेको छ । ‘लैंगिक हिंसामा परेकालाई उद्दार, परामर्श, औषधोपचारदेखि पुनःस्थापनासम्मको काम गर्दै आएको केन्द्रले महिला तथा पुरुषले भोगेका हिंसामध्ये तीन प्रतिशत मात्रै कानुनी प्रक्रियामा जाने गरेको छ भने अन्य मिलापत्र हुने गरेको छ ।

विसं २०६८ मा स्थापित केन्द्रले घरेलु तथा यौनिक हिंसाबाट पीडितको उपचार तथा परामर्शमा गोप्य रूपमा सक्दो सहयोग गर्दै आएको छ । लैंगिक हिंसामा पर्ने अधिकांश दलित तथा न्यून वर्गीय समुदायका रहेका छन् । हिंसामा परेर घाइते तथा मानसिक असन्तुलन भएका बिरामीहरू उपचारका लागि अस्पताल आएन उनीहरूको छुट्टै व्यवस्थापन गरिने केन्द्रले जनाएको छ । हिंसा पीडितको परामर्श, उपचार र पुनःस्थापना निःशुल्क हुने गरेको छ भने आउने जाने यातयात खर्चसमेत अस्पतालले प्रदान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?