चुनावको अन्तर्घात जान्न माओवादीले बनायो समिति

अनिल क्षेत्री
Read Time = 9 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न अनुशासन विभागका संयोजकसमेत रहनुभएका टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो । छानबिन समितिको सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा रहनुभएको छ । स्थानीय चुनावमा पार्टी भित्रैबाट घात–अन्तर्घात भयो भन्ने आवाज उठेको र कतिपयले केन्द्रीय सदस्यहरूले नै निर्वाचनमा अन्तर्घात गरेको भन्ने आवाज उठेपछि छानबिन समिति गठन गरिएको जानकारी दिँदै पार्टी प्रवक्ता कृष्णबहादुर महराले भन्नुभयो, ‘पहिलो निर्णय स्थानीय निर्वाचनमा घातअन्तर्घात भयो पार्टीभित्रबाटै, जसमा केन्द्रीय सदस्यसम्मका नाम आएकाले त्यसका लागि छानबिन समिति बनेको छ ।’

स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रसहित पाँच दलीय गठबन्धन तालेमलसहित चुनाव लडेको थियो । तर, तालमेलअनुसार गठबन्धनका सदस्य दलहरूबाट अपेक्षित सहयोग नपाएको पार्टीभित्र गुनासो छ । अर्कोतिर, गठबन्धनको भागबण्डाअनुसार पार्टीको भागमा परेका स्थानीय तहमा समेत आफ्नै उम्मेदवारलाई असहयोग भएको भन्दै पार्टी केन्द्रीय कार्यालयमा उजुरी परेका छन् । कतिपय उजुरी केन्द्रीय नेताहरूमाथि नै परेका छन् । काठमाडौंमा भर्खरै सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा स्थानीय चुनावमा पार्टीभित्रैबाट अन्तर्घात भएको भन्दै कारबाहीको जोडदार आवाज उठेको थियो । बैठकमा सहभागीहरूको मागअनुसार स्थायी कमिटी बैठकले चुनावमा भएको अन्तर्घातबारे छानबिन गर्न समिति गठन गरेको हो ।

गत निर्वाचनमा मुख्य गरी मधेश प्रदेशमा अन्तर्घात भएको पार्टी केन्द्रमा रिपोर्टिङ भएको छ । मधेशमा यसअघि बलियो देखिएको माओवादी केन्द्र यसपटकको निर्वाचनमा भने कमजोर बनेको छ । केन्द्रीय समिति बैठकमा पनि मधेशका नेताहरूले अन्तर्घातका कारण पराजित हुनुपरेको रिपोर्टिङ गरेका थिए ।

भ्रातृ संगठन अखिल क्रान्तिकारीको विवाद मिलाउन समिति गठन
माओवादी केन्द्रले पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा देखिएको विवाद मिलाउनका लागि सुझाव समिति गठन गरेको छ । शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकले तीनजना पूर्व–विद्यार्थी नेताहरू सम्मिलित सुझाव समिति गठन गरेको हो । समितिमा पूर्व-विद्यार्थी नेता रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहनुभएको छ । समितिले विवाद समाधानका लागि पार्टी स्थायी समितिलाई सुझाव दिने निर्णय गरेको जानकारी दिँदै पार्टी प्रवक्ता महराले भन्नुभयो, ‘पछिल्लो समय विद्यार्थी तहमा केही असहजता पैदा भएकोले त्यसको समाधानका लागि पूर्व-विद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल तीन जनाको सुझाव समिति गठन गरिएको छ । समितिले विवाद समाधानको सुझाव स्थायी कमिटीलाई दिने र आवश्यक निर्णय भने स्थायी कमिटीले नै गर्छ ।’

नयाँ नेतृत्व चयनका क्रममा सुरु भएको अखिल क्रान्तिकारीको विवाद अहिले चरम उत्कर्षमा पुगेको छ । केन्द्रीय समितिका उपाध्यक्षसमेत रहनुभएका पवन कार्कीको नेतृत्वमा समानान्तर कमिटी गठन भएको छ । कार्की नेतृत्वको असन्तुष्ट समूहले नयाँ राष्ट्रिय सम्मेलनको समेत घोषणा गरेको छ ।

साउनदेखि सबै प्रदेशमा आगामी चुनावलक्षित प्रशिक्षण सञ्चालन गर्ने
सत्तारूढ दलको एक घटक माओवादी केन्द्रले आगामी संघ र प्रदेश निर्वाचन लक्षित सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले आगामी प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरी भेला र प्रशिक्षण गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रशिक्षण हुनेछ । साउन १८ गते गण्डकी प्रदेश, २० गते प्रदेश १ मा, २४ गते लुम्बिनी, २८ गते सुदूरपश्चिम, २९ गते कर्णालीमा, ३० गते विशेष प्रदेश, भदौ १ गते सम्पर्क समन्वय र ३ गते प्रवासको प्रशिक्षण गर्ने निर्णय भएको प्रवक्ता महराले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले आगामी चुनावलाई लक्षित गरेर प्रदेश समन्वय समिति पनि गठन गरेको छ । बैठकले प्रदेश कमिटी र केन्द्रको बीचमा समन्वय कायम गर्न प्रदेश इञ्चार्जको नेतृत्वमा प्रदेश समन्वय समिति बनाएको हो । आगामी संघ र प्रदेशको चुनावसम्म रहने गरी बनेको प्रदेश समन्वय समितिमा सबै केन्द्रीय सदस्यहरू र सबै प्रदेशका पदाधिकारी रहने प्रवक्ता महराले जानकारी दिनुभयो । प्रवक्ता महराले पार्टी पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयनमा आइरहेको समस्याको समाधान १५ दिनभित्र भइसक्ने दाबी पनि गर्नुभयो ।

गत पुसमा काठमाडौंमा माओवादी केन्द्रको महाधिवेशन भएको थियो । महाधिवेशनबाट पार्टी अध्यक्षमा पुष्पकमल दाहाल चयन भए पनि अन्य पदाधिकारी चयन हुन सकेको थिएन । महाधिवेशनले पदाधिकारीसहित, स्थायी कमिटी, पोलिट्ब्युरो गठनको जिम्मा केन्द्रीय कमिटीलाई दिएको थियो । तर, पार्टीमा आकांक्षीहरू धेरै भएकाले महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि पदाधिकारी चयन हुन सकेको छैन । माओवादी केन्द्रमा मुख्यगरी महासचिव चयनमा ठूलो विवाद छ । प्रभावशाली नेताहरू जनार्दन शर्मा र वर्षमान पुनबीच महासचिव बन्न रस्साकस्सी चलिरहेको छ । यसैकारण उपाध्यक्षसहित अन्य पदाधिकारी चयनमा पनि सकस परिरहेको छ । बिहीबार सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पार्टी पदाधिकारी टुंग्याउने जिम्मा स्थायी समितिलाई दिएको थियो । स्थायी समितिले एक साताभित्र पदाधिकारी चयन गर्ने जिम्मा पाएको छ । महाधिवेशन सम्पन्न भएको ६ महिनापछि सम्पन्न केन्द्रीय समिति बैठकले १५६ सदस्यीय पोलिट्ब्युरो र ४१ सदस्यीय स्थायी समिति गठन गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?