रितले न्युजिल्यान्डमा क्रिकेट खेल्ने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली यु-१९ क्रिकेट टोलीका पूर्वकप्तान रित गौतमले न्युजिल्यान्डमा क्रिकेट खेल्ने हुनुभएको छ । रितले न्युजिल्यान्डको प्रमुख घरेलु प्रतियोगिता खेल्नुहुने भएको हो । रितलाई न्युजिल्यान्डको गिजर सिटी क्रिकेट क्लबले आगामी ६ महिनाको सिजनका लागि टोलीमा अनुबन्ध गरेको हो । जुन न्युजिल्यान्डको प्रिमियर लेभलको क्रिकेट हो । डिभिजन वान, च्याम्पियनसिप र प्रिमियर न्युजिल्यान्डका सबैभन्दा माथिल्लास्तरका क्रिकेट प्रतियोगिताहरू हुन् ।

‘त्यहाँको गिजर टोलीले मलाई ६ महिनाका लागि अनुबन्ध गरेको हो । मैले खेल्ने न्युजिल्यान्डको प्रिमियर लेभलको प्रतियोगिता हो । यसमा न्युजिल्यान्डका स्टार खेलाडीहरू खेल्छन् । वान डे, टी-२० र दुई दिवसीय खेलहरू पनि हुन्छन् । यो मेरा लागि निकै ठूलो अवसर हो,’ रितले भन्नुभयो ।

हाल रित अभ्यास खेलका लागि दिल्लीमा प्रशिक्षणरत हुनुहुन्छ । भिसाको समस्या नभएमा रित सेप्टेम्बरको पहिलो साता न्युजिल्यान्ड जाने तयारीमा हुनुहुन्छ । राष्ट्रिय टोलीबाट खेल्ने उद्देश्यसहित रित न्युजिल्यान्ड जान लाग्नुभएको हो । बागमती प्रदेशबाट रितले घरेलु क्रिकेट खेल्ने गर्नुहुन्छ । त्यसअघि भने उहाँले दुई सिजन एपिएफ क्लबबाट खेल्नुभयो । एपिएफमा सिनियर टोलीका खेलाडीको बाहुल्यता भएका कारण उहाँले खेलमा अवसर पाउनुभएको थिएन । सोही कारण उहाँले एपिएफ छोड्दै बागमती प्रदेश रोज्नुभएको हो ।

लामो फम्र्याटको क्रिकेटका लागि रितलाई नेपाली क्रिकेटको भविष्यका रूपमा हेरिएको छ । उहाँ लामो समय मैदानमा टिकेर खेल्न सक्ने क्षमता राख्नुहुन्छ । रितले नेपालबाट यु-१६ र यु-१९ अन्तर्राष्ट्रिय खेलमा शतक प्रहार गर्नुभएको छ । युवा समूहको यी दुई फम्र्याटको क्रिकेटमा शतक प्रहार गर्ने उहाँ एक्लो क्रिकेटर हुनुहुन्छ । रितले एसिसी यु-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सिंगापुरविरुद्ध ११५ रन र २०१७ मा यु-१६ इस्टर्न रिजनमा म्यानमारविरुद्ध १०६ रनको अविजित शतकीय इनिङ्स खेल्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?