काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भएबमोजिम गठन भएको कार्यकारी समितिले पूर्णता पाएको छ । कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले समितिमा मनोनीत पदाधिकारीहरूलाई आइतबार मनोनयन पत्र हस्तान्तरण गर्नुभयो । मनोनीत हुने सदस्यहरूमा राखेपका बोर्ड तथा कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख लक्ष्मीप्रसाद भट्टराई, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव तेजबहादुर गुरुङ, प्रशासन विभागका प्रमुख मधुसुदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, खेलकुद विकास विभागका प्रमुख वज्रबहादुर केसी, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक संगमसिंह थापा, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई र खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्मा रहनुभएको छ ।
कार्यकारी समितिको सदस्य-सचिवको जिम्मेवारी प्रचारप्रसार शाखाका प्रमुख फणिन्द्र पौड्यालले पाउनुभएको छ । पौड्यालले नवौँ राष्ट्रिय खेलकुद सचिवालय प्रमुखको जिम्मेवारीसमेत पाउनुभएको हो । मनोनयन पत्र हस्तान्तरणपछि बसेको बैठकमा सदस्य-सचिव घिसिङले मनोनीत हुने पदाधिकारीलाई राष्ट्रिय पर्वका रूपमा रहेको बृहत् खेलकुदलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न एकजुट भएर अगाडि बढ्न निर्देशन दिँदै पाएको जिम्मेवारीलाई पूरा गर्न सबै कटिबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका सबै ११ जिल्लामा आयोजना गर्ने तयारी राखेपको छ । नवौँ राष्ट्रिय खेलकुदमा ६० करोड खर्च हुने अनुमान गरिएको छ । मूल समारोह समितिले नवौँ खेलकुदको तयारीका लागि प्रशिक्षण सुरु गर्न सबै खेल संघलाई निर्देशन दिइसकेको छ । विभागीय टोलीलाई तयारीका लागि नौ लाख रुपैयाँ र अन्य टोलीलाई तयारीका लागि ४९ लाख रुपैयाँ छुट्याइएको राखेपले जनाएको छ । खेलाडीलाई दैनिक दुई हजार भत्ता दिने निर्णयसमेत गरिएको छ ।
नवौँ राष्ट्रिय खेलकुदमा विभिन्न ३६ खेलमा ११ टिम सहभागी हुनेछन् । नवौँ खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनको टोलीले भाग लिनेछन् । नवौँ राष्ट्रिय खेलकुदमा एनआरएनएको टोलीले १२ व्यक्तिगत र ६ टिम गरी १८ खेलमा भाग लिनेछ । राखेपले नवौँ खेलकुदका लागि खेलाडी छनोटको जिम्मा प्रदेशलाई नै दिएको छ । नवौँ राष्ट्रिय खेलकुदमा एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, कबड्डी, भारोत्तोलन, सुटिङ, जिम्नास्टिक, पौडी, हृयान्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराँते, फुल कन्ट्याक्ट कराँते, आइटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाइडिङ, रग्बी सेभेन ए साइड, छेलो (प्रदर्शनी), क्यानोइङ (प्रदर्शनी) खेलहरू खेलाइनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच