वैकल्पिक राजनीतिक शक्तिको उदय र वैचारिक बहस

Read Time = 13 mins

गत भएको आमनिर्वाचनको मतपरिणाम त्यति राम्रो आएन । राजनीतिक दलहरूको अपेक्षाभन्दा फरक मतपरिणाम आउनाले राजनीतिक अस्थिरता निम्तिएको छ । यो देशका लागि ठूलो दुर्भाग्य हो । सत्ता गठबन्धन मुलुक बर्बाद गर्न लागिपरिरहेका छन् । मिलिजुली खाने र देशलाई थोत्रो बनाउने कामबाहेक गठबन्धनले अरू के गरेको छ ? देश पूरै आर्थिक संकटमा परिरहेको छ । गठबन्धन सरकारलाई मुलुकप्रति कुनै चिन्ता छैन । यदि मुलुकप्रति कुनै चिन्ता भएको भए के यो देश यही अवस्थामा रहिरहन्थ्यो ? कुनै पनि एक दलले दुई तिहाइ बहुमत ल्याउन नसकेर यो हविगत भएको हो ।

यता नेकपा एमाले पनि सत्तामा जान नपाएर छट्पटाएको छ । यो आखिर किन भइरहेको छ ? कारण के हो भने सत्तादेखि बाहिर बस्नु भनेको दलहरूका लागि पानीविनाको माछो जस्तो हुनु हो । पहिला सत्तामा बसेर लुटेको झल्झल्ती सम्झिरहन्छन् नेताहरू । लुट्न पल्केकाहरूलाई छट्पटी हुनु स्वाभाविक हो । कुनै पनि दलले देश बनाउन सकेनन् । जनमत आफ्नो पक्षमा पार्न जस्तोसुकै पाप गर्न पनि दलहरू तयार भए । तर, सरकारमा पुगेपछि सबै कुरा बिर्सेर बसेका छन् । यस्तो पनि राजनीति हुन्छ ? राजनीतिका कुरा गर्दा अहिले घिनलागेर आउँछ । राजनीति फोहोरी खेलमा परिणत भयो । यो सफा नगरेसम्म नयाँ पुस्ता राजनीतिमा आर्कषित हुने अवस्था न्यून देखिन्छ ।

गत निर्वाचनले सबैभन्दा बढी अस्तित्वको संकटतर्फ धकेलेको माओवादी केन्द्र, जसपा, लोसपा र एकीकृत समाजवादीलाई हो । सत्ताको आडमा शक्ति आर्जन गर्न खोज्दा उनीहरू जनताबाट धेरै टाढा पुगिसकेको निर्वाचनको परिणामले पनि देखाउँछ ।

युवा शक्ति विदेश पलायनको लहर चलिरहेको छ र अझै चलिरहने छ । निर्वाचनका बेला एमालेले पनि ठूलाठूला कुरा गरेको थियो तर परिणाम उसले सोचेजस्तो आएन । न त सत्ता गठबन्धनले सोचेजस्तो आयो । जनतालाई नयाँ पुस्ताको नयाँ दलमाथि विश्वास बढिरहेको देखिन्छ । गत आमनिर्वाचन मतपरिणामले मुलुकमा राजनीतिक अस्थिरता बोकेर आयो । किनभने कुनै दलको स्पष्ट बहुमत नआएपछि कुनै पनि बेला सत्ता बन्ने र ढल्ने खेल सुरु हुन्छ । त्यस्ता गतिविधिले राजनीतिमा अस्थिरता निम्त्याउँछ । देशमा राजनीतिक अस्थिरता भयो भने विकासको गति रोकिन्छ । अहिलेसम्म हाम्रो देशमा यस्तै भइरहेको छ ।

परिवर्तनपछि जनताले देशको मुहार फेरिन्छ भन्ने सोचेका थिए तर पूरै त्यसो हुन सकेन । त्यसकारण जनतामा वितृष्णा बढेको छ । लोकतन्त्रमा जनमतको सबैले कदर र सम्मान गर्नुपर्छ । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो । गएको आमनिर्वाचनको मुख्य सन्देश पनि यही हो । यसले यथास्थितिप्रतिको असन्तोष पोखेको छ । लोकतन्त्रमा निर्विकल्प कोही छैन भन्ने सन्देश गत निर्वाचनले दिएको छ । वैकल्पिक राजनीतिक शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको छ । यद्यपि यो पुराना राजनीतिक दल र नेतृत्वका लागि सुधारको जबर्जस्त दबाब हो । जनमत पार्टी संघीय संसद्मा एक सिटमा मात्र उपस्थित छ ।

यद्यपि जनमतको हिसाबले तराई मधेसको वैकल्पिक शक्तिको रूपमा विकास हुने सम्भावना प्रबल छ । गत निर्वाचनले सबैभन्दा बढी अस्तित्वको संकटतर्फ धकेलेको माओवादी केन्द्र, जसपा, लोसपा र एकीकृत समाजवादीलाई हो । सत्ताको आडमा शक्ति आर्जन गर्न खोज्दा उनीहरू जनताबाट धेरै टाढा पुगिसकेको निर्वाचनको परिणामले पनि देखाउँछ । विगतको समीक्षा गदै पार्टी पुनर्गठन र एकताको निम्ति अग्रसर नहुने हो भने यी पार्टीहरूको भविष्य संकटमा पर्ने निश्चित छ । यस सन्दर्भमा एकीकृत समाजवादीले तत्काल एमालेसँग एकताको बाटोमा लाग्नु नै राम्रो देखिन्छ ।

माओवादीले पनि एकताका लागि गम्भीर भएर सोच्नुपर्छ । यस्तै जसपा र लोसपा पनि मिल्नुपर्छ । गत निर्वाचनले संसद्मा कुनै दललाई बहुमत दिएन । दुई ठूला दलबाहेक अरू कुनै दुईवटा दल मिलेर सरकार बनाउन सक्ने अवस्थासमेत बनेन । यसले मुलुकलाई अघिल्लो पटकभन्दा पनि बढी अस्थिरतातर्फ धकेल्ने संकेत देखाउँछ । अहिलेको परिदृश्य हेर्दा पाँच वर्षभित्र सरकार बनाउने र ढाल्ने खेलमै बढी समय व्यतीत हुने अवस्था छ । यसले प्रणालीप्रति जनविश्वास घट्दै जानेछ । राष्ट्रिय हित र लोकतन्त्रका निम्ति यो राम्रो संकेत होइन । मुलुकलाई स्थिरता, सुशासन र समृद्धिको यात्रामा हिँडाउने जिम्मेवारी राजनीतिक दलको हो । लोकतन्त्रलाई बलियो बनाउन दलहरू गम्भीर बन्नुपर्छ ।

विद्यमान चुनौतीको सामना गर्न लोकतन्त्रवादी शक्तिबीच बलियो सहकार्य हुन आवश्यक छ । यी लोकतन्त्रवादी राजनीतिक शक्तिहरूले न्यूनतम समझदारी नदेखाउने हो भने फेरि बाहृय शक्तिको चलखेल बढ्ने निश्चित छ । त्यसको संकेत देखिइसकेको छ । यदि लोकतन्त्रवादी राजनीतिक शक्तिहरू गम्भीर नबन्ने हो भने जनताको ठूलो बलिदानबाट प्राप्त उपलब्धि गुम्ने, लोकतन्त्र नै खतरामा पर्ने र मुलुक अकल्पनीय संकटमा धकेलिने स्थिति आउन सक्छ । गएकोे निर्वाचन मतपरिणाम हेर्दा नेपाली जनताले परिवर्तन चाहेको देखियो । व्यवस्था परिवर्तन भएको धेरै वर्ष भइसक्यो तर जनताको अवस्थामा परिवर्तन आउन नसक्दा जनताले परिवर्तन खोजेका हुन् ।

राजनीतिक दलहरू सरकारमा पटक-पटक गए तर जनताको मर्म बुझ्ने खालको कुनै काम हुनसकेन । त्यसो भएर पनि जनता असन्तुष्ट छन् । देशमा सुशासन कायम हुन नसके विकासको गति अगाडि बढ्न सक्दैन । २०७४ सालको आमनिर्वाचनमा नेपाली जनताले कम्युनिष्टलाई बहुमत दिए तर कम्युनिष्टले सहज बहुमत भएर पनि राज्यसत्ता चलाउन सकेनन् । सत्ता स्वार्थको राजनीतिलाई लिएर कम्युनिष्ट पार्टीका नेताहरूबीच विवाद चुलिँदै गएपछि अन्ततः एक ठाउँ रहन सकेनन् । माधव नेपालले पार्टी नै फुटाए ।

राजनीतिक दलबाट वाक्कदिक्क भएका नागरिकले मतदानमार्फत असन्तुष्टि पोखे । गएको निर्वाचनमार्फत केही नयाँ उम्मेदवार संसद्‌मा प्रवेश गरेका छन् र संसद्भित्र जनताका आवाज बुलन्द पनि गरिरहेका छन् तैपनि अहिलेसम्म मुलुकले राजनेता र दर्बिलो नेतृत्व पाउन सकेको छैन ।

आज कम्युनिष्टहरू अलग-अलग हुँदा धेरै कमजोर देखिएका छन् । कम्युनिष्ट पार्टीका नेताहरू पदका लागि फुट्छन् । यो कुरा इतिहासले प्रष्ट पार्दै आएको छ । कम्युनिष्टहरू पटक-पटक सरकारमा गए जनताको पक्षमा के काम गरेर देखाए ? यी कुरा जनताले बुझिरहेका छन् । जुन सुकै पार्टी पनि लोकप्रिय हुन जनहितका लागि काम गरेको हुनुपर्छ । जनहितमा काम नगर्ने पार्टी आफैं सकिन्छन् । देशमा युवाहरू रोजगारीको अवसर नपाएर विदेशिन बाध्य छन् । देशमा भएका राजनीतिक दल र तिनका नेताहरूप्रति जनताको वितृष्णा छ । त्यसैले स्थानीय तहको निर्वाचनमा बालेन र हर्कहरूको उदय भयो । गत निर्वाचनमा नयाँ दलहरूको उदय भएको छ ।

राजनीतिक दलबाट वाक्कदिक्क भएका नागरिकले मतदानमार्फत असन्तुष्टि पोखे । गएको निर्वाचनमार्फत केही नयाँ उम्मेदवार संसद्मा प्रवेश गरेका छन् र संसद्भित्र जनताका आवाज बुलन्द पनि गरिरहेका छन् । अहिलेसम्म मुलुकले राजनेता र दर्बिलो नेतृत्व पाउन सकेको छैन । त्यसो भएर पनि देशमा समस्या आएको हो । तीन दशकदेखि राजनीतिमा रहेका तिनै पुराना नेताहरू फेरि दोहोरिएर आएका छन् । अब जनताले उनीहरूबाट के आस गर्ने ? देशको विकास र सुशासन दिन नसकेको नेतृत्व नै फेरि दोहोरिएर आउनुभनेको देशका लागि दुर्भाग्य हो । हामीले कस्तो देश बनाउन चाहेको हो ?

अब सोच्नुपर्ने बेला भएको छ । कुरा गरेरमात्र हुँदैन, जनता परिणाम खोजिरहेका छन् । नेताका भाषणमा जनताको कुनै विश्वास छैन । अहिलेको यो अवस्थामा जनता आफैं सचेत छन् । अहिलेको सत्तागठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दल सबै मिल्दा पनि सुविधाजनक बहुमत ल्याउन सकेनन् । यद्यपि, उनीहरूले निर्वाचनमा होमिँदा सत्तागठबन्धनको दुई तिहाइ आउने दाबी गरेका थिए तर जनताले उनीहरूको दाबीलाई भने पूर्णरूपमा अस्वीकार गरेर देखाइदिए । पाँचवटा राजनीतिक दल मिलेर निर्वाचनमा जाँदा पनि बहुमत ल्याउन नसक्नु भनेको उनीहरू पूर्णरूपमा असफल हुनु नै हो ।

अझै राजनीतिक दल सुध्रिने अवस्थामा देखिँदैनन् । उनीहरू सुध्रिनै चाहँदैनन् । एकले अर्कालाई सिध्याउने खेलमा दल छन् जुन निकै घातक हो । यसले कसैलाई पनि फाइदा गर्दैन । राजनीति समाजसेवाभन्दा पनि व्यापार व्यवसाय जस्तै हुन पुगेको छ । उनीहरूलाई जनताका गुनासा तथा समस्या सम्बोधन गर्न कुनै ध्यान नै पुगेको देखिँदैन । दलहरूले आफ्नो स्वार्थबाहेक अरू केही हेरेनन् । जसले गर्दा देश अघि बढ्न सकेन । विचार मिल्ने दलहरू एक ठाउँमा उभिनुपर्ने अवस्था देखियो । राजनीतिक ध्रुवीकरण अब ढिलो चाँडो हुन्छ हुन्छ । वैकल्पिक राजनीतिक शक्तिको उदय अबको आवश्यकता हो र यसमा घनीभूत रूपमा वैचारिक बहस चलाउनुपर्ने जरुरी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?