पुनःस्थापना हुन नसकेको मुक्त कमैयाको पीडा

हिमालय टाइम्स
Read Time = 6 mins

-दीपककुमार शर्मा

बर्दिया । बर्दियाकी चमारी थारू कलकलाउँलो उमेरदेखि वृद्धा हुँदासमेत साहुको घरमा कमैया बसिरहनु भएको छ । उमेरले अहिले उहाँ ६ दशक पार गरिसक्नु भएको छ । अझै पनि दैनिक मजदुरीमै उहाँको जीवनयापन चलिरहेको छ । दाङ, बाँके, कैलाली, कञ्चनपुर र बर्दिया जिल्लामा जमिनदारको घरमा पुस्ताँैदेखि कमैयाको रूपमा रहेका कमैयाहरूलाई सरकारले हचुवाका भरमा जमिनदारबाट मुक्त त गरायो तर त्यसपछिको व्यवस्थापन कसरी गर्ने भनेर योजना नबनाउँदा वर्तमान अवस्थामा मुक्त कमैया व्यवस्थापनको टुंगो लाग्न सकिरहेको छैन ।

केही वर्ष अघिसम्म साउन २ गते धुमधामका साथ मुक्त कमैया दिवस मनाइने गरे पनि केही वर्षदेखि मुक्त कमैया दिवस मनाउनु त के मुक्त कमैयाको अवस्था के छ ? भन्ने विषयमा कसैलाई चासो नभएको मधुवन नगरपालिका–८ का मुक्त कमैया आशाराम थारू बताउनुहुन्छ । उहाँका अनुसार सरकारले एकतर्र्फी निर्णय गर्दा अहिले आफूहरू बेरोजगार भएर बस्नु परेको छ ।

मुक्त कमैयाका पीडा केलाउँदै जाने हो भने पहाड बन्न सक्छ तर पीडा सुनाएर मात्रै आफूहरूको दैनिकी नचल्ने उनीहरूको गुनासो छ । उनीहरू भन्छन्– अहिले आफूहरूको सबैभन्दा ठूलो समस्या भनेको रोजगारी हो । रोजगारीका लागि जाँदा पनि पहुँच भएकाहरूले पहिलो प्राथमिकता पाउँदा आफूहरू थप पीडामा परेको उहाँ बताउनुहुन्छ ।

स्थानीय तहले पनि कुनै चासो नदिएको हुँदा निकै मिहिनेत गरेर पढे पनि त्यसको सदुपयोग हुन नपाएको थारू बताउनुहुन्छ । बर्दियामा अझै पनि करिब ७० जना मुक्त कमैयाको पुनःस्थापना हुन बाँकी रहेको छ । १६ हजार २६२ कमैयामध्ये ११ हजार ८७५ मुक्त कमैयाले घर बनाउन जग्गा पाएका थिए भने बाँकी चार हजार ३३७ जनाले घर बनाउनका लागि रकम पाएका थिए । पुनःस्थापना हुन बाँकी रहेकाहरूको अवस्था दयनीय रहेको छ ।

२०५७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मध्यपश्चिम तथा सुदूर पश्चिमका केही जिल्लामा रहेका कमैयाहरूलाई जमिनदारबाट मुक्त गराउनुभएको थियो । आज संयोगले पनि नेपाली कांग्रेसले नै सत्ताको बागडोर समालिरहेको बेला करिब २२ वर्षपछि पूर्व–कमैयाहरूमा भने उत्साह देखिएको छैन । चमारी थारू उमेरले ६ दशक पार गरिसके पनि सरकारले उपलब्ध गराएको एक कठ्ठा जमिनमा सानो कटेरो बनाएर बसिरहनु भएको छ भने दैनिकी गुजाराका लागि मजदुरी गर्न बाध्य हुनुभएको छ । थारूका छोरा पनि दैनिक मजदुरी गरेर जीवनयापन गरिरहनु भएको छ । सरकारले जमिनदारबाट कमैयाहरूलाई मुक्त गरेपछि मुक्त कमैयाको व्यवस्थापनका लागि भनेर घर निर्माणका लागि काठ तथा बजार वस्तीमा १० धुरदेखि एक कठ्ठा र गाँउमा पाँच कठ्ठासम्म जमिन दिएको छ । तर, त्यसको सही व्यवस्थापन हुन नसक्दा २०५२ सालमा मुक्त भएका कमैयाहरू पुनः कमैया बस्न बाध्य भएका थिए भने कति कमैया अझै पनि वास्तविक कमैया भए पनि कमैयाको परिचय पत्र पाउन सकेका छैनन् ।

मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाउन सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायहरूलाई निर्देशन दिनुभएको छ । सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कमैया मुक्त घोषणा गरिएको २२ वर्षको उपलक्ष्यमा बौल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

उहाँले मुक्त कमैया, हरुवाचरुवा, हलिया, भूमिहीन सुकुम्बासीको पहिचान गरी बसोवासको लागि घरघडेरी, तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन, बेरोजगारीको अवस्था हुन नदिन गठित कार्यदलले भनेका कुरालाई ध्यानमा राखेर मन्त्रालयले आवश्यक कदम चाल्न पनि निर्देशन दिनुभयो ।

उहाँले कुप्रचारको निर्मूल गर्न जरुरी भएकाले आवश्यक काम कारबाहीको लागि सम्बन्धित सबैलाई ध्यानाकर्षण गराउनुभयो । प्रधानमन्त्री देउवाले हरुवाचरुवा, लगायतका कमैया श्रमिकको रोजगारको अवस्था सिर्जना गरी आयआर्जन बढाउने कुरामा सुधार गर्ने गरी दिगो सामाजिक, आर्थिक उन्नतिका लागि सीप र क्षमता विकास गर्दै उद्यमशील बनाउन आवश्यक रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?