पसिनाले भिजेका किसान, पानी नपर्दा खेत बाँझै

हिमालय टाइम्स
Read Time = 8 mins

-विवेक खड्का

दाङ । दाङको दंगीशरण गाउँपालिका–३ का टोपाराम चौधरीका आँखा घरी आकाश, घरी रोप्न बाँकी खेतका गराहरूमा पर्छन् । उज्यालो आकाश, चिराचिरा परेका गह्राले उहाँको मन खिन्न छ । रातभर टहटह जुन लागिरहेको छ । ‘भ्यागुता कराउन थालेका छैनन् । गाउँलेहरूले भन्ने गरेका छन्, ‘इन्द्र रिसाएर हो कि पानी परेको छैन,’ टोपाराम चौधरीले भन्नुभयो । दंगीशरण पालिकाभरि कम्तीमा पनि ५० प्रतिशत खेतमा रोपाइँ हुन सकेको छैन । आकाशे झरी नलाग्दै खेलमा कुला चल्दैनन् । जसोतसो गाउँमा राखिएको लिफ्ट सिँचाइले सबै खेतलाई पानी पर्याप्त छैन ।

यो दुर्दशा दाङका सबै किसानहरूको हो । विगतका वर्षजस्तै समयमा पानी परेको भए अहिलेसम्म जिल्लामा धान रोपेर सकिन्थ्यो, केही ठाउँमा बाँकी रहन्थ्यो होला तर यस वर्ष पानी राम्ररी नपर्दा सिँचाइ हुनेबाहेक अन्य ठाउँमा किसानले अझै धान रोप्न पाएका छैनन् ।

धान रोप्ने समय भइसक्दा पनि पानी नपरेपछि कतिपय ठाउँमा ब्याड सुक्न थालेको छ भने केही ठाउँमा रोपेको धान जाग्नुपर्नेमा पानी नहुँदा सुक्न थालेको छ । धानखेतीका लागि रासायनिक मल नपाएका किसानहरू रोपाइँका लागि वर्षातसमेत नहुँदा चिन्तामा परेका छन् । असार सकिँदासमेत खेतीका लागि पानी नपर्दा कुलामा समेत पानी नआएपछि रोपाइँका लागि राखेको ब्याड नै सुक्न थालेको घोराही–१६ निवासी सरिता चौधरीले बताउनुभयो ।

‘रोपाइँका लागि राखेको बिउ महिना दिन बढी भइसक्यो, अहिले त पानी नपर्दा ब्याड नै सुक्न थालिसकेको छ,’ उहाँले भन्नुभयो, ‘पहिले राखेको ब्याड सुक्न थालेपछि फेरि नयाँ ब्याड राखेका छौँ ।’ गाउँमा वर्षे खेती गर्न आवश्यक पर्ने सिँचाइका लागि खोलाको पानी कुलोबाट खेतसम्म ल्याउने गरिन्छ तर यस वर्ष खोलाकै मुहान सानो भएकाले कुलामा समेत पानी नभएको चौधरीले बताउनुभयो ।

साउन लाग्दासमेत पानीको अभाव भएपछि उहाँमात्र होइन, सिँचाइको सुविधा नहुने जिल्लाका अधिकांश किसान चिन्तित छन् । ‘धानको बिउ अब छिप्पियो, २०–२५ दिनमा बिउ रोपिसक्नुपर्ने हो तर बिउ राखेको ३० दिन नाघिसक्यो,’ दाङ शान्तिनगर गाउँपालिका–१ निवासी किसान हरि घर्ती मगरले भन्नुभयो, ‘ठूलो पानी नपर्दा कुलोमा पानी छैन, खेत बाँझै छ ।’

घर्तीले खेतसम्म सिँचाइ कुलो पुगेको भए पनि मुहानमै पानी नभएपछि कुलामा पानी नआएको बताउनुभयो । उनीहरूमात्रै होइन, वर्षे खेतीका लागि राम्रो पानी नपर्दा धेरै किसानले तयार भएको ब्याडसमेत रोप्न पाएका छैनन् । सिँचाइको व्यवस्था भएको ठाउँमा किसानले धान रोपे पनि जिल्लाका अधिकांश ठाउँका किसानले असार सकिँदासम्म पनि धान रोप्न पाएका छैनन् ।

स्थानीय सरकारले कृषि क्षेत्रलाई जोड दिने र कृषिको विकासका लागि लाग्ने भनेर भूउपयोग नीति ल्याउने भने पनि भएका जमिनहरू सिँचाइ सुविधा नहुँदा बाँझै छन् । जिल्लामा करिब ३९ हजार हेक्टरमा धानखेती हुँदै आए पनि पर्याप्त सिँचाइ सुविधा भने छैन । असार महिना सकियो तर खेतीपातीका लागि आकाशबाट खेतलाई पुग्ने पानी पर्न सकेको छैन । खेतमा रोप्नलाई ठिक्क भएका धानका ब्याड पानी नपाएर पहेँलै हुन थालिसकेको किसानहरू बताउँछन् । कतै ब्याड सुक्न थालिसक्यो भने कतै खेत सुकेर चिराचिरा परेका छन् ।

किसानका आँखा भने आकाशतिरै छन् । पानी पर्छ कि भन्ने आशामा बसिरहेका छन् । आकाशे पानीको भरमा खेती गर्नुुपर्ने किसानहरू आकाशतिर हेरेर बस्नुपर्ने बाध्यता छ । तुलसीपुर उपमहानगरपालिका–१२ का किसान सुन्दरकुमार चौधरी आकाशे पानीलाई पर्खेर बसेको बताउनुहुन्छ । ‘न पानी आउँछ न रासायनिक मल, यसपालि खेती लाग्दैन कि भन्ने चिन्ता छ,’ किसान लोकराज वलीले भन्नुभयो ।

४५ प्रतिशत खेत बाँझै

जिल्लामा सिँचाइको राम्रो व्यवस्था नहुँदा र खेती अनुकूल वर्षा नहुँदा असार महिना सकिँदासमेत ४५ प्रतिशत खेत बाँझै रहेको छ । सिँचाइको सुविधा भएको देउखुरी उपत्यकासँगै डिपबोरिङको सुविधा भएका दाङ उपत्यकाभित्रका केही ठाउँमा रोपाइँ भए पनि अधिकांश ठाउँमा रोपाइ हुन सकेको छैन ।

देउखुरी उपत्यकामा लमही नगरपालिकासहित राप्ती, गढवा, राजपुर गाउँपालिकामा भने अधिकांश ठाउँमा रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्र दाङले जानकारी दिएको छ । देउखुरीमा रोपाइँ भए पनि दाङ उपत्यकमा भने अझै ४५ प्रतिशत खेतमा धान रोपाइँ हुन नसकेको कृषि ज्ञानकेन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो । रोप्नका लागि धानको बिउ तयार भए पनि पानीको अभावले धान रोप्न नसकेको लामिछानेले बताउनुभयो ।

घोराही र तुलसीपुर उपहानगरपालिकासहित बबई, शान्तिनगर, दंगीशरण र बंगलाचुली गाउँपालिकामा अधिकांश खेतहरूमा बाँझै रहेका छन् । असार सकिँदा पनि जिल्लामा करिब ५५ प्रतिशतमात्र धान रोपाइँ सकिएको कार्यालयले जनाएको छ । यो तथ्यांक गत वर्षको तुलनामा ३० प्रतिशत कमी हो । गत आर्थिक वर्षमा जिल्लामा असारसम्म ८५ प्रतिशत रोपाइँ सकिएको थियो । यसरी असार सकिँदासमेत कृषकहरू धान रोप्न नपाउँदा उत्पादनमा कमी आउन सक्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?