अर्थमन्त्रीमाथि छानबिनका लागि सभामुखसँग थप समय माग्ने संसदीय समितिको निर्णय

Read Time = 3 mins

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले तोकिएको समयमा काम नसक्ने भएपछि थप समय माग्ने भएको छ ।

समितिको आज बसेको बैठकले समय अपुग भएको भन्दै ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको स्रोतले बतायो ।

सभामुख अग्नी सापकोटाले संसदीय समितिलाई छानबिनका लागि १० दिनको समय दिनुभएको थियो । उक्त समयसीमाको आज आठौं दिन हो ।

अझै केही व्यक्तिहरुको बयान लिन बाँकी नै रहेको छ भने सीसीटीभीको हार्ड डिक्स परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको छ ।
समितिले आज अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत दुई पत्रकारसँग सोधपुछ गरेको छ । सिंहदरबारमा भएको बैठकमा पत्रकारद्धयलाई बोलाएर समितिले सोधपुछ गरेको थियो ।

अन्नपूर्ण दैनिकमा कार्यरत पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापासँग समितिले कुराकानी गरेको थियो । समितिको समाचार लेखनको विश्वसनियता माथिको प्रश्नमा दुवै पत्रकारले आफूहरु समाचारको विश्वसनीयतामा निर्धक्क रहेको बताउनु भएको थियो । तर, उहाँहरुले समाचारको स्रोत भने खोल्न नमिल्ने जवाफ दिनुभएको स्रोतको दाबी छ ।

यसै अन्य आवश्यक व्यक्तिहरुलाई पनि छानबिनका लागि बयान लिने समितिको कार्यतालिका छ । यसैबीच समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बोलाएको छ ।

बयान सकेर फरेन्सिक ल्याबबाट सीसीटिभी रिकभर भएपश्चात मात्रै समिति निस्कर्षमा पुग्न सम्भव हुन्छ । त्यसका लागि थप केही दिन लाग्ने भएपछि समितिले सभामुखसमक्ष आग्रह गर्ने निर्णय गरेको हो ।

असार २२ गते प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग बमोजिम प्रतिनिधि सभाका सांसदहरू सम्मिलित विशेष छानबिन समिति गठन भएको थियो । समितिमा ११ जना सांसद रहेका छन् ।

शिर्मामाथि चालू आर्थिक वर्षको बजेट बनाउने क्रममा जेठ १४ गते मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दरहरू हेरफेर गरेको आरोप लागेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?