दैनिकजसो हराउँछन् दाङमा महिला तथा बालबालिका, तीन वर्षमा ८ सय बढी महिला हराए

Read Time = 7 mins

-विवेक खड्का
दाङ । गत असार २८ गते मंगलबारका दिन तुलसीपुरकी कल्पना कँडेल कार्की माइती घर धादिङको मलेखुबाट घर फर्कने क्रममा बेपत्ता हुनुभयो । तुलसीपुर–८ कृष्ण मन्दिर निवासी २५ वर्षिय कल्पना केही दिन अघिमात्रै माइत जानुभएको थियो । घरमा तीन वर्षको छोरोलाई छोडेर घरपरिवारकै सल्लाहमा गएकी कल्पना माइतबाट फर्किने क्रममा हराएपछि अहिले परिवारले खोजीका लागि ईलाका प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका छन् ।

कल्पनाका श्रीमान मनबहादुर कार्की चार वर्ष अघिदेखि वैदेशिक रोजगारीमा हुनुहुन्छ । घरमा सासू–ससुरासँग बसिरहेकी कल्पनाले सानो नाबालक छोरालाई घरमै छोडेर बेपत्ता भएपछि परिवार चिन्तामा छ । कल्पनाले घरबाट नागरिकता बाहेक अरू कुनै सामान लग्नुभएको छैन । उहाँसँग भएको मोबाइल पनि माइतीमा छोडेको आफन्त शेरबहादुर पठाइले बताउनुभयो । ‘सासू–ससुरा चिन्तामा हुनुहुन्छ’ उहाँले भन्नुभयो ‘सानो नाबालक छोरोलाई छोडेर आमा बेपत्ता भएपछि अहिले खोजीका लागि पहल गरिरहेका छौँ ।’

गत २०७७ मंसिर २५ गते तुलसीपुरकै मिना बुढाथोकी बेपत्ता हुनुभयो । तुलसीपुर–१७ मानपुर निवासी बुढाथोकी मंसिर २५ गते दिउँसो घरबाटै वेपत्ता हुनुभएको थियो । श्रीमती परिवारको सम्पर्कबाट टाढा भएपछि श्रीमान श्रीधर बुढाथोकी खोजीका लागि प्रहरीमा निवेदन दिनुभयो । यी दुई प्रतिनिधिमूलक घटनामात्रै हुन् । पछिल्लो समय प्रहरीमा महिला तथा बालबालिका हराएको निवेदन दैनिकजसो पर्ने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांक अनुसार तीन वर्षको अवधिमा दाङमा ८ सय बढी महिला हराएका छन् । आव ०७६/०७७ देखि बितेको आर्थिक वर्षसम्ममा जिल्लामा ८ सय ५४ महिला हराएको देखिएको छ । प्रहरीको तथ्यांक अनुसार जिल्लामा सबैभन्दा बढी महिला हराउने गरेका छन् । तीन वर्षमा हराएमध्ये ६ सय ३७ जना सम्पर्कमा आएका छन् भने १३७ जना अझै सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ ।

तथ्यांकअनुसार हराउने महिलाको संख्या बर्सेनि बढ्दै गएको छ । आव ०७६/०७७ मा २ सयजना, आव ०७७/०७८ मा ३ सय १ जना र आव ०७८/०७९ मा ३ सय ५३ जना महिला हराएको निवेदन दाङ प्रहरीमा परेको छ । महिला हराएको तथ्यांक डरलाग्दो देखिएपनि अधिकांश महिला दोस्रो विहे गरेर जाने गरेको देखिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले बताउनुभयो । ‘महिला हराएको जानकारी प्रहरीमा आउँछ, हामीहरू पनि उहाँहरूको खोजीमा लाग्छौँ, अन्तिममा दोस्रो विहे गरेर गएको जानकारी प्रहरीमा आउँछ, कहिले हामी आफै पत्ता लगाउँछौँ ।’

प्रवक्ता रिजालले सबै महिलालाई दोस्रो विहे गरेर जाँदा हराएको भन्न पनि नमिल्ने बताउनुभयो । ‘कतिपय अरू कारणले बेपत्ता हुनुभएको हुन्छ । तर अधिकांश घटना दोस्रो विहे गरेर गएको देखिन्छ ।’ कतिपय जानकारी नआउँदा नभेटिएको तथ्यांकमा आउने प्रहरीले दाबी गरेको छ । श्रीमान वैदेशिक रोजगारीमा गएको अवस्थामा श्रीमती परपुरूषसँग दोस्रो विवाह गरेर जाँदा महिला हराउनेको संख्या बढ्दै गएको प्रवक्ता रिजालले बताउनुभयो ।

प्रहरीको तथ्यांकअनुसार महिलापछि सबैभन्दा बढी हराउनेमा बालबालिका र ज्येष्ठ नागरिक रहेका छन् । कानुनले २० वर्षमुनिका विहेलाई अपराध मानेपनि हराएर जानेमा २० वर्षमुनिका किशोरी रहेको र अधिकांश विहे गरेर गएको देखिने गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीको तथ्यांकअनुसार तीन वर्षको अवधिमा ३ सय ५५ बालिका हराएका छन् भने हराएका बालिकामध्ये ३२९ बालिका भेटिएका छन् । जिल्लामा २६ जना बालिका अझैपनि सम्पर्कबिहीन रहेको देखिएको छ । तीन वर्षको तथ्यांकलाई हेर्दा बालिका पनि बर्सेनि हराउने क्रम बढ्दो रहेको छ ।

आव ०७६/०७७ मा ९० जना बालिका हराएकोमा आव ०७७/०७८ मा १ सय ७ र आव ०७८/०७९ मा १ सय ५८ जना बालिका हराएका छन् । बढ्दो सूचना प्रविधिको प्रयोगक अर्थात् मोबाइल फोन, सामाजिक सञ्जाललगायतबाट चिनजान भएको युवाहरूसँग परिवारलाई जानकारी नै नदिई घर छाडेर विवाह गर्दा बालिकाको संख्या हराएको सूचीमा पर्ने गरेको डिएसपी रिजाले बताउनुभयो ।

यस्तै तीन वर्षको अवधिमा १ सय ८२ बालक हराएका छन् भने १ सय ६६ बालक भेटिएका छन् । १६ बालक अझै पनि सम्पर्कमा आएका छैनन् । आव ०७६/०७७ मा ६० जना बालक हराएकोमा आव ०७७/०७८ मा ३९ जना हराएका थिए । बितेको आर्थिक वर्षमा फेरि ८३ जना बालक हराएको देखिएको छ । पारिवारिक अवस्थाका कारण धेरै बालकले घर छोड्ने गरेका छन् ।

अभिभावकको निगरानी बढ्न नसक्नु, अभिभावकबिहीन बालक लगायतले बालकले घर छोड्ने गरेको प्रहरीले जनाएको छ । जिल्लामा १६ जना बालक अझै सम्पर्कबिहीन रहेका छन् । परिवारहरू बसाइँ सरेर जाँदा जिल्लामा खोजीका लागि केही समस्या हुने गरेको प्रहरी प्रवक्ता रिजालले बताउनुभयो । प्रहरीका अनुसार तीन वर्षको अवधिमा २३ जना ज्येष्ठ नागरिक पनि हराएका छन् भने २० जना फेला परेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?