विपद्का घटनामा एक वर्षमा दाङमा आठजनाको मृत्यु, दुई सय बढी घरपरिवार प्रभावित

हिमालय टाइम्स
Read Time = 5 mins

-विवेक खड्का

दाङ । सामान्यतः जेठ ३० गते अर्थात् जुन १३ देखि नेपालमा मनसुन सुरु हुन्छ भन्ने मान्यता छ । यद्यपि साउनको मध्यसाता भइसक्दा पनि मनसुन अझै सक्रिय भएको छैन । तर, अत्यधिक वर्षाले सिर्जना गर्ने विपद् व्यवस्थापनको तयारी नहुँदा यसले ल्याउने जोखिम पनि उत्तिकै छ । यो अवधिमा बाढी, पहिरो तथा अन्य जलजन्य विपद्का घटना हुने र ठूलोमात्रामा जनधनको क्षति हुने गर्छ ।

यस वर्ष अन्य वर्षको तुलनामा अत्यधिक वर्षाको पूर्वानुमान विज्ञहरूले गरेका छन् । यो स्थितिमा वर्षाजन्य विपद्् झन् बढ्न सक्ने देखिएको छ । मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण, विपद् पश्यातको अवधिमा प्रतिकार्य तथा पुनस्र्थापनालगायत कामका लागि संघ, प्रदेश र स्थानीय तहलाई उत्तिकै जिम्मेवार बनाइएको छ । तर, जिल्लामा प्रभावकारीरूपमा काम हुन सकेको छैन । केही पालिकाहरूले गैरसरकारी संस्थासँगको समन्वयमा विपद््को पूर्वतयारीमा काम गरे पनि त्यो पनि प्रभावकारी भने भएको छैन ।

दाङमा एक वर्षको अवधिमा विपद्का घटनामा परेर आठजनाले ज्यान गुमाएका छन् । दुई सय बढी घरपरिवार प्रभावित भएका छन् । गत वर्षको साउन महिनादेखि असार महिनासम्म जिल्लाका विभिन्न स्थानमा भएका आगलागी, हावाहुरी, चट्याङ, बाढी, सर्पदंशलगायत विभिन्न प्राकृतिक विपद्का ७५ घटनामा आठजनाले ज्यान गुमाएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आठजनामध्ये आगलागीमा परेर पाँचजना, सर्पदंशका कारण दुईजना र चट्याङका कारण एकजनाको मृत्यु भएको छ । विपद््का विभिन्न घटनाहरूमा पाँचजना घाइते भएका थिए । जसमा चट्याङ लागेर तीनजना, सर्पदंश र करेन्ट लागेर एक वर्षको अवधिमा एक/एकजना घाइते भएको केन्द्रले जनाएको छ ।

एक वर्षको अवधिमा भएका ७५ घटनामा २०३ परिवार प्रभावित भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका महेन्द्र रावतले जानकारी दिनुभयो । उहाँका अनुसार हावाहुरीका कारण २५ घर, आगलागीका कारण ४१, सर्पदंशका कारण चार र चट्याङका चार गरेर ७५ वटा घटनाहरू घटेका छन् । एक वर्षको अवधिमा भएका सबै घटनाहरूमा दश करोड बढीको अनुमानित क्षति भएको आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गत वर्ष आगलागीका कारण नौ करोड ५३ लाख २० हजार र हावाहुरीका कारण ५० लाख बढी गरेर सबै घटनाहरूमा दश करोड तीन लाख २० हजार बराबरको क्षति भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

गृह मन्त्रालयद्वारा प्रकाशित ‘मनसुन तथा बेमौसमी वर्षाका घटनासहितको प्रतिवेदनमा गत वर्ष मनसुन तथा मनसुनपछिका बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो, डुबानबाट नेपालले ठूलोमात्रामा मानवीय तथा भौतिक क्षति तथा नोक्सानी बेहोर्नुपरेको उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार गत वर्षको मनसुन अवधिमा ९१० घरपरिवार प्रत्यक्ष प्रभावित हुन पुगे भने १४२ जनाले ज्यान गुमाएका छन् । अझै पनि मनसुनका कारण हुने मानवीय क्षति कम गर्न सकिएको छैन र यो हरेक वर्ष बढ्दोक्रममा छ । ‘राज्यका तीनै तहका सरकारले यो विषयमा थप सहकार्य गर्न सके क्षति घटाउन सकिन्छ,’ नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले भन्नुभयो, ‘तर त्यो जिल्लामा हुन सकेको छैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?