छानबिन समितिको बैठक बस्दै, प्रतिवेदनलाई अन्तिम रुप दिइने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय छानबिन समितिको बैठक आज पनि बस्दैछ ।

समितिले बिहीबार प्रतिवेदनलाई अन्तिम रुप दिएर शुक्रबार बुझाउने तयारी गरेको हो । त्यसका लागि बिहीबार दिउँसो साढे १२ बजे समितिको बैठक बस्दै छ ।

सिंहदरबारस्थित संसद सचिवालयको अर्थसमितिको बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गर्दै शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

समितिका सभापति सुरेन्द्र अर्यालले औपचारिक र अनौपचारिक रुपमा समितिले छानबिनका विषयमा छलफल गरेर समान धारणा बनाउने दाबी गर्नुभयो । विभिन्न व्यक्तिसँग लिइएको बयान, अर्थ मन्त्रालयको सीसीटीभीको रिकभर रिपोर्ट लगायत विषयलाई समेटेर प्रतिवेदन तयार गरिने छ । प्रतिवेदन सकेसम्म सबै सदस्यको सहमतिका आधारमा लेख्ने समझदारी बनेको समितिका सचिव अर्यालको भनाइ छ ।

जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि उहाँले असार २२ गते राजीनामा दिनुभएको थियो । सोही दिन छानबिनका लागि ११ सदस्यीय संसदीय छानबिन समिति गठन गरिएको थियो।

सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते गठन गरेको ११ सदस्यीय समितिको म्याद दोस्रोपटक सात दिनका लागि थपिएको छ। समितिको पहिलो पटकको म्याद साउन ५ गते सकिएकोमा पुनः सात दिनका लागि थप गरिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?