निर्वाचन केन्द्रित गतिविधि सुरु : सत्ता घटकको जोड गठबन्धनतिर, विपक्षी दलका नेताहरू भन्छन्- गठबन्धनलाई निरन्तरता दिनु घातक

अनिल क्षेत्री
Read Time = 15 mins

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी मंसिर ४ गते तय गरेपछि राजनीतिक दलहरूका गतिविधि, छलफल र बैठकका एजेण्डा चुनाव केन्द्रित हुन थालेका छन् । प्रमु्ख राजनीतिक दलका नेताहरूले पनि मुलुक चुनावतर्फ होमिएको सन्देश जाने अभिव्यक्ति दिन थालेका छन् । मतदातालाई रिझाउन दलहरू निर्वाचन केन्द्रित एजेण्डा तय गर्न थालेका छन् । प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले माओवादी केन्द्र, जनता समाजवादी पार्टी निर्वाचन केन्द्रित अभियानमा अग्रस्थानमा देखिएका छन् ।

स्थिर सरकार मुख्य एजेण्डा
राजनीतिक दलहरूले स्थिर सरकार आगामी निर्वाचनको मुख्य एजेण्डा बनाउने देखिन्छ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको साउन २ गते सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी पाँच वर्ष स्थिर सरकारको लागि आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई एक्लै बहुमत उन्मुख गराउने संस्थागत निर्णय गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि स्थिर सरकारलाई नै चुनावको एजेण्डा बनाउने तयारी गरेको छ । २०७४ सालमा सम्पन्न संघ र प्रदेशको निर्वाचनमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई पुनः दोहोर्‍याउने रणनीति लिएको एमालेले उक्त नारा साकार बनाउन एमाले नेतृत्वको एकल बहुमतसहितको स्थिर सरकारको एजेण्डा अघि सार्ने भएको छ । सत्तारूढ गठबन्धनको घटक नेकपा माओवादी केन्द्रले पनि स्थिर सरकारमा नै जोड दिएको छ । संविधान र संघीयता जोगाउन वर्तमान पाँच दलीय गठबन्धन निर्माणमा प्रमुख भूमिका खेलेको माओवादी केन्द्रले स्थिर सरकारबाट मात्रै परिवर्तन संस्थागत र मुलुकको विकास हुनेमा जोड दिँदै आएको छ ।

निर्वाचनपछि स्थिर र बलियो सरकार गठन हुनेछ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि स्थिर र बलियो सरकार गठन हुने बताउनुभएको छ । पाँचदिने जापान भ्रमणमा रहनुभएका अध्यक्ष दाहालले शनिबार जापानको फुकुओकामा आयोजित ‘नेपाल फेष्टिबल’ को उद्घाटन गर्दै भन्नुभयो, ‘छिट्टै नेपालमा निर्वाचन हुँदैछ । तपाईंहरूलाई थाहा छ, स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । अब प्रदेश र संघको निर्वाचन हुँदैछ । प्रदेश र संघको निर्वाचनपछि अझ स्थिर र बलियो सरकार गठन हुनेछ । जननिर्वाचित बलियो सरकारले अब ढिलो नगरी आर्थिक विकासलाई प्राथमिकतामा राखेर लानेछ । विकासलाई प्राथमिकता दिने सुशासनलाई प्राथमिकता दिनेछ ।’ सत्तारूढ पाँच दलीय गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि स्थिर सरकारको एजेण्डामै जोड दिएका छन् ।

बहुमत ल्याउने गरी निर्वाचन तयारीमा जुट्न निर्देशन
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आसन्न निर्वाचनमा एकजुट भएर लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । भक्तपुरको बालकोटमा शनिबार आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी संगठित रूपमा लागेर बहुमत ल्याउने गरी अगाडि बढ्न निर्देशन दिनुभएको हो । कांग्रेस बहुमत उन्मुख र ठूलो दलका रूपमा रहन्छ भन्ने कुरा स्थानीय तहको निर्वाचनले देखाइसकेको बताउँदै महामन्त्री थापाले निर्वाचनमा अरू दलहरूसँग गठबन्धन गरेर गए पनि पार्टीभित्रको एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

हाम्रा निम्ति सत्ता सबैथोक होइन : डा. भट्टराई
पूर्व-प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले आफूहरूका लागि सत्ता नै सबैथोक नभएको जिकिर गर्नुभएको छ । हालै जनता समाजवादी पार्टीले कारबाही गरेपछि नेपाल समाजवादी पार्टी गठन गर्नुभएका डा.भट्टराईले शनिबार पार्टीको पहिलो केन्द्रीय बैठकलाई सम्बोधन गर्ने क्रममा भन्नुभयो, ‘हामीले निर्वाचनलाई एउटा साधनको रूपमा लिन्छौँ । हाम्रो निम्ति सत्ता सबैथोक होइन । निर्वाचन रूपान्तरणको एउटा साधन मात्र हो, हाम्रो लागि सडक, सदन र सरकारबाट विभिन्न प्रकृतिको संघर्ष गरेर नेपाली समाजको बाँकी कार्यभार पूरा गर्न सकिन्छ भन्ने मान्यता छ । समावेशिता, सुशासन, समृद्धि हासिल गर्नका लागि आफूले अगाडि सारेको राजनीतिक एजेण्डा नै महत्वपूर्ण हो ।’ डा.भट्टराईले जारी केन्द्रीय समितिबाट नेपाल समाजवादी पार्टीलाई वैधानिकता दिइने र मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कोसँग तालमेल र गठबन्धन गर्ने भन्ने तय हुने बताउनुभयो ।

तीव्र ध्रुवीकरण सुरु
२०७४ मंसिर १० र २१ गते गरी दुई चरणमा भएको संघ र प्रदेशसभाको चुनावमा वाम दल र प्रजातान्त्रिक दलबीच धुव्रीकरण भएको थियो । तत्कालीन नेकपा एमाले, माओवादी केन्द्र लगायतका वाम दलहरूबीच तालमेल भएको थियो भने अर्कोतिर नेपाली कांग्रेसले वाम दलबाहेकका दलहरूसँग केही स्थानमा चुनावी तालमेल गरेको थियो । यसपटक पनि राजनीतिक दलहरूबीच ध्रुवीकरण र गठबन्धन बन्ने भने प्रष्ट संकेत देखिएको छ । सत्तारूढ पाँच दलीय गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच आगामी संघ र प्रदेश निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भइसकेको छ ।

प्रधानमन्त्रीको हैसियतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध उभिएका दलहरूबीच गएको ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा गठबन्धन भएको थियो । पाँच दलीय गठबन्धनकै कारण ०७४ को स्थानीय चुनावबाट पहिलो शक्ति बनेको एमाले भने दोस्रो स्थानमा खुम्चियो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान पाँच दलीय गठबन्धन कायम रहने र गठबन्धन भित्रैबाट तेस्रो मोर्चा पनि बन्ने बताउनुभएको छ । अध्यक्ष नेपालको भनाइअनुसार गठबन्धनभित्र कांग्रेस बाहेकका शक्तिहरूबीच मोर्चा बन्न सक्ने सम्भावना छ ।

वर्तमान पाँच दलीय गठबन्धनकै कारण वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा झरेको एमाले गठबन्धन तोड्ने प्रयत्न गरिरहेको छ । एमाले अध्यक्ष ओली एमालेले चाहे तत्काल गठबन्धन तोड्न सक्ने अभिव्यक्ति दिँदै आउनुभएको छ । ०७४ मा माओवादी केन्द्रसँग एमालेले गठबन्धन गर्दा कांग्रेसले भोगेको पराजय देखेकाले पनि एमाले अझै गठबन्धन तोड्ने प्रयत्न गर्ने देखिन्छ । अर्कोतिर एमाले सत्तारूढ पाँच दलीय गठबन्धन बाहेकका दलहरूसँग गठबन्धन गर्ने प्रयासमा छ ।

गत साता अध्यक्ष ओलीले एक सार्वजनिक कार्यक्रमबाट चुनावी गठबन्धनका लागि आ≈वान गरिसक्नु भएको छ । एमालेबाहेक माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र पनि वाम शक्तिहरू मिल्नुपर्ने मत बलियो छ । अर्कोतिर शुक्रबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा सहभागी ओलीले एमालेले जित्ने गरी परिचालित हुन कार्यकर्तालाई निर्देशन दिँदै भन्नुभयो, ‘चुनाव हारेमा एमालेका लागि त केही छैन, पाँच वर्ष प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा बोल्छ । तर, एमालेले हार्दा देश हार्छ, एमालेले जित्नैपर्ने कारण के छ भने देशलाई जिताउनु छ ।’

दाहाल र नेपाल कांग्रेसरूपी बञ्चरोको बिँड बने : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले ढाल्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल कांग्रेसरूपी बञ्चरोको बिँड बनेको टिप्पणी गर्नुभएको छ । शनिबार विराटनगरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसलाई विगतमा २३ सिटमा खुम्च्याइदिएर कम्युनिष्टलाई ठाडो शिर गरेर हेर्न नसक्ने बनाइदिएको तर अहिले कम्युनिष्टलाई हराउन कम्युनिष्ट नै कांग्रेसको बिँड बनेको आरोप लगाउनुभएको हो ।

उहाँले बिँड बिनाको बञ्चरोले रूख ढाल्न नसक्ने र एमालेरूपी रूख ढाल्न प्रचण्ड र माधव नेपालले बिँडको भूमिका खेलेको बताउनुभयो । दुईतिहाइको कम्युनिष्ट सरकार तिनै बिँडले ढालेको भन्दै प्रचण्ड र माधव नेपालको पछि लाग्ने कार्यकर्तालाई कम्युनिष्ट पार्टी सिध्याउने बिँडको भूमिकामा नलाग्न सम्झाउने अभियान थाल्न आग्रह गर्नुभयो । अध्यक्ष ओलीले रूख बञ्चरोको कथासमेत सुनाउनुभएको थियो ।

अघिल्लो निर्वाचनमा कांग्रेसलाई कम्युनिष्टले २३ सिटमा पुर्‍याइदिए पनि अदालत गएर सरकार ढालिपाऊँ भन्दै दक्षिणपन्थी सरकार बनाइपाऊँ भनेर परमादेश मागेको ओलीको तर्क छ । माओवादी र एकीकृत समाजवादी केन्द्रका नेता कार्यकर्तालाई एमालेमा फर्किन आग्रह गर्दै ओलीले माओवादी र माधव नेपालका पछि लागेकालाई कांग्रेसको बिँड हुने कि कम्युनिष्ट पार्टीमा फर्किने भन्दै प्रश्न गर्नुभएको थियो ।

अध्यक्ष ओलीले आफ्नो पार्टीलाई देश बनाउनका लागि आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत चाहिएको पनि दोहोर्‍याउनुभयो । मुलुकको शान्ति, समृद्धि र विकास आफ्नो पार्टीले मात्रै गर्न सक्ने दाबी गर्दै उहाँले त्यसका लागि निर्वाचनमा बहुमत ल्याउने गरी चुनावको तयारी गर्न पनि पार्टीको सिंगो पंक्तिलाई सचेत गराउनुभयो ।

अध्यक्ष ओलीले स्वतन्त्रको नाममा राजनीति गर्नेहरूलाई देश बिगार्ने भँडुवा भएको आरोप लगाउँदै सतर्क रहन आग्रह गर्नुभयो । विश्वका सबै मुलुकका पार्टी चाहिने तर नेपालमा चाहिँदैन भनेर स्वतन्त्र भनिएकाहरूले देश बिगार्न लागेको उहाँको जिकिर थियो । ओलीले पार्टीबिना नीति, नेतृत्व, राष्ट्रिय विकास, राष्ट्रिय भावधारा, राष्ट्रिय विचार नै नहुने भएकाले स्वतन्त्रहरूले देश चलाउन नसक्ने तर्कसमेत गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?