ताइवान सेनाले पनि सुरु गर्‍यो सैन्य अभ्यास

Read Time = 3 mins

ताइवान । चिनियाँ सेनाले आफ्नो सैन्य अभ्यासलाई तीव्र बनाएपछि त्यसको प्रतिवाद गर्दै ताइवान सेना पनि उत्रिएको छ । ताइवानको सेनाले टापुको रक्षाको अनुकरण गर्दै लाइभ फायर आर्टिलरी अभ्यास सुरु गरेको छ । पिङतुङको दक्षिणी काउन्टीमा सैन्य अभ्यास भइरहेको ताइवानको आठौं आर्मी कोप्रसले जनाएको छ । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले गतसाता ताइवान वरपर अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरेको थियो ।

दशकौं पछि पहिलो पटक अमेरिकी उच्च अधिकारीले ताइवानको भ्रमण गर्नुभएको थियो । अन्तर्राष्ट्रिय चासो र चीनको आक्रोशबीच एसिया भ्रमणका क्रममा पेलोसीले ताइवान भ्रमण गर्नुभएको थियो । ताइवान लामो समयदेखि चीनको अतिक्रमणको त्रासमा छ । चीनले जहिले पनि ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको छ, यद्यपि ताइवानले भने आफूलाई स्वायत्त देश ठान्छ । मंगलबार र बिहीबार हुने ताइपेईको अभ्यासमा सयौं सेना र करिब ४० हाउविजर (लामो दूरीका हतियार) तैनाथ हुने सेनाले जनाएको छ ।

चिनियाँ सैन्य अभ्यास स्वशासित टापुमा आक्रमण गर्ने योजनाको हिस्सा : ताइवान
यसैबीच, ताइवानका विदेशमन्त्री जोसेफ वूले चीनले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको भ्रमणको विरोधमा गरेको सैन्य अभ्यास स्वशासित टापुमा आक्रमण गर्ने योजनाको एक हिस्सा भएको बताउनुभएको छ । ताइपेईमा पत्रकार सम्मेलनमा बोल्दै विदेशमन्त्री वूले ताइवानमा सम्भावित आक्रमणको लागि कुनै समय नतोके पनि चीनले सुरु गरेको सैन्य अभ्यास आक्रमणका लागि गेम प्लान भएको बताउनुभएको हो ।

उहाँले ताइवान स्ट्रेटमा अनौपचारिकरूपमा (ताइवान र चीनलाई छुट्याउने) मध्य रेखा उल्लंघन गर्दै चीनले सैन्य अभ्यास जारी राखे पनि ताइवान नडराउने बताउनुभएको छ । उहाँले चीनलाई प्रभावकारी रूपमा स्ट्रेट नियन्त्रण गर्नबाट रोक्नका लागि ठूलो अन्तर्राष्ट्रिय समर्थनको आग्रह पनि गर्नुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?