भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे काठमाडौंमा

आज नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गरिँदै

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे आइतबार काठमाडौं आइपुग्नु भएको छ । उहाँ प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाँच दिवसीय भ्रमणका लागि नेपाल आउनुभएको हो । ११ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आउनुभएका पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत अभिवादन गर्नुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष पाण्डेलाई नेपाल भ्रमणकै क्रममा सोमबार दिउँसो नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । त्यस अवसरमा सेनाध्यक्षलाई खड्ग र प्रमाणपत्र पनि प्रदान गरिनेछ । प्रधानसेनापति शर्माले सोमबार राति नै पाण्डेको सम्मानमा रात्रिभोजको आयोजनासमेत गर्नुहुने छ ।

नेपाल र भारतबीच सन् १९५१ देखि एक-अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम प्रचलन रही आएको छ । विसं २००७ मा भारतीय सेनाका फिल्ड मार्सल केएम करिअप्पालाई पहिलोपटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो ।

विसं २०२६ मा तत्कालीन नेपाली सेनाका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलोपटक भारतीय सेनाको मानार्थ सेना प्रमुखको पदवी पाउनुभएको थियो । अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी ग्रहण गरिसकेका छन् । हालसम्म भारतका २१ र नेपाली सेनाका १७ सेनापतिले यस्तो सम्मान प्राप्त गरिसकेका छन् ।

प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेले मंगलबार भेट गर्ने कार्यक्रम छ । मंगलबार भारतीय सेना प्रमुख पाण्डे माउन्टेन फ्लाइटमा नाम्चे जाने कार्यक्रम छ । तर, यसलाई मौसमी अनुकूलताले निर्धारण गर्नेछ । यस्तै, उहाँले कमाण्ड एण्ड स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम तय छ ।

भारतीय सेना प्रमुख पाण्डे बुधबार मौसमी अनुकूल भएमा मुक्तिनाथ दर्शनका लागि मुस्ताङ जाने र फर्किंदा कास्कीस्थित मध्यकमाण्डको निरीक्षण गर्नुहुने छ । यसबीचमा अनुकूलताका आधारमा पाण्डेले पशुपतिनाथ तथा कुमारीको दर्शन गर्ने र दरबार स्क्वायर क्षेत्रको पनि भ्रमण गर्न सक्ने जनाइएको छ । धार्मिक–सांस्कृतिक पक्षलाई पनि यो भ्रमणको क्रममा जोड्ने प्रयास गरिएको छ ।

नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष पाण्डे सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण, सम्मान गारत निरीक्षण, वृक्षरोपण, प्रधानसेनापति शर्मासँग भेटवार्ता, सहयोग सामग्री हस्तान्तरण, कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तरक्रिया लगायतका कार्यक्रमा सहभागी हुनुहुने छ ।

सेनाध्यक्ष पाण्डेको भ्रमणका क्रममा नेपाली सेनालाई करिब २२ करोड ३८ लाख ३८ हजार रुपैयाँ मूल्य बराबरको तोप मर्मत सम्भारका पार्टपुर्जा, घोडा, विस्फोटक पदार्थ प्रतिरोध सवारीसाधन र घुम्ती अस्पतालका लागि आवश्यक उपकरण सहयोगस्वरूप उपलब्ध हुने बताइएको छ ।

नेपाल सरकारले भारतीय सेनामा नेपाली युवा अर्थात् गोर्खा भर्तीलाई लिएर थप स्पष्ट हुन चाहेको समयमा पाण्डेको भ्रमण हुन लागेको हो । भारतले ल्याएको नयाँ अग्निपथ योजना अन्तर्गतको भर्ती प्रक्रियालाई सन् १९४७ मा नेपाल भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धिले नसमेट्ने भन्दै नेपालले हाललाई गोर्खा भर्ती स्थगन गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?