-राधिका बुढाथोकी
सिन्धुली । युवा सुरज राना, तीनपाटन गाउँपालिका–११ स्याङतीका स्थानीयबासिन्दा हुनुहुन्छ । उहाँको जीवन अकबरे खुर्सानीले बदलिदिएको छ । पाँच कठ्ठामा गरिएको खुर्सानी खेतीबाट मासिक तीन लाख आम्दानी भइरहेको उहाँले बताउनु भयो ।
‘दुई महिना (असार र साउन) मा छ लाखको अकबरे खुर्सानी विक्रि भयो,’ युवा किसान रानाले भन्नुभयो, ‘अहिले पनि दश हजारको खुर्सानी दिनकै बजार पठाइरहेको छु ।’
कमलामाई नगरपालिका–५ ऐँसेलुजंगारमा उहाँले व्यावसायिक खेती थाल्नु भएको हो । यहाँ उहाँले खुर्सानी खेती गर्नकै लागि मासिक पैँतिस हजार बुझाउने गरी एद्यार कठ्ठा भाडामा लिनु भएको छ । कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर उहाँले खुर्सानी खेती मात्र गर्नु भएको होइन, खुर्सानीका लागि गोबर मल (प्राङगरीक) बनाउन सुँगुर र पशू चौपाय पनि पाल्नु भएको छ । यिनै कर्म गरेर कमाई भएको आम्दानीले आफ्नो परिवारको गुजारा चलेको उहाँ बताउनु हुन्छ । छोराछोरी बोडिङमा पढ्छन् । बजारमा घडेर जोडेर घर बनाउन थालेको उहाँले सुनाउनु भयो ।
यसअघिका दिन कहाँ यस्ता थिए र ? युवा किसान रानालाई सम्झिदा पनि कहाली लाग्छ । बाह्र बर्ष भारतमा र दुई बर्ष मलेसियामा दुखले काम गर्नु भयो । यि बर्षहरु अहिले उहाँ सम्झिन चाहनु हुन्न । तर, पाँच बर्षअघि नेपाल फर्किएर त्यहाँ गरेको कमाईले व्यावसायिक पशुपंक्षी पालन सुरु गरेको कुरा दिल खोलेर सुनाउनु भयो ।
अर्काको भनाई र दबाब सहेर अर्काकै देशमा कत्ति बस्नु ? उहाँलाई आफ्नै देशमा आफैँ केही गर्न जाँगर चल्यो । दश हजार बोइलर कुखुरा, एक हजार वटा अन्डा पार्ने लेस, २० वटा राँगा, एक हजार वटा हाँस र ७०–८० वटा बंगुर पालन एकै पटक सुरु गर्नु भयो । आफुले मात्र नभ्याइएला भनेर दुई जना कामदार पनि राख्नु भएको थियो । तर, यसबाट घाटा सहनु पर्यो । त्यसपछि उहाँलाई व्यावसायिक पशुपालन गर्ने जाँगर हरायो । कृषीमा मन मारेर फेरि विदेश (दुवै) लाग्नु भयो ।
पशुपंक्षी पालन र कृषी पेसामा मन मरेर विदेशिनु भएको युवा सुरज रानाले विदेशमा पनि सोचे जस्तो भएन । कोभिड–१९ का कारण रोजगारी गुम्यो । खानाको प्रतिक्षाक तीन सय दश रुपैयाँ तिर्नु पर्यो । नौ महिनासम्म क्याम्पभित्रै थुनियर बस्नुको विकल्प भएन । त्यतिबेला नै उहाँले बनाएको योजना र देखेको सपना हो, नेपाल फर्किएपछि अकबरे खुर्सानी र तरकारी खेती गर्ने । जो अहिले पुरा भइरहेको छ । त्यो अवधि जीवनकै कष्टकर र तनावपूर्ण भएको उहाँ बताउनु हुन्छ ।
विदेश हिँडेका २३ जना युवालाई फर्काए
उहाँले सुरुमा तरकारी खेती गर्दा यहाँका स्थानीयबासिन्दा सबै किनेर खाने गर्नु हुन्थ्यो । उहाँ आफैँ उत्पादन गरेर खानु पर्छ भन्ने सोचको विकास गराउनु भयो । यसका लागि आफुले रोप्न राखेको विरुवा समेत निशुल्क दिनुभयो । अहिले अधिकांसको जुठेल्नोमा बोडी, सिमी, गिरौला, लौका लगाएतका तरकारीहरु झुन्डीएको देखिन्छ ।
पछिल्लो समय उहाँ खुर्सानी खेतीमा केन्द्रित हुनु भएको छ । अहिले गाउँका हरेक घरमा एक बुट्याङ भने पनि खुर्सानी देख्न सकिन्छ । कतिपय किसान उहाँले आधुनिक प्रविधि अपनाएर गरेको खुर्सानी खेती अवलोकन गर्न आउनु हुन्छ । अब आफु पनि फरक ढंगले कृषिमा लाग्ने सोच बनाएर जानु हुन्छ । परिस्थिती त्यस्तै भएर विदेश जाने सोच बनाएका युवाहरु कृषिमा रमाउने मनस्थिती बनाएर फर्किनु हुन्छ ।
विदेश बस्दाको भोगाइ र अनुभव तीतो भएकोले होला, उहाँलाई आफ्नाआफन्त, साथीभाईहरु विदेश नगइदिए हुन्थ्यो जस्तो छ । देशमा बसेर कमाई गर्न सकिएन भन्दै विदेश जाने युवाहरुलाई स्वदेशमै भएको सम्भावना बारे बताइदिनु हुन्छ । विदेशको दुख र आफ्नो भोगाई सुनाउन कन्जुर्याई गर्नु हुन्न । मिहेनत गरेर गरिखाने बाटाहरु अनगिन्ती भेट्ने उहाँको भनाई छ ।
‘विदेशमा पनि ३०–५० हजारसम्म कमाई हुने हो । यति पैसा कमाउनकै लागि खाँडीमुलुक पसिना बगाउन किन जानु पर्यो ? अमेरीका, जापना लगाएतका देशमा आफ्ना, आफन्त छोडेर किन धाउनु पर्यो ?’ सकेसम्म विदेश जाने युवाशक्तिलाई रोक्ने अभियानमा आफु रहेको उहाँ बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ, ‘कतिलाई अकबरे खुर्सानी खेती सुरु गर्नु भनेर निशुल्क विरुवा बाड्छु । केहिले किनेर लैजानु हुन्छ ।’
उहाँले विदेश जान काठमाडौँ हिडेका २३ जना युवालाई व्यावसायिक तरकारी र खुर्सानी खेतीमा जोडिदिनु भएको छ । यि कहाँका युवाहरु हुन् ? ‘उनिहरु मेरो गाउँकै हुन् । अहिले सबै कृषिमा लागेका छन् । कोही सामुहिक, कोही व्यक्तिगत रुपमा आफ्नै ठाउँमा अकबरे खुर्सानी लगायत अन्य तरकारी खेतीबाट आम्दानी लिन थालेका छन्,’ युवा किसान राना भन्नुहुन्छ, ‘वैदेशिक रोजगारीका लागि खाँडी मुलुक कोहीपनि नजाऔँ, मिहेनत गरे आफ्नै ठाउँको माटोमा हिरा फलाउन सकिने रहेछ ।’
कुनै पनि कामको सुख–दुख, मान्ने व्यक्तिमा भर पर्ने उहाँको विचार छ । विदेशमा कसैको दबाबमा काम गर्नुभन्दा खुर्सानी खेतीमा सयौँ गुण शान्ती मिल्ने उहाँ बताउनु हुन्छ । ‘आफैँले खेती गरे, कसैँको भनाई खानु परेन, दबाबमा बस्नु परेन । आफ्नो खुसीले आफ्नै तरिकामा काम गर्न पाइयो,’ ठट्याउली गदैँ उहाँले भन्न्ुाभयो, ‘सुखत केमा छ र ? गितै बनेको छ नी ! ‘जे गर्न नी गाह्रो, बसीबसी खाँदा पनि ढाँड दुखेर मार्यो ।’
विदेशमा १२ घण्टा काममा खट्नु पर्ने हुन्छ । यहाँ ६ घण्टामात्र खट्यो भने काफी पुग्ने उहाँको धारण छ ।
छैन बजारको समस्या
खुर्सानी खेतीबाट उहाँलाई मिलेको सफलता देख्ने र सुन्नेहरु सबैलाई डाहा हुन्छ । यहाँको अकबरे खुर्सानीमा रासायनिक मल लगायतका कुनै पनि विषादीहरुको प्रयोग हुँदैन । गाईभैँसी, सुँगुरको गोबर, मलको रुपमा प्रयोग हुुन्छ । खुर्सानी अर्गानी हुने भएकोले जिल्ला बाहिरका ठाउँबाट पनि माग गर्दछन् ।
सिन्धुलीमाढी सदरमुकाम आसपासका क्षेत्रदेखि बनेपा, काठमाडौसम्मको बजारमा आफुले उत्पादन गरेको खुर्सासी पुग्ने उहाँले बताउनु भयो । थोरै जमिनमा खेती भएकाले बजारको मागलाई धान्नै नसकिएको उहाँको भनाई छ ।
एक लाख पचास हजार लगानीबाट व्यावसायिक कृषि कर्ममा जोडिनु भएको उहाँ खुर्सानीमा फाइदै–फाइदा देख्नु हुन्छ । ‘अकबरे खुर्सानी उत्पादन गर्न सक्नु मात्र पर्छ, बजारको झनझट हुँदैन । खेतैबाट विक्रि हुन्छ,’ उहाँले बताउनु भयो ।
अहिले बजारमा मुल्य पाइएन भने पनि सुकाएर पछि राम्रो मुल्य भएको बेला बेच्न मिल्ने उहाँको भनाई छ । खुर्सानीमा तरकारी खेतीको जस्तो बजार र बजार मुल्य नपाएर चिन्ता लिनु पर्ने अवस्था नहुने उहाँले बताउनु भयो ।
कृषि प्राविधिकको प्रेरणा
विदेशबाट गाउँ फर्किएपछि व्यावसायिक खेतीमा होमिनु भएका युवा सुरज रानासँग आँट मात्र थियो, तर, व्यावसायिक खेती गर्ने आइडिया थिएन । गदै सिक्दै, सिक्दै गदौ भन्ने मान्यता राखेर उहाँले गाउँ (स्याङती) बाट एक सय रुपैयाँ मानोको पाँच माना सुकेको अकबरे खुर्सानी किनेर दल राख्नु भयो । परिक्षणको लागि दश धुरमामात्र गरेको खेतीले सोचेभन्दा बढी सफलता मिल्यो । दश केजी सुकेको खुर्सानी उत्पादन भयो । त्यसैबाट विउ छुट्याएर पाँच कठ्ठाको लागि फेरि दल राख्नु भयो । दश हजार विरुवा बन्यो । यिनै विरुवाले अहिले धमाधम उत्पादन दिइरहेको छ । रातै भएर पाकेका खुर्सानी टिपेर बजार पठाउन उहाँलाई भ्याईनभ्याई छ ।
आगामी बर्ष एक विगाहमा खुर्सानी खेती विस्तार गर्ने उहाँलाई प्रेरणा मिलेको छ । कमलामाई नगरपालिका–५ की कृषि प्राविधिक लक्ष्मी श्रेष्ठको प्राविधिक सहयोगले उहाँलाई कृषिमा टिकिरहन हौसला मिलेको छ ।
‘कृषी प्राविधि लक्ष्मी म्याडम बेलाबेलामा आइरहनु हुन्छ । मैले गरेको खेती अवलोकन गरेर आवश्यकता अनुसार सल्लाह दिनुहुन्छ । केही समस्या आइपर्यो भने म आफँै पनि फोन गरेर बोलाउँछु । उहाँले भन्नु भएजसरी काम गर्छु । यसले मलाई अझ धेरै जग्गा भाडामा लिएर व्यावसायिक खुर्सानी र तरकारी खेती विस्तार गर्ने प्रेरणा मिलेको छ,’ उहाँले भन्नुभयो, ‘लक्ष्मी म्याडमको सहयोगले खुर्सानी खेतीबाट सोचेभन्दा धेरै राम्रो सफलता पाएको छु ।’
अहिले पाँच कठ्ठामा मात्र खुर्सानी खेती गरिरहनु भएको उहाँ तरकारी खेती गरेको ६ कठ्ठामा पनि खुर्सानी खेती विस्तार गर्ने तयारीमा हुनुहुन्छ । यसको जमिन तयारी भइरहेको उहाँले बताउनु भयो । कहिलेकाँही खुर्सानी टिप्न नभ्याउँदा कामदार लगाउनु बाहेकका सबै काम बुढाबुढीले भ्याइरहेको उहाँले सुनाउनु भयो । दुबै जना (बुढाबुढी) मिलिजुली काम गर्दा थकान महसुस हुँदैन । जिस्किदै, हाँस्दै, रमाउँदै, नाँच्दै काम गरिरहेका हुन्छौँ, उहाँले भन्नु भयो ।
सरकारी, गैरसरकारी संघसंस्थाबाट कुनै अनुदान र हौसला नपाएपनि अकबरे खुर्सानीमा राम्रो फाइदा हुने उहाँको बुझाई छ । खेती गर्ने तरिका राम्रोसँग बुझेर सुरु गरे किसानलाई खेती गर्ने प्रेरणा मिलिरहने उहाँको अनुभव बताउँछ ।
खुर्सानी खेती गर्दा सिकेको ज्ञान
उहाँले गर्नु भएको जस्तो अकबरे खुर्सानी खेती पनि कहाँ सजिलो छ र ? ‘बाँझो जमिन जोत्नु पर्यो, खन्नु पर्यो, मल बोक्नु पर्यो, मचिङ गर्नु पर्यो, एक/एक मिटरको फरकमा ड्याङ बनाउनु पर्यो, नापेर एक÷एक मिटरको फरकमा खाल्टो खनेर मल हालेर रोप्नु पर्यो । रोप्ने बेला अझ विशेष ध्यान दिनुपर्छ । खुर्सानीको विरुवा नसरेसम्म जराले मल नछुनेगरि मलमाथी माटो भरेर रोप्नु पर्छ । गोबर मललाई जराले छोए रोग लागेर विरुवा मर्छ । विरुवा रोपेको पन्ध्र दिनपछि खुर्सानीको जराले मललाई छुँदा राम्रो हुन्छ । सिँचाई विहान र बेलुका मात्र गर्नु पर्छ । दिउँसो पानी हाल्दा बोटमा कोप्रे रोग लाग्न सक्छ । खुर्सानीको बोट झाँगिने बनाउन एउटा विधि छ । त्यो के भने, पाँच वटा भेट्नो र पात आएपछि टुप्पोभन्दा तलको भेट्नोनीर कैँचीले काटिदिने, त्यसको केहिदन पछि त्यो काटेको ठाउँबाट दुई वटा हाँगा पलाउँछ । त्यसले पाँच वटा पात बनाएरपछि फेरीे टुप्पो मुनिको भेट्नोनीर काटिदिने । यो क्रमलाई फस्ट जेनेरेसन, सेकेन्ड जेनेरेसन भनिदो रहेछ । यसो गरेमा बोट झाँगिएर आउँछ । खुर्सानीको बोट जति झाँगिन्छ, त्यत्तिनै बढी फल प्राप्त हुन्छ । यसो नगर्दा बोट सिधै आँकाश तीर जाने र फल कम हुने हुन्छ,’ आफुले खेती गर्दा सिकेका कुरा र आफुले गरेको अनुभव उहाँले यसरी सुनाउनु भयो ।
खुर्सानी खेती गर्न जमिन तयार गर्नेदेखि फल टिप्नेसम्मको विधि र प्रक्रिया हुन्छ । जस्तो की, कलिलो बेर्ना रोप्नु हुँदैन । छिप्पाएर मात्र रोप्ने गर्दा धेरै फल दिइने रहेछ । खुर्सानीको बेर्ना जोगाउन गाह्रो हुन्छ । दल राख्ने बेला कुनै किराहरुले नास नगरोस् भन्नका लागि साइड साइडमा मालाथिङ पाउडर छर्किने गर्नुपर्छ । विउ उम्रिएर बेर्ना भएपछि ढुसीनास रोग लाग्न सक्छ । त्यसको लागि तोरीको पिना वा खरानी छर्किने गर्नुपर्छ ।
उहाँका अनुसार अकबरे खुर्सानीको बोटको आयु पाँच बर्षसम्म हुन्छ । एउटै बोटबाट पाँच केजीसम्म उत्पादन हुने उहाँको अनुमान छ । ‘सुरुमा मिहेनत त गर्नु पर्छ । त्यसपछि लैनो भैँसी जस्तो हुन्छ । हिरा टिप्न पाइरहिन्छ । डलर झरिरहन्छ । हेर्नुस त ! यो मैले डलर टिपिरहेको हुँ,’ राता ढिडी खुर्सानी टिपेको देखाउँदै भन्नुभयो ।
‘भैँसी ब्याएपछि बेलाबेलामा घाँस, कुँडो, पानी दिइरहनु पर्छ । होइन भने, दुध चाडै थाक्छ नी ! त्यस्तै हो, खुर्सानीको बोट पनि । यसलाई कसरी पालन पोषण गरिरहेको छौँ, त्यसमा भर पर्छ । खुर्सानी फलेको छदैँ छ भनेर टिप्दैबेच्दै गरियो भने एक लटमै यसको आयु सकिन्छ । त्यसैले तीन–तीन महिनाको फरकमा मल दिने, सिँचाई गर्ने आदी कुरामा ध्यान दिनुपर्छ । खुर्सानीको बोट बुडो भएपछि फेरि भेट्नानीरबाट टुप्पोतीरको भाग काटिदिने गर्नपर्छ,’ उहाँले आफुले सिकेको ज्ञान र अनुभव बाड्नु भयो ।
कुनै पनि खेती गर्नुअघि माटो परिक्षण गर्न आवश्यक भएको उहाँले बताउनु भयो । यसका लागि कृषि प्राविधिकहरुको सहयोग लिन सकिन्छ ।
सुकिलो–मुकिलो देखिने युवा पनि किसान
व्यावसायिक खुर्सानी खेती गर्ने किसान सधैँ धुस्रै, हिलै, धुलाई र मैलै देखिन नपर्ने उहाँ बताउनु हुन्छ । खेती गर्दाबाहेको समय सुकिलो–मुकिलो देखिने युवाहरु अफिसमा जागीर मात्र गर्दछन् भन्ने होइन । तर, किसान सुकिलोमुकिलो देखिदैनन् भन्ने आमनागरिकको धारणा छ । यसैको एउटा उदाहरण युवा किसान सुरज राना आफैँ हुनुहुन्छ ।
कृषि ज्ञान केन्द्र र कमलामाई नगरपालिकामा पुग्दा कार्यालयका प्रमुख र कर्मचारीहरुले नै आफुलाई किसान भनेर विश्वास नगरेको उहाँले सुनाउनु भयो । कृषि र पशु पालन गरेको फोटो देखाउँदा अनुदान पाइन्छ भनेर अरुकोमा फोटो खिचेर ल्याएको आरोपसम्म लगाउन भ्याएका उहाँले सुनाउनु भयो । ‘यस्तो हिरो देखिनु हुन्छ । चट्ट परेर हिड्नु भाछ । लाग्छ, कुनै अफिसको हामिक जस्तो । तपाई कसरी किसान हुन सक्नु हुन्छ ? भन्ने उहाँहरुको प्रश्न थियो । एकदिन यहाँ ल्याएर देखाएपछि मात्र विश्वास गर्नु भयो । ‘कमलामाई नगरपालिकाले एउटा ट्याङकी, प्लाष्टिकको टनेल र प्राविधिक सहयोग गरेको छ । कृषि ज्ञान केन्द्रबाट सिँचाईको लागि पाइप अनुदानमा पाएको छु,’ उहाँले भन्नु भयो ।
अनुदान पाइएला भन्ने अपेक्षा र आशा राखेर कृषिमा नलागेको भएपनि राम्रो काम गरेर देखाएपछि अनुदान र हौसला आफैँ आउने उहाँ बताउनु हुन्छ ।
युवा किसान राना मात्र होइनन्, अकबरे खुर्सानी खेतीमा सिन्धुलीका अन्य किसान र युवाको आकर्षण पनि बढ्दोे छ । उहाँहरु आर्कषित मात्र हुनुभएको छैन, अकबरे खुुर्सानीलाई व्यावसायिक बनाउँदै हुनु हुन्छ । जिल्लाका रतनचुरा, जलकन्या, तिनकन्या, डुडभज्ञ्याङ, वितिजोर, बासेश्वर लगाएत महाभारत क्षेत्र आसपास व्यावसायिक अकबरे खुर्सानी खेती मौलाएको छ ।
गोलन्जोर गाउँपालिका, सुनकोसी गाउँपालिका, फिक्कल गाउँपालिका अन्र्तगत पर्ने पहाडी क्षेत्रका किसानले बर्षेनी ८०–९० लाख आम्दानी लिने गरेको विपि राजमार्ग अन्र्तगत पर्ने नयाँ खर्कमा खुर्सानी बेच्न राख्नु भएकी स्थानीयबासिन्दा मनमाया तामाङले बताउनु भयो । ‘अकबरे खुर्सानी खेती गर्ने र म जसरी किनेर बेच्नेलाई पनि फाइदा छ,’ यो खेती गर्ने र बेच्ने दुवैले घाटा भयो भनेको सुनेकी छैन,’ उहाँले भन्नुभयो ।
अरु खुर्सानीको तुलनामा अकबरे खुर्सानी पिरो र स्वादिष्ट हुने उपभोक्ता बताउँछन् । कमलामाई नगरपालिका–६ बैंक रोड नजिक बस्ने लक्ष्मी थापा मगर आफ्नो भान्छा कोठामा अकबरे खुर्सानी कहिलैँ नटुटाउने बताउनु हुन्छ । ‘अकबरे खुर्सानी नहाली बनाएको सब्जी र अचार मिठो लाग्दैन, यसको जस्तो स्वाद अन्य जातको खुर्सानीमा पाउँदिन,’ उहाँले सुनाउनु भयो ।
अकबरे खुर्सानी खेती गर्ने र बेच्नेलाई मात्र होइन, नियमित खानेको स्वास्थ्यलाई पनि फाइदै फाइदा हुने आम नागरिकको बुझाई छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच