भ्रष्टाचार आरोपमा चीनका पूर्वन्यायमन्त्रीलाई आजीवन कैद

Read Time = 2 mins

बेजिङ । चीनका पूर्वन्यायमन्त्री फु चेङहुवालाई घुस खाएको आरोपमा आजीवन कैद सजाय हुनेभएको छ । उनी कुनै समय चीनको सबैभन्दा शक्तिशाली प्रहरी प्रमुख मानिन्थे । ६७ वर्षीय फुलाई निलम्बित मृत्युदण्डको सजाय सुनाइएको थियो । सो सजाय दुई वर्षपछि आजीवन कारावासमा बदलिने सिसीटिभीले बिहीबार जनाएको छ । फुलाई चिलिन प्रान्तस्थित एक अदालतले झण्डै १२ करोड युआन घुस लिएको ठहर गर्दै सजाय सुनाइएको हो ।

उनले २००५ मा बेइजिङ पब्लिक सेक्युरिट ब्युरोको उपनिर्देशक हुँदादेखि २०२१ सम्म घुस खाने गरेको आरोप छ । उनको सजायमा अरु कटौती नहुने अदालतको आदेशमा उल्लेख छ ।

फु २०१० मा बेइजिङ प्रहरी प्रमुख हुनेबित्तिकै एउटा नाइटक्लबमा छापा मारेर चर्चामा आएका थिए । २०१३ मा स्थायी समिति सदस्य चाउ योङकाङको भ्रष्टाचार आरोप छानविन गर्ने समूहमा पनि फु सहभागी थिए । चाउलाई २०१५ मा जन्मकैदको सजाय सुनाइयो । उनी राष्ट्रपति सी चिनफिङको भ्रष्टाचारविरोधी अभियानमा पर्नेे सबैभन्दा उच्च पदस्थ नेता हुन् ।

फुलाई २०१६ देखि नै महत्वपूर्ण पदहरूबाट हटाउँदै लगिएको थियो । २०१८ मा आकर्षक नमानिने न्यायमन्त्री बनेका उनी २०२० बाट पार्टीको सल्लाहकार समितिमा रहे । २०२१ मा उनीमाथि अनुसन्धान सुरु भएको थियो । यसअघि बुधबार तीनजना पूर्वक्षेत्रीय प्रहरी प्रमुखहरूलाई जेल सजाय सुनाइएको थियो । एससिएमपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?