हवाईमार्गले जोडेको गन्तव्य तर उडान भर्ने जहाज छैनन्

हिमालय टाइम्स
Read Time = 4 mins

सुर्खेत । सडक पहुँच नभएको हुम्लादेखि हिमाली जिल्लाहरूमा हवाईमार्गले नै जोड्दै आएको छ । हवाईमार्ग भारी रकम भुक्तान गरेर पनि जान र आउन फलामको चिउरा चपाएझैं हुँदै आएको छ । सडक यातायातको सहज पहुँच नभएको डोल्पामा जाने र आउने अधिकांश यात्रुहरूले हवाईमार्ग नै प्रयोग गर्दै आएका छन् । कर्णालीमा हवाई यात्रा विदेशी मुलुकमा जाने रकमभन्दा बढी कायम हुँदै आएको छ । जुम्ला, मुगु र हुम्लामा समेत हवाई यातायातको उस्तै समस्या छ ।

कर्णालीमा उडान भर्दै आएका निजी प्रदायक कम्पनीका हवाई जहाजहरूले पूर्वतिर उडान भरेपछि यता समस्या परेको हो । डोल्पा ठूलीभेरी नगरपालिकाकी भीमा केसीले कर्णालीमा हवाईजहाज उडान भर्नका लागि पर्यटनमन्त्रीले ध्यान दिनुपर्ने सामाजिक सञ्जालमा पीडा पोख्नुभएको छ ।

लामो समयपछि नेपाल वायुसेवा निगमको जहाजले डोल्पामा बुधबार एकपटकमात्र उडान सुरु गरेको छ । कर्णालीमा सीता, तारा, समिट र नेपाल एयरलाइन्सले उडान भर्छन् । चाडबाडका बेला जहाज नै उपलब्ध नहुँदा यात्रुहरूलाई सास्ती हुने गरेको छ । कर्णालीका लागि न भरपर्दो हवाईसेवा छ, न त सुरक्षित सडक यात्रा नै । दशैं तिहारजस्ता चाडमा पनि ज्यानको बाजी लगाएर आउजाउ गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

नेपाल एयरलाइन्सले पनि नियमित तालिकाअनुसार उडान नगरिदिँदा यात्रुहरूले सास्ती भोग्नुपरेको स्थानीयको गुनासो छ । जुम्ला सडक यातायातको पहुँचमा रहे पनि कर्णाली राजमार्गको स्तरोन्नतिको अभाव तथा बाटोको नाजुक अवस्थाले हवाई यातायातकै बढी प्रयोग हुने गरेको छ । हरेक चाडबाडका बेला र पर्यटक आउने सिजनमा नेपाल एयरलाइन्सले पनि नियमित सेवा दिएको छैन । विशेषगरी निजी हवाई कम्पनीका जहाजहरूले पनि दशैं तथा तिहारका बेला जुम्लामा उडान गर्दैनन् । जहाजहरू पर्यटक ओसार्ने भन्दै पूर्वतिर सारेपछि कर्णालीका जनता सेवाबाट वञ्चित भएका हुन् ।

हप्ता दिनअघि मात्र जुम्लास्थित जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले भने संस्कृति पर्यटन तथा यातायात मन्त्रीलाई कर्णालीमा नियमित उडान गर्नका लागि पहल गर्न माग गरिएको बताउनुभयो । भौगोलिकरूपमा अत्यन्तै कठिन र सहज यातायात नभएको कर्णालीका हिमाली जिल्लाहरूको एकमात्र विकल्प हवाई यातायात सेवालाई लिइन्छ । यसैले पनि हवाईसेवा नियमित गर्नुपर्ने स्थानीय अगुवाहरूको माग छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?