सत्ताको खेलमा जस्तालाई तस्तै

हिमालय टाइम्स
Read Time = 8 mins

नेपालीमा एउटा उखान छ, जस्तालाई तस्तै ढिँडालाई निस्तै । अंग्रेजीमा यसलाई ‘टिट फर ट्याट’ भन्ने गरिन्छ । यतिखेर सत्तामा बस्नेहरू यही ‘टिट् फर ट्याट’मा सक्रिय देखिन्छन् । गठबन्धनका नाममा भइरहेको राजनीतिक क्रय–विक्रयले उत्पन्न गरेको निकृष्ट राजनीतिक अवसरवादको उत्कर्ष हो भनेर यसलाई मान्दा अन्यथा हुँदैन । ०७४ सालमा पनि यस्तै गठबन्धन भएको थियो । सरकारको साझेदारीमा रहेको माओवादी पार्टीले अत्यन्त नाटकीयशैलीमा प्रतिपक्ष एमालेसँग चुनावी गठबन्धन र एकताका नाममा पार्टी विलयको निर्णय गरेको थियो । नेपाली कांग्रेसको बहुमतलाई तोड्न र पचास वर्षसम्म नेपालमा कम्युनिष्ट पार्टीको सरकार चलाउने संकल्पकासाथ गरिएको त्यो एकताको रहस्य आजसम्म उद्घाटित भएको छैन । अहिले सत्ता गठबन्धनमा रहेको र अन्तिम समयसम्म चुनावी गठबन्धनका लागि सिटमा कसरत गरिरहेको जनता समाजवादी पार्टी नामको कुनै दल अकस्मात् र अत्यन्त नाटकीयशैलीमा प्रमुख प्रतिपक्षसँग तालमेल गर्न पुगेको छ ।

०७४ को चुनावी सरकारको नेतृत्वमा नेपाली कांग्रेसका नेता देउवा नै हुनुहुन्थ्यो र संयोगबस अहिले पनि उहाँकै नेतृत्वमा चुनावी सरकार छ । ओल्लो घरको नुरी पल्लो घर सरीको स्थानमा हिजो नेकपा माओवादी थियो र अहिले उपेन्द्र यादवको जनता समाजवादी त के भनौं उम्मेदवारहरूको सूची हेर्दा यादव समाजवादी पार्टी देखिएको छ । यादव समाजवादी पार्टीका कारण चुनावी गठबन्धनको गणित निकै फरक परिणामको हुने अवस्था सिर्जना भएको छ ।

गठबन्धनमा रहेर एमालेसँग जोडिएको माओवादी पार्टीलाई ०७४ मा नेपाली कांग्रेस नेतृत्वको सरकारले सत्ता विस्थापित गराउन सकेको थिएन । तर यो पटक यादव समाजवादी पार्टीलाई भने सरकारबाट हटाएको छ । संघीय सरकारबाट हट्नासाथ त्यसको बदलास्वरूप यादव समाजवादी पार्टीले मधेस प्रदेशबाट नेपाली कांग्रेसका मन्त्रीहरूलाई वर्खास्त गरेको छ ।

जस्तालाई तस्तै ढिँडालाई निस्तै भनेको यही हो । यौटा महत्वपूर्ण प्रश्न के छ भने, पाँच वर्ष पहिले यही र यस्तै अवस्थामा माओवादी पार्टीका मन्त्री नहटाउने र गठबन्धनको भारी बोकेर हिँड्ने प्रधानमन्त्री देउवाले अहिले यादव समाजवादी पार्टीका मन्त्रीहरूलाई किन हटाउनु भयो ? के माओवादीको धम्कीका सामु त्यसबेला देउवा नतमस्तक हुनुहुन्थ्यो ? अहिले अपेक्षाकृत सानो दल भएका कारण समाजवादी पार्टीलाई हेप्ने काम गर्नुभएको हो ? अन्यथा अब एक महिनामात्रै बाँकी रहेको अवस्थामा मन्त्री हटाउनुको औचित्य के हुन्छ ? यादव समाजवादी पार्टी पनि असहिष्णु देखियो ।

त्यस पार्टीको नेतृत्वमा रहेको मधेस प्रदेश सरकारको नेतृत्व अरू एक महिना संयम हुनसकेको भए अहिलेका ठूला र लोकतान्त्रिक दाबी गर्ने दलहरूको राजनीतिक संस्कृति र उनीहरूको व्यवहारलाई समेत चुनौती दिन सक्ने थियो । त्यो अवसर यादव समाजवादी पार्टीले गुमाएको छ भने देउवा नेतृत्वको सरकारले ‘जो होचो उसैका मुखमा घोचो’ भन्ने उखानलाई चरितार्थ गरेको छ । पाँच वर्ष पहिले माओवादी दललाई हटाउन नसक्ने देउवा अहिले समाजवादीविरुद्ध उभिनुलाई निष्पक्ष रूपमा कसैले पनि उचित मान्न सक्दैन । त्यसमा पनि निर्वाच आयोगले निर्वाचनसम्बन्धी कार्यक्रम र आचार संहितासमेत जारी गरिसकेको अवस्था छ । मन्त्रीहरू हटाउने र राख्ने काम आचार संहिताभित्र पर्छ वा पर्दैन आयोगले भन्ने कुरा हो । यदि हटाउन मिल्छ भने थप्न पनि मिल्ने होला । के प्रधानमनत्री देउवा वा मधेस प्रदेशका मुख्यमन्त्रीले अरू एक महिनाका लागि मन्त्रिपरिषद् पुनर्गठन गरी मन्त्रीहरू थप्न मिल्छ कि मिल्दैन ? हटाउन मिल्छ भने थप्न किन मल्दैन ? आयोग बोल्नुपर्ने होइन ?

अहिले चुनावी गठबन्धनका नाममा सिद्धान्तलाई, विचार र लोकतान्त्रिक मूल्यलाई सबै दलहरूले तिलाञ्जलि दिएको अवस्था छ । सरकार निर्माण गर्न तालमेल वा गठबन्धन जरुरी हुन्छ । नेपालको वर्तमान संविधान र निर्वाचन प्रणालीले एकल दलको बहुमत असम्भव तुल्याएको छ । यद्यपि ०७४ मा अपवाद देखिएको थियो । यो अपवाद पनि पूर्णकालसम्म रहन सकेन । नेपाली राजनीतिको दुर्गतिलाई वर्तमान पुस्ताले समेत वितेका पाँच वर्षमा अनुभव गर्न पायो । गत वर्ष विचार मिल्नेहरूकासाथ गठबन्धन भएको थियो । तर यो पटक भेडा, बाख्रा, स्याल, हुण्डार, चितुवा, गोही, सर्प सबैको साझा फूलबारी जस्तो भएको छ गठबन्धन । मतदातालाई आफ्नो आनुवंशिक पैतृक सम्पत्ति जस्तो भागवण्डा गर्नुले लोकतन्त्रको खिल्ली उडाएको छ ।

मतदाताको स्वविवेकीय अधिकार र जिम्मेदारी दुवैलाई हनन् गरेको छ चुनावी गठबन्धनले । यस्तो गठबन्धनको प्रपञ्चले निम्त्याउने परिणाम भनेको नै अवसरवाद हो र अब यो अवसरवाद नेपाली राजनीतिको स्थायी चरित्र हुने भएको छ । नेताहरूले गठबन्धन गरी निर्वाचनमा जानु हुन्छ भने तिनका कार्यकर्ता वा सदस्यहरूले अरू कुनै उम्मेदवारसँग गठबन्धन गर्नु हुँदैन भन्ने केही छैन । अनुशासनका सबै सीमाहरूलाई माथिबाट नै भंग भएपछि, राजनीतिक सिद्धान्तको मानमर्दन माथिबाट नै हुनथालेपछि तल बस्ने भुँई मान्छेहरूले किन पालना गर्ने ? मूल्यहीन राजनीतिकै कारण अहिले सत्तामा बसेकाहरूको फरक गठबन्धन, निर्वाचन तालिका प्रकाशन पश्चात् मन्त्रीहरू हटाउने खेल र प्रतिशोधको राजनीति व्याप्त भएको छ । यस्तो मूल्यहीन राजनीतिलाई कसले र कसरी चिर्ने ? आजको ज्वलन्त प्रश्न हो यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?