टी-ट्वान्टी विश्वकप शुरु, पहिलो खेलमै श्रीलंका नामिबियासँग पराजित

फाइल तस्बिर

Read Time = 5 mins

सिडनी । अष्ट्रेलियामा आइतबारबाट सुरु भउको आठौं संस्करणको टी-ट्वान्टी विश्वकपको पहिलो खेलमा श्रीलंका नामिबियासँग पराजित भएको छ । आइतबार भएको उद्घाटन खेलमा एसिया कप विजेता श्रीलंकालाई नामिबियाले ५५ रनले हराएको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको नामिबियाले श्रीलंकालाई २० ओभरमा ७ विकेट गुमाई १६४ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको श्रीलंका भने १९ ओभरमा १०८ रन मात्र बनाएर अलआउट भयो । श्रीलंकाका लागि कप्तान डासुन शनकाले सर्वाधिक २९ तथा भानुका राजापाक्षेले २० रन बनाउनुभयो । धनन्जया डि शिल्भाले १२ तथा महेश तिक्षणाले अविजित ११ रन बनाउँदा अन्य ब्याटस्म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिंग तर्फ नामिबियाका ब्रिनाड स्कोल्ज, बेन शाइकोन्गो, जान फ्रायकलिंक, डेबिड बिजेले समान २/२ विकेट लिँदा जेजे स्मिथले १ विकेट लिनुभयो । त्यस अघि पहिले ब्याटिङ गरेको नामिबियाका लागि जान फ्रायालिंकले सर्वाधिक ४४ रन जोड्नुभयो । जेजे स्मिटले अविजित ३१ रन बनाउँदा स्टेफन ब्राडले २६ रन बनाउनुभयो । यस्तै कप्तान ग्रहार्ड इरामुस तथा जान निकोलसले समान २०/२० योगदान दिनुभयो ।

श्रीलंकाका लागि प्रमोद मधुशानले २ तथा महेश तेक्षाना, दुसमान्था चमेरा, चमिका करूणारत्ने र वाइन्डु हसरंगाले १-१ विकेट लिनुभयो । यो जितसँगै नामिबियाले एक खेलमा दुई अंक जोडेर समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।

सुरुमा आठ टिम सम्मिलित प्रारम्भिक चरण हुनेछ । त्यसपछि ‘सुपर ट्वेल्भ’ को चरण सुरु हुनेछ । यो चरणको समाप्तीमा नकआउटका खेल, सेमिफाइनल र अत्यमा फाइनल हुनेछ । सन् २००७ मा पहिलो पटक टी-ट्वान्टी विश्वकपको आयोजना भएको थियो । छोटो समयमै यसका सात संस्करण आयोजना भइसकेका छन् । यसको पछिल्लो संस्करण सन् २०२१ मै मा मात्र भएको थियो, जति बेला यसको उपाधि जितेको थियो, अस्ट्रेलियाले । यसपल्ट अस्ट्रेलियासामु आफ्नै गृहभूमिमा उपाधिको रक्षा गर्ने अवसर हुनेछ र यही टिमलाई मानिएको छ, उपाधिको सबैभन्दा ठूलो दावेदारको रुपमा ।

अस्ट्रेलियापछि भारत र इंग्ल्यान्ड दुवै उत्तिकै बलिया दाबेदार टिम रहेका छन् । तर यी टिमको खेल ‘सुपर ट्वेल्भ’ बाट सुरु हुनेछ । त्यस अगाडि रहेको छ, तिनै आठ टिमको खेल । यी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ, चार चार टिमका रूपमा । लिग चरणमा एकले अर्कोसँग खेल्नेछन् । समूहको शीर्ष दुई स्थानमा रहने टिमले ‘सुपर ट्वेल्भ’ को यात्रा तय गर्नेछ । यो चरणको सबैभन्दा ठूलो विशेषता हो, दुई हेभिवेट टिमको उपस्थिति ।

र ती हुन् श्रीलंका र वेस्ट इन्डिज । संयोगले दुवै पुराना विजेता पनि हुन् । वेस्ट इन्डिज त झन दुई पटकको विश्व विजेता समेत हो, सन् २०१२ र २०१६ को । यसबीच सन् २०१४ मा श्रीलंकाले उपाधि जितेको थियो । श्रीलंका प्रारम्भिक छनोटको समूह ‘ए’ मा रहेको छ र यस समूहमा सम्मिलित अन्य टिम हुन्, नामिबिया, नेदरल्यान्ड्स र यूएई ।

पछिल्लो समय विश्व क्रिकेटमा सबैभन्दा उदयमान टिम हो, नामिबिया । अर्को समूह ‘बी’ मा रहेको छ, वेस्ट इन्डिजसँगै जिम्बावे, आयरल्यान्ड र स्कटल्यान्ड । ‘सुपर ट्वेल्भ’ को पहिलो समूहमा छन्, अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड र अफगानिस्तान । अर्को समूहमा भारत, पाकिस्तान र बंगलादेशसँगै दक्षिण अफ्रिका रहेका छन् । यो चरणमा प्रवेश गर्ने चार टिमकै लागि पहिलो चरणका खेल हुन लागेका हुन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?