सप्तरीमा २०८ मतदानस्थल अति संवेदनशील

हिमालय टाइम्स
Read Time = 4 mins

अनिल पोखरेल/हिटा
सप्तरी । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीमा २९५ मतदानस्थलमध्ये २०८ मतदानस्थललाई अति संवेदनशील, ८३ संवेदनशील र चारलाई सामान्य ठहर गर्दै सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाउन तयारी गरिएको छ ।

नेपाली सेनासहितको जिल्ला सुरक्षा समन्वय समितिले स्थलगत अध्ययन र विश्लेषणपछि २०८ मतदानस्थललाई अति संवेदनशील, ८३ संवेदनशील र चारलाई सामान्य ठहर गर्दै सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाउन तयारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी र अनुसन्धान विभागका अधिकारीसहितको बैठकले जिल्लाको सुरक्षा विश्लेषणपछि मतदानस्थललाई तीन तहमा विभाजन गरिएको छ ।

सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्लेका अनुसार अति संवेदनशील मानिएका अधिकांश मतदानस्थल भारतीय सीमा नजिक पर्ने पालिकाहरू छन् । उहाँले सबै मतदानस्थलमा आवश्यक सुरक्षा प्रबन्ध मतदाताले सोचेभन्दा अब्बल रहने गरी सुरक्षा रणनीति तयार पारिएको जानकारी दिनुभएको छ ।

उहाँले स्थानीय प्रशासन, निर्वाचन कार्यालय र सुरक्षा निकायका अधिकारी सम्मिलित टोलीले सबै मतदानस्थलको भ्रमण र सुरक्षा चुनौती विश्लेषणपछि सोहीअनुसारको वर्गीकरण र सुरक्षा योजना तयार पारेको भन्दै मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरणका लागि कुनै कसर बाँकी नराखिने दाबीसमेत गर्नुभएको छ ।

निर्वाचन सुरक्षाका लागि तीन हजार २७८ म्यादी प्रहरी र एक हजार ६२० नेपाल प्रहरी परिचालन हुने उहाँले जानकारी दिनुभएको छ । यसबाहेक सेना र सशस्त्र प्रहरीसमेत निर्धारण गरिएको घेराभित्र रहेर सुरक्षा प्रबन्धमा योगदान दिने उहाँको भनाइ छ । सुरक्षामा कुनै कमजोरी नहुने दाबी गर्दै उहाँले जिल्लाको विकट मानिएका क्षेत्रसहित नगरका चोक-चोकमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रणका लागिसमेत सुरक्षाकर्मी परिचालन हुने बताउनुभयो ।

जिल्लामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य पदका लागि हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ ६९ र प्रदेशसभातर्फ १०७ गरी १७६ जना चुनावी प्रतिस्पर्धामा छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा कुल मतदाता चार लाख १८ हजार ३७४ छन् । जसमध्ये क्षेत्र नं. १ मा सबैभन्दा बढी एक लाख १३ हजार १९५ छन् । सबैभन्दा कम क्षेत्र नं. २ मा ९५ हजार ३९४ मतदाता छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?