खनाल र नेम्वाङलाई तगारो बन्दै बस्नेत र खड्का

हिमालय टाइम्स
Read Time = 10 mins

प्रकाश नेपाल/हिटा
इलाम । मंसिर ४ गते नजिकिँदै गर्दा इलाममा चुनावी माहोल तात्तिएको छ । यतिबेला उम्मेदवारहरू मतदाता रिझाउन व्यस्त देखिन्छन् । अहिलेका युवाहरू नयाँ उम्मेदवारीको कुरा गरिरहेका छन् भने कोही विकास बुझेको नेताको खोजीमा देखिन्छन् । कतिपय उम्मेदवार भने कसैलाई सुइँको नदिई सुटुक्क घरगाउँ पसिरहेका छन् त कोही भने चोकचोकमा आफ्ना एजेण्डा सुनाइरहेका छन् । चुनावी प्रतिस्पर्धा त मत परिणामसँगै आउने नै छ । तर, यसपटकको निर्वाचन भने इलाममा रोचक हुने देखिन्छ । जहाँ पुराना अनुहार र नयाँ अनुहारबीचको भिडन्त देखिएको छ ।

इलाममा लामो समयदेखि पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल र संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले नेतृत्व गर्दै आइरहनु भएको ठाउँ हो ।

स्कुल, कलेज हुँदै लामो राजनीतिक यात्रासमेत सँगै तय गर्नुभएका खनाल र नेम्वाङ पहिलोपटक फरक दलबाट चुनावी परीक्षामा होमिँदै हुनुहुन्छ । इलाम प्रतिनिधिसभा क्षेत्र नं १ बाट चुनाव लड्दै आउनुभएका खनाल यसपटक नेकपा (एकीकृत समाजवादी)का तर्फबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने नेम्वाङ आफ्नो पुरानो क्षेत्र इलाम क्षेत्र नबर २ मा नेकपा (एमाले)बाट चुनाव लड्दै हुनुहुन्छ । खनालको यो संसदीय चुनावी यात्रा लगातार सातौँपटक हो भने नेम्बाङको लगातार पाँचौँपटक हो ।

कसलाई कति सहज ?
२०५६ सालमा नेपाली कांग्रसेका उम्मेदवार बेनुपराज प्रसाईंसँग पराजित बन्नुभएका झलनाथ खनाल बाँकी पाँचवटा चुनावमा निर्वाचित हुनुभएको छ । नेकपा एमालेबाट लगातर चुनाव जित्दै आउनुभएका उहाँ योपटक पाँच दलीय गठबन्धनको सहारामा नेकपा एसबाट मैदानमा उत्रनुभएको छ । जुनसुकै मूल्य चुकाएर भए पनि यो पटकको चुनाव जित्नुपर्ने उहाँलाई दबाब छ । यदि गठबन्धनले इमानदार भएर सहयोग नगरेको खण्डमा यो पटकको चुनाव जित्न उहाँलाई निकै कठिन पर्ने देखिन्छ ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल गरेर खनाल १७ हजार २६७ को फराकिलो मतान्तरले विजयी बन्नुभएको थियो । नेपाली कांग्रेसका उम्मेदवार भुपेन्द्र कट्टेलले १९ हजार ६३८ मत प्राप्त गर्दा खनालले ३६ हजार ८०५ मत पाउनुभएको थियो । आगामी मंसिरमा भने खनाललाई विगतमा जस्तो चुनाव जित्न सहज छैन । स्थानीय तहको निर्वाचनकोे नतिजाले पनि खनाललाई एक्लै चुनाव जित्न कठिन हुने देखिन्छ । त्यसैले उहाँ कांग्रेस सहितको पाँच दलीय गठबन्धनको सहारामा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । तर, यता खनाल भने कुनै शंका नमानी चुनाव जित्नेमा ढुक्क देखिनुहुन्छ । खनालको निर्वाचन क्षेत्रमा सूर्याेदय र माई नगरपालिका तथा माइजोगमाई, सन्दकपुर र रोङ गाउँपालिका गरी पाँच स्थानीय तह रहेका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्दा क्षेत्र नम्बर १ मा नेकपा एस निकै कमजोर छ । सूर्योदय नगरपालिकाको प्रमुखमा नेकपा एसका उम्मेदवार रणबहादुर राई विजयी बन्नुभएको छ । माई नगरपालिकाको प्रमुख र माईजोगमाई गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका थिए भने सन्दकपुर र रोङ गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसले जितको थियो । ३९ वटा वडा रहेको खनालको निर्वाचन क्षेत्रमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले १६, एमालेले १५, समाजवादीले सात र स्वतन्त्रले एक वडा जितेका थिए । खनालको जितका लागि पाँच दलीय गठबन्धन मध्येको कांग्रेसको भूमिका महत्वपूर्ण हुने देखिन्छ । यदि कांगे्रसका कार्यकर्ताले पार्टीको निर्देशनअनुसार इमानदार भएर भोट दिएमा खनालको जित सुनिश्चित देखिन्छ ।

खनाल भर्सेस बस्नेत
विगतका निर्वाचनमा खनालको प्रतिस्पर्धी कांग्रेस बन्ने गरेको थियो । तर, योपटक खनाल आफ्नै पुरानो पार्टी नेकपा एमालेसँग चुनावी मैदानमा होमिनुभएको छ । खनालसँग एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतको प्रतिस्पर्धा हुँदैछ । बस्नेत दुईपटक इलाम नगरपालिकाको प्रमुख भइसकेका व्यक्ति हुनुहुन्छ । लामो समयदेखि पार्टीमा राम्रो पकड बनाउनुभएका बस्नेतका लागि पनि यो निर्वाचन भने फलामे चिउरा बन्ने देखिन्छ । किनकि बस्नेतको प्रतिस्पर्धी हेभीवेट नेतासँग रहेको छ । २०४८ सालदेखि अधिकांश निर्वाचनमा सहजै जित निकाल्दै आउनुभएका खनाल आगामी चुनावमा भने त्यति सजिलो सुविधामा हुनुहुन्न । २०५६ सालमा कांग्रेसका बेनुपराज प्रसाईसँग पराजित बन्नुभएका खनाललाई यसपटक गठबन्धनका दलहरूको मत सुरक्षित पार्नुपर्ने चुनौती छ । यदि गठबन्धनबाट असहयोग भएमा खनालले २०५६ सालको नियति भोग्नुपर्ने छ ।

नेम्वाङ भर्सेस खड्का
इलामको निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेबाट एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का चुनावी मैदानमा हुनुहुन्छ । खड्कको उम्मेद्वारी सत्तारूढ गठबन्धनबाट रहेको छ । खड्काको उम्मेदवारी परेसँगै इलाम क्षेत्र नम्बर २ मा ०५६ सालदेखि अपराजित रहनुभएका नेम्वाङलाई भने गठबन्धनले अप्ठ्यारो पार्ने देखिएको छ । यसपटकको निर्वाचनमा नेम्वाङलाई सत्ता गठबन्धन मुख्य चुनौती बन्नेछ । खड्का युवा नेता हुनुहुन्छ । यता, विकास निर्माणको काम नगरेको भन्दै एमालेसँग इलाम-२ का मतदाताको असन्तुष्टि बढेको देखिन्छ । विशेषगरी राँके-रवि सडक नबनेकामा नागरिक असन्तुष्ट छन् । ०७४ को संसदीय चुनावमा माओवादी र एमालेबीचको गठबन्धनबाट जित्नुभएका नेम्वाङले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापालाई पराजय गर्नुभएको थियो । नेम्वाङको क्षेत्रमा योपटक एमाले फुटेका कारण आफूले जित्ने कांग्रेसको दाबी छ । एमालेको पकड मानिएको यो क्षेत्रमा चुनाव जित्ने रणनीतिका लागि कांग्रेससहित गठबन्धन दल लागिपरेका छन् ।

इलाम-२ मा दुई नगरपालिका र तीन गाउँपालिका छन् । गत स्थानीय चुनावमा कांग्रेसले इलाम नगरपालिकाको मेयर-उपमेयर नै जितेको थियो भने एमाले देउमाई नगरपालिकामा मेयर र उपमेयर जितेको थियो । यस्तै, चलाचुली गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको थियो । फाकफोक गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष एमालेले जितेको थियो भने माङसेबुङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष गठबन्धनले जितेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?