✍️ शम्भु कोइराला
नमागिएको सल्लाह :
संयुक्त अधिराज्यमा भारतीय मूलका व्यक्ति ४२ वर्षकै उमेरमा र राजनीति सुरु गरेको एक दशक नपुग्दै मुलुकको सर्वोच्च कार्यकारी पदमा पुग्न सफल भएकोमा धेरैलाई अनौठो लागेको छ । अनौठो यस्कारण कि भाषा, धर्म, जातजाति, सम्प्रदाय, छालाको रङ, उग्रवराष्ट्रवादलगायत विभाजनकारी नाराको आडमा राजनीति गर्ने हाम्रो देशलगायत धेरै देशका अति बुझक्कडहरूलाई यसले नराम्रो झापड हानेको छ ।
बाबुआमा नेपाली नागरिक भएर पनि नेपाली नागरिकलाई नागरिकता दिन अस्वीकार गर्ने र त्यसमा राष्ट्रियतामाथि खतरा देख्ने र ती नागरिकताविहीनलाई नागरिकता दिँदा फिजीकरण भएको देख्नेहरूलाई तीन पुस्तामात्र बेलायतमा बसेको परिवारका ऋषिको उदयले लज्जित बनाएको हुनुपर्ने हो । उग्रराष्ट्रवादको भावना बोकेको नेपालको विकासमा सधैँ तगारो सिर्जना गरिरहने एउटा समूह र त्यस्तै समूहको पछि लाग्ने ठूलो भनिएको पार्टी र त्यस्तै पार्टीको पद चिहृनमा हिँड्ने राष्ट्रप्रमुख भएको मुलुकमा लज्जाबोध पनि किन पो होस् र ?
को हुन् ऋषि सुनक ?
भारतीय मूलका हजुरबा हजुरआमा पञ्जाबबाट पूर्वी अफ्रिकाको केन्यामा बसाइँ सरेका थिए । सुनकका बाबु केन्यामा जन्मिएका थिए भने आमा तान्जानियामा । उनीहरू सन् १९६० मा केन्याबाट ब्रिटेनको साउथ हृयाम्पटनमा बसाइँ सरेर आएका थिए । सुनकका पिता बेलायती स्वास्थप्रणालीमा चिकित्सको रूपमा कार्यरत थिए भने आमाले सानो औषधि पसल चलाएकी थिइन् । यी बाबुआमाको मेहनतको कमाइबाट सुनकले राम्रो शिक्षालयमा पढ्ने अवसर पाएर आजको दिनमा सबैलाई कौतूहल जगाउँदै संयुक्त अधिराज्यजस्तो सभ्यताको जननी दाबी गर्ने देशको सर्वोच्च कार्यकारी निकायमा पुग्न सफल भएका छन् ।
बोरिस जोन्सनको प्रधानमन्त्री कालमा अर्थमन्त्री रहेका सुनकले अर्थतन्त्र सुधारका लागि उल्लेखनीय काम गरे तापनि तत्कालीन प्रधानमन्त्री जोन्सनसँग मत नमिलेपछि राजीनामा गरेका थिए । उनको राजीनामापछि मन्त्री पदबाट राजीनामा दिनेको लहर नै चलेपछि बोरिस पद त्याग्न बाध्य भएका थिए ।
१२ मे १९८० मा बेलायतको साउथ हृयाम्पटनमा जन्मेका सुनक २५ अक्टोवर २०२२ बाट संयुक्त अधिराज्यको प्रधानमन्त्री बनेका हुन् । २४ अक्टोबरमा कन्जर्भेटिभ पार्टीको नेता चुनिएका सुनक २०१५ बाट रिचमण्ड (योक्र्स) बाट संसद सदस्य रहेका छन् । ४५ दिनमात्र प्रधानमन्त्री बनेकी लिज ट्रसका आर्थिक कार्यक्रम असफल भएपछि आफ्नै सांसदहरूको विश्वास गुमाएकी निवर्तमान प्रधानमन्त्री ट्रसलाई प्रतिस्थापन गरेका सुनकले चान्सलर र ट्रेजरीको चिफ सेक्रेटरीको रूपमा अनुभव सँगालिसकेका छन् ।
अक्षता मूर्तिसँग विवाह बन्धनमा बाँधिएका सुनकका दुई सन्तान रहेका छन् । ६४० वर्ष पुरानो विन्चेस्टर कलेजको बोर्डिङ स्कुलबाट शिक्षादीक्षा हासिल गरेका सुनकले लिंकन कलेज अक्सफोर्डबाट दर्शन, राजनीतिशास्त्र र अर्थशास्त्र (पिपिई) मा ग्राजुयेसन गरेका थिए भनेस्ट्यान्फोर्ड युनिभर्सिटीबाट एमबिए गरेका थिए जहाँ उनको भारतीय इन्फोसिस् कम्पनीका संस्थापकमध्येका एक, धनाढ्य एनआर नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसँग भेट भएको थियो । बोरिस जोन्सनको प्रधानमन्त्री कालमा अर्थमन्त्री रहेका सुनकले अर्थतन्त्र सुधारका लागि उल्लेखनीय काम गरे तापनि तत्कालीन प्रधानमन्त्री जोन्सनसँग मत नमिलेपछि राजिनामा गरेका थिए । उनको राजीनामापछि मन्त्री पदबाट राजीनामा दिनेको लहर नै चलेपछि बोरिस पद त्याग्न बाध्य भएका थिए । तत्पश्चात् भएको अन्तरपार्टी चुनावमा लिज ट्रससँग पराजित भएका सुनक दुई महिना नपुग्दै भएको पार्टी चुनावमा विनाप्रतिस्पर्धा कन्जरभेटिभ पार्टीको नेता चयन भएको भोलिपल्टै प्रधानमन्त्री बनेका थिए ।
सुनकका चुनौतीहरू :
सुनक प्रधानमन्त्री त भए तर उनका अगाडि चुनौतीका पहाडहरू रहेका छन् ।
आर्थिक स्थिरता :
संयुक्त अधिराज्यमा दिनप्रतिदिन बढिरहेको आर्थिक संकट प्रमुख चुनौती हो । मुद्रास्फीति १० प्रतिशतभन्दा उकालो लागिसकेको छ भने युरोपमा भएको युद्धको कारण ऊर्जाबापत जनताले बढी खर्चिनुपर्ने भएको छ । खाद्यान्नमा भएको मूल्यवृद्धि अर्को टाउको दुखाइको विषय रहेको छ । विद्युत्को उपभोगविना जीविका निर्वाह असम्भवजस्तो हुने बेलायतजस्ता देशका लागि बढ्दो ऊर्जा संकट चुनौतीपूर्ण रहेको छ । बढ्दो मुद्रास्फीतिको कारण मन्दीउन्मुख भएको अर्थतन्त्रलाई स्थिर बनाउनु र त्यहाँका जनताको विश्वास जित्नु सुनकको प्रमुख दायित्वको रूपमा रहेको छ ।
राजनीतिक स्थायित्व :
राजनीतिक अस्थिरतालाई समाधान गर्न आफ्नै पार्टीभित्र विश्वासको वातावरण बनाउनु सुनकको अर्को चुनौती हो । पूर्ववर्ती प्रधानमन्त्री बोरिस जोन्सनको सरकार ढाल्न सुरुमा राजिनामा गरेर मन्त्रीहरूको राजिनामाको लहर नै चलेको कारण बोरिस राजीनामा गर्न बाध्य भएका थिए । यसको कारण बोरिसको मनमा रहेको तुष, परिस्थिति सुनकको विपक्षमा हुने बित्तिकै प्रकट हुनेछ । बोरिस समर्थकहरू परिस्थिति नियालेर बसिरहेका छन् ।
पार्टीभित्रको किचलो, त्यसबाट उत्पन्न राजनीतिक अस्थिरता, राजनीतिक अस्थिरताको कारणसमेत जन्मेको आर्थिक संकटका कारण सुनकको कन्जर्भेटिभ पार्टीको लोकप्रियता खस्केर १४ प्रतिशतमा झरेको छ अर्थात् अहिलेको अवस्थामा चुनाव भयो भने कन्जर्भेटिभ पार्टीको पक्षमा १४ प्रतिशत आसपासको मत आउँनेछ । यसको कारण पार्टीलाई एक ढिक्का बनाएर जनताको विश्वास जित्नु महत्वपूर्ण विषय बनेको छ । तीन वर्षअगाडि भएको चुनावमा नेतृत्वदायी भूमिका निर्वाह गरेर पार्टीलाई स्पष्ट बहुमत दिलाउन सफल भएका नेता र उनका समर्थकहरूको फाटेको मन टाल्नु सुनकका लागि सजिलो छैन ।
असन्तुष्ट कामदारहरू :
पारिश्रमिक वृद्धिको माग राखेर हड्तालमा उत्रेका रेल्वे, टेलिकम, सफाइ कर्मचारीहरूको हड्ताल अर्को चुनौतीको विषय बनेको छ । तलब बढाउँदा ढुकुटीको ठूलो रकम तलब र पेन्सनमा खर्च हुनेछ भने निजी क्षेत्रमा समेत तलब बढाउन दबाब सिर्जना गर्नेछ । तलब वृद्धिको कारण मुद्रास्फीतिमाथि थप दबाब पर्नेछ । यस्तो खराब चक्रबाट मुलुकलाई निकाल्नु सुनकका लागि फलामको चिउरा चपाउनुसरह रहेको छ ।
संयुक्त अधिराज्यको स्वास्थ्य प्रणालीमा समस्याहरू देखिएका छन् । स्वास्थ्यकर्मचारीको विरोध र असहयोग चुनौतीपूर्ण बनिरहेको छ । कोरोना महामारीपछि समस्यामा परिरहेको प्रणालीलाई लयमा ल्याउन पनि मिहिनेत गर्नुपर्ने अवस्था छ । अपर्याप्त स्वास्थ्यकर्मी परिपूर्ति गर्न पनि त्यहाँको स्वास्थ्यप्रणालीले ध्यान दिनुपर्ने अवस्था छ ।
आप्रवासी समस्या :
आप्रवासीको समस्या अर्को चुनौतीको रूपमा हेरिएको छ । साना डुंगाबाट च्यानलको बाटो भएर बेलायत छिर्ने रुवाण्डाका आप्रवासीको समस्या समाधान कसरी गरिनेछ भन्ने विषयलाई पनि चासोको रूपमा हेरिएको छ । आप्रवासी परिवारबाट आएका अश्वेत प्रधानमन्त्रीले उनीहरूलाई शरण दिने प्रतिबद्धता व्यक्त गरेका थिए तर यसमा न्यायिक अवरोध भएका कारण अनिर्णित अवस्थामा रहेको छ । हालैका दिनमा भने सुनक आप्रवासीहरूको मामलामा कठोर रहेको बताइएको छ ।
विदेश नीति :
बढ्दो लडाइँले विश्व व्यवस्था संकटोन्मुख बनिरहेको छ । युक्रेनमाथि रूसको अतिक्रमणले विश्व व्यवस्थालाई खल्बल्याएको छ । ऊर्जामाथि युरोपको रुसमाथिको अधिक निर्भरताको कारण समग्र युरोपमा ऊर्जा संकट देखापरेको छ । यसको प्रभाव विश्वव्यापी रूपमै देखापरेको छ । यसबाट संयुक्त अधिराज्य प्रभावित बनेकै छ ।
युक्रेनलाई लडाइँमा २.६ बिलियन स्टर्लिङ पाउन्ड सहयोग गरेको बेलायत यस्तो सहयोगबाट पछि हट्न सक्ने अवस्था छैन । यो सहयोग संयुक्त राज्य अमेरिकापछिको ठूलो राशि हो । जनताको जीविकाको समस्या समाधान गर्न सकिएन भने जनताको करबाट उठेको रकम युद्धमा गएको भनेर जनताबाट प्रतिरोध हुनसक्ने खतरा पनि छँदैछ । सुनकले यस्तो सहयोगलाई निरन्तरता दिने र यसमा लेबर पार्टीलगायतको सहयोग भएर राष्ट्रिय सहमतिको वातावरण हुने अपेक्षा गरेका छन् ।
हालैका दिनमा दुई कोरियाको बीच क्षेप्यास्त्र हानाहानको परिस्थिति बनिरहेको छ । विश्वकै खराब तानाशाह उत्तर कोरियाका नेता किमको सनकबाट विश्व व्यवस्थालाई बचाउन नेटो सहयोगी राष्ट्रको नाताले बेलायतको भूमिका महत्वपूर्ण रहनेछ । यो लडाइँले पनि सबै क्षेत्रका जनता अछुतो रहने छैनन् भने बेलायतको सामरिक खर्च बढ्ने पक्कापक्की छ ।
चीनमा सी जिन पिंगको एकछत्र कार्यकाल विश्व व्यवस्थाका लागि सजिलो हुनेछैन । सीमावर्ती नाकाबाट राजनीतिक विचार आयात होला र कोरोना महामारीको कारण पनि कतैबाट जनतामा राजनीतिक चेत छिर्ला भन्ने डरले मुलुकलाई सेल्फ आइसोलेसनमा राखेका सी समग्र पश्चिमी मुलुकका लागि थप टाउको दुखाइका विषय बन्नेछन् । उनको महत्वाकांक्षा ताइवानमा प्रकट हुनेछ । ताइवानलाई एकीकरण गर्न भौतिक लडाइ गर्न पनि पछि नपर्ने बताएका सीले अनेक उपाय गरेर लडाइँ टारेर नै हङ्कङमा जसरी आफ्नो राजनीतिक प्रणाली लागू गर्न कोसिस गर्नेछन्, त्यो सम्भव नभए भौतिक आक्रमणमा पनि उत्रिनेछन्, त्यसको अभ्यास निकट भविष्यबाट नै हुनेछ ।
पार्टीभित्रका फरक मत राख्नेहरूलाई राजनीतिक रूपमा समाप्त पारिसकेका सीको लागि मुलुकभित्र थप राजनीतिक स्थायित्व र सहज वातावरण बनेको छ भने प्रजातान्त्रिक मुलुकहरू निर्वाचनको कारण राजनीतिक रूपमा अस्थिर देखिएका छन् । यस्तै अस्थिरता भोगिरहेको बेलायतका लागि सीको शक्ति आर्जनबाट विश्व मामिलामा बढ्ने उनको सक्रियता र सम्भावित ताइवान युद्ध बेलायती विदेशनीतिको चुनौती नै हुनेछ ।
पार्टीभित्रको किचलो, त्यसबाट उत्पन्न राजनीतिक अस्थिरता, राजनीतिक अस्थिरताको कारणसमेत जन्मेको आर्थिक संकटका कारण सुनकको कन्जर्भेटिभ पार्टीको लोकप्रियता खस्केर १४ प्रतिशतमा झरेको छ अर्थात् अहिलेको अवस्थामा चुनाव भयो भने कन्जर्भेटिभ पार्टीको पक्षमा १४ प्रतिशत आसपासको मत आउँनेछ ।
कम्युनिष्ट आवरणका रसियाका पुटिन, चाइनाका सी जिन पिंग, उत्तर कोरियाका किम र धार्मिक आवरणका इरानी राष्ट्रपति र यी तानाशाहबाट संरक्षित म्यान्मारलगायत राजनीतिक स्वार्थका लागि जनताको जीवनलाई तुच्छ सम्झिने नेताहरूबाट विश्वको प्रजातान्त्रिक संस्कारलाई जोगाउन नेटो सहयोगीको रूपमा निर्वाह गर्नुपर्ने र वैश्विक नेताको रूपमा आफूलाई स्थापित गर्न सुनक कत्तिको सफल बन्नेछन् भन्ने विषय पनि उनका लागि महत्वको विषय रहनेछ ।
सुनकको सफलता लोकतन्त्रको महानता :
बाबुआमाका तीन सन्तानमध्येका कान्छा सुनक बेलायतको दुई सय वर्षको इतिहासमा कान्छा प्रधानमन्त्री, पहिलो अश्वेत, पहिलो हिन्दू, पहिलो भारतीयमूलको, पहिलो दक्षिण एशियाली मूलको प्रधानमन्त्री बनेर धेरै नयाँ रेकर्ड बनाएका छन् । गाईको मासु बिफलाई मुख्य आहारको रूपमा लिने संस्कार भएको देशमा गाईको पूजा गर्ने व्यक्ति प्रधानमन्त्री बनेका छन् ।
बेलायती लोकतन्त्रले मानिसको रङ हेरेन, उसको धर्म हेरेन, मानिसको उद्गम स्थल अथवा मूल हेरेन । हेर्यो भने उसको क्षमता हेर्यो । सुनकले क्षमताले प्रधानमन्त्री जस्तो सर्वोच्च कार्यकारी पद हासिल गरे । यो कार्य बन्द र परम्परागत समाज भएको स्थानमा सम्भव थिएन । सभ्यताको जननी दाबी गर्ने बेलायतमा यो अस्वाभाविक जस्तो लाग्ने काम भएको छ । वास्तवमा बेलायतले सभ्य समाजको परिचय दिएको छ । यो खुला समाज र लोकतन्त्र र लोकतान्त्रिक संस्कारको देन हो । जय होस् लोकतान्त्रिक प्रणालीको । संयुक्त अधिराज्यका नयाँ प्रधानमन्त्री ऋषिले जनतामा खुसी ल्याउन सकून् । लेकतान्त्रिक प्रणाली र पद्धतिको जगेर्ना गर्न सकून् । उनलाई सफलताका लागि हार्दिक शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच